२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नेयमारले घोषणा गरे सन्यास- 'मेरो यात्रा यहीँ समाप्त भयो'

Nada
२०८३ असार २२ गते १३:१५
Shares
नेयमारले घोषणा गरे सन्यास- 'मेरो यात्रा यहीँ समाप्त भयो'

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत 'राउन्ड अफ १६' मा नर्वेसँग पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आइतबार न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्राजिल २-१ ले पराजित भएपछि ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीका लागि आफ्नो करियर 'सकिएको' बताएका हुन् ।

ncell

खेलपछि भावुक मुद्रामा देखिएका नेयमारले भने, 'मैले प्रयास गरें, अब यो सकियो । मेरो यात्रा यहीं (मेटलाइफ स्टेडियम) बाट सुरु भएको थियो र यहीं अन्त्य भयो ।' संयोगवश, नेयमारले सन् २०१० अगस्ट १० मा सोही रंगशालामा संयुक्त राज्य अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमार्फत ब्राजिलका लागि डेब्यू गरेका थिए ।

नेयमारका लागि यो विश्वकप चोटका कारण निकै कष्टकर रह्यो । दायाँ पिँडुलाको समस्याका कारण उनले ब्राजिलले खेलेका पाँचमध्ये दुई खेलमा मात्र सहभागिता जनाउन सके । नर्वे विरुद्धको निर्णायक खेलमा उनी ६७औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए  । उनले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत एक सान्त्वना गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । अन्तिम सिट्ठी बजेसँगै नेयमार मैदानमै रोएका थिए, जहाँ उनलाई राफिन्हा र भिनिसियस जुनियर जस्ता सहकर्मीहरूले सम्हालेका थिए ।

नेयमारले ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा राख्दै बिदा लिएका छन् । उनले देशका लागि कुल ८० गोल गरेका छन्, जुन फुटबलका महान् खेलाडी पेलेको भन्दा बढी हो । उनले ब्राजिलका लागि १३० खेल खेलेका छन्, जुन काफु (१४२ खेल) पछि दोस्रो धेरै हो । नेयमारले सन् २०१४, २०१८, २०२२ र २०२६ गरी चारवटा विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरे ।

एक दशकभन्दा बढी समय ब्राजिलको मुख्य खेलाडीका रूपमा रहेका नेयमारको सन्याससँगै ब्राजिलियन फुटबल अब संक्रमणकालीन चरणमा प्रवेश गरेको छ । कप्तान मार्किन्होसले समर्थकहरूलाई नयाँ पुस्ताप्रति धैर्य राख्न र सुरुदेखि नै उनीहरूलाई समर्थन गर्न आग्रह गरेका छन् ।

नेयमारको सन्याससँगै ब्राजिलको फुटबलमा एउटा स्वर्णिम तर उतारचढावपूर्ण युगको अन्त्य भएको छ ।

सम्बन्धित खबर