२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विश्वकपबाट रोनाल्डोको भावुक बिदाइ

Nada
२०८३ असार २३ गते १२:३६
Shares
विश्वकपबाट रोनाल्डोको भावुक बिदाइ

काठमाडौं : विश्व फुटबलका लेजेन्ड क्रिस्टियानो रोनाल्डोको प्रतिष्ठित फिफा विश्वकप यात्राको अन्त्य निकै भावुक मोडमा भएको छ । सोमबार अमेरिकाको डल्लास स्टेडियममा भएको अन्तिम १६ को खेलमा स्पेनसँग १-० गोल अन्तरले पराजित भएपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो । खेलको अन्तिम समयमा स्पेनका वैकल्पिक खेलाडी मिकेल मेरिनोले हेडमार्फत गरेको गोल नै पोर्चुगललाई घर फर्काउन निर्णायक बन्यो ।

ncell

४१ वर्षीय रोनाल्डोका लागि यो करियरको छैटौं र सम्भवत अन्तिम विश्वकप थियो । खेल सकिएलगत्तै उनी आफ्ना भावनाहरूलाई थाम्न नसकी आँशु झार्दै मैदानबाट बाहिरिएका थिए । उनले कप्तानको आर्मब्यान्ड हातमा समातेर दर्शकहरूलाई अन्तिम पटक ताली बजाउँदै धन्यवाद दिए र विस्तारै लकर रुमतर्फ गए । खेलपछि रोनाल्डोले भने, 'म यसरी विश्वकपबाट बाहिरिनु पर्दा दुखी छु । मैले आफ्नो सबै सामर्थ्य लगाएँ, म सफा मनका साथ बिदा हुँदैछु ।' यद्यपि, उनले तत्कालै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिनेबारे भने कुनै ठोस निर्णय सुनाएनन् र परिवारसँग बसेर मात्र यस विषयमा सोच्ने बताए ।

हारका बाबजुद रोनाल्डोले यस विश्वकपमा पनि केही ऐतिहासिक कीर्तिमानहरू आफ्नो नाममा लेखाएका छन् । उनी ६ वटा फरक विश्वकप (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६) मा गोल गर्ने विश्वकै एकमात्र खेलाडी बनेका छन् । समूह चरणमा उज्बेकिस्तानविरुद्धको खेलमा दुई गोल गर्दै उनले यो उपलब्धि हासिल गरेका थिए ।

यसका साथै, क्रोएसियाविरुद्धको खेलमा पेनाल्टीमार्फत गोल गर्दै उनी ४१ वर्ष १४७ दिनको उमेरमा विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी समेत बने । पोर्चुगलका लागि सर्वाधिक २७ विश्वकप खेल खेल्दै ११ गोल गरेका रोनाल्डोको नाममा ९७६ कुल करियर गोलको कीर्तिमान छ । उनले आफ्नो नेतृत्वमा पोर्चुगललाई सन् २०१६ को युरो कप र दुई पटक नेसन्स लिगको उपाधि जिताएका छन् ।

पोर्चुगल बाहिरिएसँगै प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले हारलाई एउटा चक्रको अन्त्य भन्दै रोनाल्डोलाई एक अनुकरणीय कप्तान र फुटबलको आइकनका रूपमा प्रशंसा गरे । 'उनको सपना विश्वकप जित्ने थियो र उनले एक अद्भुत उदाहरण प्रस्तुत गरे,' मार्टिनेजले भने ।

तर, मार्टिनेजको रणनीतिको भने कडा आलोचना भएको छ । बिबिसीका फुटबल पण्डित क्रिस सटनले मार्टिनेजले रोनाल्डोलाई बढी 'माया' गरेको र टिमको आवश्यकता अनुसार परिवर्तन गर्न नसकेको आरोप लगाएका छन् । सटनका अनुसार रोनाल्डोको उपस्थितिले अन्य युवा र प्रतिभावान खेलाडीहरू जस्तै गोन्कालो रामोसले उचित अवसर पाउन सकेनन् । रोनाल्डोले पुरै प्रतियोगितामा १८ पटक प्रहार गरे पनि मात्र ३ गोल गर्न सफल भएका थिए ।

रोनाल्डोको विश्वकप यात्राको अन्त्यसँगै लियोनेल मेस्सीसँगको उनको लामो समयदेखिको प्रतिस्पर्धामा पनि नयाँ बहस सुरु भएको छ । मेस्सीले सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएर आफ्नो विरासत बलियो बनाइसकेका छन् भने रोनाल्डोको करियरमा विश्वकपको ट्रफी सधैंका लागि अधुरै रहन पुग्यो । मेस्सी हाल २० गोलका साथ विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् भने रोनाल्डो ११ गोलका साथ नवौं स्थानमा रहेका छन् ।

रोनाल्डो अब आफ्नो क्लब अल-नासरमा फर्कने तयारीमा छन्, जहाँ उनले हालै मात्र साउदी प्रो लिगको उपाधि जितेका थिए । विश्व फुटबलका एक महान् खेलाडीको यो बहिर्गमनलाई धेरैले फुटबलको एउटा दु:खद दिनका रूपमा चित्रण गरेका छन् ।

सम्बन्धित खबर