
ललितपुर : ललितपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले मानभवनस्थित जिल्ला समन्वय समितिको हलमा सो घोषणा गरेका हुन् । १६ देखि ५९ महिनासम्मका सबै बालबालिकामा लगाउनु पर्ने सबै खोपको पहुँच पुगेपछि यो घोषणा गरिएको हो ।
पूणखोप सुरक्षित भविष्य भन्ने मूल नाराका साथ मंगलबार औपचारिक रूपमा जिल्लाका १६ महिनादेखि ५९ महिनाका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि वडा र पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । जिल्लाका ६ वटै स्थानीय तहहरूमा ती उमेर समूहका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्ण खोप घोषणा गरिएको जनस्वास्थ्य कार्यालय ललितपुरका कार्यालय प्रमुख डा.खगेश्वर गेलालले जानकारी दिए ।
ललितपुरलाई पूर्णखोपको प्रमाण पत्र हस्तान्तरण गर्दै मन्त्री थापा मगरले यो घोषणालाई दिगोपन राख्नु पर्ने बताए । उनले प्रदेशले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । स्वास्थ्य जस्तो संवेदनशील विषयलाई सबैले गम्भीर रूपमा लिनु पर्ने मन्त्री थापाको भनाइ छ ।
स्वास्थ्य मन्त्री थापाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु उपलब्धिको अन्त्य नभई दिगोपनाको सुरुवात भएको बताए । उनले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गर्नु सबै तहको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीचको समन्वयलाई निरन्तर सुदृढ गर्नुपर्नेमा जोड दिए ।
मन्त्री थापाले खोपले बालबालिकालाई विभिन्न सङ्क्रामक तथा ज्यानै जोखिममा पार्ने रोगबाट जोगाउने भएकाले अभिभावकलाई समयमै आफ्ना बालबालिकालाई सबै खोप लगाउन आग्रह गरे । उनले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँगै नियमित खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको समेत बताए ।
जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयालले यो घोषणाले पछिपरेको ललितपुरको अवस्थामा केही सुधार आउने दाबी गरे । स्वास्थ्य क्षेत्रलाई सबै मिलेर बलियो बनाउनु पर्ने उनले बताए ।
कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोपा शाखा प्रमुख डा. अभियान गौतमलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. गेलालले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा ६ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख, महिला स्वास्थ्य स्वयंमसेविका र स्वास्थ्यकर्मीलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रमको सहजीकरण जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत राजाराम कार्कीले गरेका थिए । उनका अनुसार ललितपुर जिल्ला काठमाडौं उपत्यकाको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको बताए ।