२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बज्रबाराही चापागाउँ अस्पतालको सामाजिक परीक्षण सम्पन्न, गुणस्तरीय र जनमैत्री सेवामा जोड

Nada
रामहरि कार्की
२०८३ असार २१ गते २१:१२
Shares
बज्रबाराही चापागाउँ अस्पतालको सामाजिक परीक्षण सम्पन्न, गुणस्तरीय र जनमैत्री सेवामा जोड

ललितपुर : बज्रबाराही चापागाउँ अस्पतालको सामाजिक परीक्षण आइतबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा बज्रबाराही चापागाउँ अस्पतालको सहयोगमा आयोजित कार्यक्रममा अस्पताललाई गुणस्तरीय, उत्तरदायी र जनमैत्री सेवाको नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

ncell

कार्यक्रममा सहभागीहरूले अस्पतालको सेवा सुधार, सेवा विस्तार, जनविश्वास अभिवृद्धि तथा प्रभावकारी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले बज्रबाराही चापागाउँ अस्पताललाई प्रभावकारी र नागरिकमैत्री अस्पतालका रूपमा विकास गर्नुपर्ने बताए ।

‘महानगर वा नगरपालिकाले आफ्नै स्रोतबाट अस्पताल सञ्चालन गर्न सक्छन्, तर गाउँपालिकाका लागि स्रोत–साधनको अभाव चुनौतीपूर्ण हुन्छ’, उनले भने,  ‘नागरिकले अस्पतालमा आएपछि सेवा नपाउने अवस्था हुन हुँदैन । उपचारभन्दा पनि रोग न्यूनीकरण र जनचेतना अभिवृद्धितर्फ ध्यान दिन आवश्यक छ ।’

गोदावरी नगरपालिका–१३ का वडा अध्यक्ष भास्कर थापाले विगतमा ‘ससिखेल हेल्थपोस्ट’का रूपमा परिचित रहेको संस्था आज प्रदेशस्तरीय अस्पतालका रूपमा विकास भएको उल्लेख गर्दै स्थानीय नागरिकलाई विश्वासिलो सेवा प्रदान गर्नुपर्ने बताए । अस्पतालका समस्या समाधानमा जनप्रतिनिधिहरू पनि जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

गोदावरी नगरपालिका–११ का वडा अध्यक्ष निलबहादुर देसारले अस्पतालमा बिरामीको चाप बढ्नु सकारात्मक पक्ष भएको उल्लेख गर्दै जनविश्वास कायम गर्न गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह अपरिहार्य रहेको बताए ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष रामहरि घिमिरेले सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई सुधारको अवसरका रूपमा लिएर आगामी कार्ययोजनामा समावेश गरिने जानकारी दिए ।

‘हामी राजनीतिभन्दा सेवामा केन्द्रित छौं । समितिले बनाएको योजना अनुसार साउनदेखि सुधारका कार्यक्रम कार्यान्वयन गरिनेछ’, उनले भने । बिमा बापतको रकम भुक्तानी नपाउदा अस्पताल सञ्चालन गर्न केही कठिनाइ भएको उनले उल्लेख गरे ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किसन नेपालीले पछिल्लो एक वर्षमा अस्पतालले उल्लेखनीय प्रगति गरेको बताए । उनले ९८ प्रकारका औषधि नियमित उपलब्ध गराउन नसकिएको, एम्बुलेन्स बिग्रिएको तथा अस्पतालको नामकरणसम्बन्धी समस्या अझै बाँकी रहेको जानकारी दिए ।

उनका अनुसार अस्पतालमा टोकन प्रणाली, शल्यक्रिया सेवा तथा नाक, कान, घाँटी उपचार सेवामा सुधार गरिएको छ र सेवाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखिएको छ ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले सामाजिक परीक्षमा बढी भन्दा बढी सेवाग्राहीहरुको संख्या बढाउनु पर्ने सुझाव दिए ।

अस्पतालले प्रदान गरिरहेको सेवा, सुविधा र गुणस्तरका विषयमा पत्रकार शिवहरि घिमिरेले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सेवा प्रवाहका क्रममा देखिएका समस्या तथा सम्भावित समाधानका उपायहरू पनि प्रस्तुत गर्दै सुधारका केही क्षेत्र भए पनि अस्पतालमा गम्भीर समस्या नरहेको बताए ।

जनभावना क्याम्पसका प्रमुख शिवराज सञ्जेलले पाटन अस्पतालबाट जिल्ला अस्पताल चापागाउँमा ल्याउन धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै अब यसलाई गोदावरी क्षेत्रकै नमुना अस्पतालका रूपमा विकास गर्नुपर्ने बताए ।

उनले प्रदेश सरकारसँग आवश्यक स्रोत जुटाउन पहल गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई प्रोत्साहनको व्यवस्था गर्नुपर्ने तथा अस्पतालप्रति नागरिकको विश्वास बढाउन प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको धारणा राखे ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार, सेवाग्राही, जनप्रतिनिधि, चिकित्सक, नर्स तथा नागरिक समाजका करिब ५० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर