
काठमाडौं : फिफा विश्वकप २०२६ को 'राउन्ड अफ १६' अन्तर्गत अर्जेन्टिना र इजिप्टबीचको खेल नतिजासँगै भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)का निर्णयहरूका कारण पनि इतिहासमा स्मरणीय बन्ने भएको छ । इजिप्टका प्रशिक्षक होसाम हसनले आफ्नो टोलीलाई 'अन्यायपूर्ण रूपमा ठगिएको' सम्म भन्न भ्याए ।
अन्डरडगको रूपमा मैदान प्रवेश गरेको इजिप्टले खेलको १५औं मिनेटमै यासेर इब्राहिमको गोलबाट अग्रता लिएको थियो । अर्जेन्टिनाले पहिलो हाफमै बराबरी गर्ने अवसर पाए पनि लियोनल मेस्सीको पेनाल्टी प्रहारलाई इजिप्टका गोलकिपर मोस्ताफा सोबेइरले विफल तुल्याइदिए ।
दोस्रो हाफमा मोस्टाफा जिकोले गोल गर्दै इजिप्टको अग्रता २–० मा पुर्याए । खेलको ७९औं मिनेटसम्म इजिप्ट ऐतिहासिक जिततर्फ अघि बढिरहेको देखिन्थ्यो ।
तर ७९औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । त्यसको चार मिनेटपछि मेस्सीले प्रतियोगितामा आफ्नो आठौं गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा इन्जो फर्नान्डेजले उत्कृष्ट हेडरमार्फत गोल गर्दै अर्जेन्टिनाको नाटकीय जित सुनिश्चित गरे ।
के थियो 'भिएआर' विवाद ?
खेलमा इजिप्ट १-० ले अगाडि रहेको अवस्थामा मोस्टाफा जिकोले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । तर जिकोको खुसी धेरै बेर टिक्न सकेन । 'भिएआर'ले उक्त गोल हुनुभन्दा अघि अर्जेन्टिनी डिफेन्डर लिसान्ड्रो मार्टिनेजमाथि फाउल भएको संकेत गर्यो र गोल रद्द गरियो ।
यस निर्णयमा खेल विश्लेषकहरू विभाजित छन् । कतिपयले यो निर्णय 'भिएआर'को क्षेत्राधिकारभन्दा बाहिर रहेको तर्क गरेका छन् भने फुटबलको नियम बनाउने निकाय (आइएफएबी)को नियम अनुसार गोल हुनुभन्दा अघिको मुभमा आक्रामक टोलीको गल्ती (ह्यान्डबल, फाउल, अफसाइड आदि) भएमा 'भिएआर' प्रयोग गर्न पाइने प्रावधान छ ।
विवाद यतिमा मात्र सीमित रहेन । खेल २–२ को बराबरीमा रहेका बेला र अर्जेन्टिनाले विजयी गोल गर्नु ठ्याक्कै अघि अर्को एउटा घटना भयो । मोहम्मद सालाहलाई अर्जेन्टिनाका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फाउल गरेको भन्दै इजिप्टले पेनाल्टीको जोडदार माग गरेको थियो । तर रेफ्री फ्रान्कोइस लेटेक्सियरले त्यसलाई बेवास्ता गरे । 'भिएआर'ले उक्त घटनाको पुनरावलोकनसमेत नगरेको इजिप्टको आरोप छ । त्यसको केही समयमै अर्जेन्टिनाले इन्जो फर्नान्डेजमार्फत विजयी गोल गर्यो ।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा इजिप्टका प्रशिक्षक होसाम हसन निकै आक्रामक रूपमा प्रस्तुत भए । उनले भने, 'हामीले आज सम्मान वा फेयर प्ले केही पनि देखेनौं । एउटा स्पष्ट पेनाल्टीलाई भिएआरले चेकसम्म गरेन, अर्कोतिर हाम्रो एउटा गोललाई नाटकीय रूपमा रद्द गरियो ।'
हसनले विश्वकपका आयोजक र रेफ्रीहरूमाथि अर्जेन्टिना र लियोनल मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न पक्षपात गरेको गम्भीर आरोप समेत लगाए । उनले भने, 'सायद उनीहरू विश्व च्याम्पियनलाई प्रतियोगितामा राख्न चाहन्थे, सायद उनीहरू मेस्सी अगाडि बढेको हेर्न चाहन्थे। फुटबलमा कहिलेकाहीँ प्राविधिक पक्षभन्दा बाहिरका शक्तिहरूले काम गर्दा रहेछन् ।'
यी विवादका बीच अर्जेन्टिनाले २–० को स्थितिबाट फर्किएर ३–२ को जित हात पार्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो । कप्तान लियोनल मेस्सीले खेलपछि खुसीका आँसु झार्दा इजिप्टका कप्तान मोहम्मद सालाह भने स्तब्ध देखिएका थिए । सालाहका लागि यो विश्वकपको अन्तिम खेल हुन सक्ने अनुमान गरिएको छ, जुन विवादको छायामा ओझेल पर्न पुग्यो ।