
ललितपुर : सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौँडाको आयोजनामा ललितपुरमा सञ्चालित तीन दिने विद्यालय चलचित्र साक्षरता कार्यक्रम आइतबार सम्पन्न भएको छ।
शुक्रबारदेखि सञ्चालन भएको कार्यक्रममा गोदावरी–३ स्थित किटनी नमुना माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममार्फत चलचित्र निर्माण, पटकथा लेखन, ध्वनि, अभिनय तथा श्रव्यदृश्य सञ्चारसम्बन्धी आधारभूत ज्ञान प्रदान गरिएको प्रशिक्षक शिव पुरीले जानकारी दिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीले विद्यालय तहदेखि नै प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए। समय निरन्तर परिवर्तनशील भएकाले त्यसअनुसार आफूलाई अद्यावधिक गर्न सक्ने व्यक्ति नै सफल हुने उनको भनाइ थियो।
आफ्नो विद्यार्थी जीवन स्मरण गर्दै मन्त्री अधिकारीले चौतारीमा बसेर अध्ययन गरेको अनुभव सुनाउँदै सिकाइको प्रक्रिया कहिल्यै नरोकिने बताए। मन्त्रालयको सीमित बजेटका बाबजुद यस्ता क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न पाएकोमा उनले खुसी व्यक्त गरे।
गोदावरी नगरपालिका–३ का वडा अध्यक्ष तथा चपली हाइटका नायक राज घिमिरेले विद्यालय शिक्षासँगै अतिरिक्त सीप र व्यवहारिक ज्ञान पनि विद्यार्थीका लागि आवश्यक रहेको बताए। गोदावरी क्षेत्र पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै यस्ता कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
किटनी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालय बाहिरबाट पनि महत्वपूर्ण शिक्षा प्राप्त हुने अनुभव कार्यक्रमले दिलाएको बताए। ज्ञानको विकासमा विद्यालय मात्र नभई समुदाय र विभिन्न निकायको सहकार्य आवश्यक रहने उनको भनाइ थियो।
सञ्चार रजिष्ट्रार रेवती सापकोटाले तीन दिनको कार्यक्रमले विद्यार्थीमा चलचित्रप्रति रुचि र जिज्ञासा बढाएको बताए। चलचित्र निर्माणमा ध्वनि, पटकथा, अभिनयलगायत विभिन्न पक्षको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले सिर्जनात्मक क्षमतामा गरिएको लगानीले भविष्यमा सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गरे।
डिजिटल प्रविधिको विस्तारसँगै पाठ्य सामग्री पढ्नुभन्दा श्रव्यदृश्य माध्यमबाट सिक्न रुचाउनेहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले चलचित्र साक्षरताले विद्यार्थीको सिर्जनशीलता, विश्लेषण क्षमता र सञ्चार सीप विकासमा योगदान पुग्ने बताए।