२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

उन्मत्त ध्रुवेको अनवरत आतंक

आठ वर्षअघि आतंक मच्चाएको ध्रुवे हात्ती पुनः मानवबस्ती पस्न थालेको छ । यो हिंस्रक जंगली हात्तीले अहिलेसम्म २५ जनाको ज्यान लिइसकेको छ ।

Nada
दिवाकर अधिकारी
२०८३ असार २२ गते ०६:३०
Shares
उन्मत्त ध्रुवेको अनवरत आतंक

चितवन : शनिबार राति करिब ११ बजे चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टावासी निद्रामा थिए । पूर्ण बोटेको परिवार पनि आफ्नै कच्ची घरभित्र सुतिरहेको थियो । बाहिर जंगलको सन्नाटा । तर त्यो सन्नाटा चिर्दै जंगली हात्ती गाउँ पस्यो । 

ncell

हात्तीले घरको भित्ता भत्कायो । निद्रामै रहेकी २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतले उठ्ने मौकासमेत पाएनन् । केहीबेरमै घर भत्कियो र आमाछोराको घटनास्थलमै मृत्यु भयो । श्रीमती र छोरालाई बचाउने प्रयासमा पूर्ण बोटेले हात्ती धपाउन आगो बाल्ने प्रयास गरे । आगो उल्टै कच्ची घरमा सल्कियो । घरको एक भाग जलेर नष्ट भयो । उनको ज्यान त जोगियो, तर एकै रातमा श्रीमती, छोरा र आश्रय सबै गुमाए ।

त्यो त्यही ‘ध्रुबे’ हात्ती थियो, जो आठ वर्षअघि २३ जनाको ज्यान लिएर जंगलतिर हराएको थियो । स्थानीयले वर्षौंदेखि आतंकको प्रतीक मानेको ‘ध्रुवे’ फेरि मानव बस्तीमा फर्किएकै दिन दुई जनाको ज्यान लिएको हो । 

पूर्ण बोटेका लागि यो हात्ती एउटा यस्तो नियति बन्यो, जसले उनको परिवार दुई पटक उजाडिदियो । वि.सं. २०६९ मंसिर ३० गते यही हात्तीले तत्कालीन माडीको द्रौपदीनगरमा पूर्ण बोटेका बुबा–आमा सोमला बोटे र झरली बोटेको ज्यान लिएको थियो ।

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु भएपछि स्थानीयले शव उठाउन मानेनन् । उनीहरूले चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा जाने राप्ती पुलमा शव राखेर बिरोध प्रदर्शन गरे । ध्रुवेलाई तत्काल नियन्त्रणमा नलिएसम्म शव नउठाउने अडान लिए ।

ध्रुवे लामो समयदेखि बेलहट्टा, जगतपुर र आसपासका बस्तीमा पस्दै आएको, तर पटक–पटक जानकारी गराउँदा पनि निकुञ्ज प्रशासनले बेवास्ता गरेको स्थानीयको आरोप छ ।

स्थानीयको आन्दोलनपछि चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, वडा कार्यालय, मध्यवर्ती उपभोक्ता समिति तथा प्रहरीबीच छलफल भयो । छलफलपछि चारबुँदे सहमति भएको छ ।

सहमतिअनुसार ध्रुवेलाई नियन्त्रणका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने, मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराइने, जलेको घर पुनर्निर्माण गरिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा र व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ ।

डेढ दशकदेखिको आतंक

चितवन राष्ट्रिय निकुञ्ज वरपर बस्नेका लागि ‘ध्रुवे’ नयाँ नाम होइन । डेढ दशकदेखि यो भाले जंगली हात्ती मानव बस्तीमा पस्ने, घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मानिसमाथि आक्रमण गर्ने घटनाका कारण कुख्यात छ ।

निकुञ्जका अनुसार, २०६६ सालदेखि मानवमाथि आक्रमण गर्न थालेको ध्रुवेले शनिबार रातिको घटनासहित २५ जनाको ज्यान लिइसकेको छ । यसअघि २०७४ सालमा मेघौली क्षेत्रमा कार्यरत नेपाली सेनाका एक मेजरको समेत ध्रुवेको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता केही वर्ष तुलनात्मक रूपमा शान्त देखिएको ध्रुवे फेरि आक्रमणमा उत्रिएको हो ।

ध्रुवेको आतंक चरम भएपछि २०६९ सालमा तत्कालीन जिल्ला सुरक्षा समितिले यसलाई ‘सुट एट साइट’ अर्थात् भेटिएकै स्थानमा मार्न सकिने निर्णय गरेको थियो ।

त्यतिबेला माडी क्षेत्रमा मात्रै एक महिनाभित्र चार जनाको ज्यान लिएपछि सेना परिचालन गरिएको थियो । ध्रुवेलाई नियन्त्रण गर्न करिब १६ लाख रुपैयाँ खर्च भएको थियो । गोलीसमेत प्रहार गरियो । तर ध्रुवे जंगलभित्र हरायो ।

पछि करिब पाँच वर्षसम्म ध्रुवे देखिएन । धेरैले मरेको अनुमान गरे । तर एकाएक फेरि चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा देखा पर्‍यो । त्यसपछि यसको घाँटीमा रेडियो कलर जडान गरियो । डार्ट हानेर बेहोस बनाई निगरानीमा राख्ने प्रयास भयो । दाह्रा काटियो । प्रजननका बेला हुने अत्यधिक उत्तेजना कम गर्न औषधिसमेत प्रयोग गरियो । तर यी सबै प्रयासले स्थायी समाधान दिन सकेन ।

ध्रुवेको व्यवहार लामो समयदेखि अध्ययन गर्दै आएका संरक्षणकर्मीहरूका अनुसार, भाले हात्ती वर्षमा सामान्यतया दुई पटक ‘मात्ने’ अवस्थाबाट गुज्रन्छ । वर्षायाम र जाडोयाममा हर्मोन अत्यधिक बढ्दा हात्ती असामान्य रूपमा आक्रामक बन्न सक्छ ।

यस्तो अवस्थामा हात्तीले आफ्नो क्षेत्र विस्तार गर्न, अन्य भालेसँग प्रतिस्पर्धा गर्न र मानव बस्तीसमेत पसेर आक्रमण गर्न सक्छ ।

केही महिनाअघि ध्रुवे सौराहा क्षेत्रमा अर्को शक्तिशाली भाले हात्ती ‘रोनाल्डो’सँग भिडेको थियो । त्यसपछि फेरि सुखीभार क्षेत्रमा फर्किएको बुझाई निकुञ्ज प्रशासनको छ । 

ध्रुवेको अर्को विशेषता भनेको गाउँ पस्दा खानेकुराको खोजी गर्नु हो । संरक्षणकर्मीहरूका अनुसार यसले घरभित्र सुँड छिराएर मकै, धान, अन्न तथा स्थानीय रूपमा बनाइने रक्सीको गन्ध खोज्ने गर्छ । रक्सी बनाइने सामग्री रहेको घरमा ध्रुवेले बढी क्षति पुर्‍याउने गरेको अध्ययनले देखाएको छ ।

२०६९ सालमै ध्रुवेले पर्साको ठोरी क्षेत्रमा एकै दिन ६८ वटा घर भत्काएको तथ्यांक छ । तीमध्ये धेरै घरमा स्थानीय मदिरा उत्पादन हुने गरेको थियो । निकुञ्जका अनुसार आक्रमणपछि ध्रुवे फेरि सुखीभार क्षेत्रतर्फ गएको अनुमान गरिएको छ । यद्यपि, जंगली हात्ती निरन्तर हिँडिरहने भएकाले अहिले ठ्याक्कै कुन स्थानमा छ भन्ने निश्चित जानकारी नभएको निकुञ्जले जनायो ।

ताजा खबर

सम्बन्धित खबर