काठमाडौं : सुरक्षागार्डको रोजगारीमा ६ महिनाअघि यूएई गएका पाल्पाका नवीन पाण्डे तोकिएअनुसारको काम र तलब नपाएको भन्दै परिवारमार्फत वैदेशिक रोजगार विभागमा उद्धारको निवेदन दर्ता गराएर म्यानपावर कम्पनीले दिएको हवाई टिकटमा स्वदेश फर्के । उनी फर्केको केही दिनपछि तनहुँ आबुँखैरेनीका अर्जुननरसिंह रानाभाट पनि श्रीमतीमार्फत सोही प्रकृतिको उजुरी विभागमा दर्ता गराएर आफूलाई पठाउने म्यानपावर कम्पनीबाट जहाज टिकट मगाएर स्वदेश फर्किए ।
यूएईमा सुरक्षागार्डको काम गर्दा केही कमाएको र आफूलाई स्वदेश फर्काए म्यानपावर कम्पनीविरूद्ध थप केही दाबी नगर्ने पाण्डेको शुरूको भनाइ थियो । तर म्यानपावर कम्पनीले भिसा रद्द गर्ने रकम, जरिवाना र जहाज टिकट पठाएर स्वदेश फर्किएका पाण्डे नेपाल आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको पहुँच तथा प्रभाव प्रयोग गरेर घर नै नगइ क्षतिपूर्तिको माग लिएर म्यानपावर कम्पनीविरूद्ध निवेदन दर्ता गराउन ताहाचलस्थित वैदेशिक रोजगार विभाग गए ।
वैदेशिक रोजगारमा गएका केही कामदार कमसल कम्पनी परेमा समस्यामा पर्ने गर्छन् । तर पाण्डे समस्यामा थिएनन् । उनी यूएईको रोजगारीबाट करार अवधि पूरा नगरी जसरी भएपनि नेपाल फर्किएर नेपालबाट युरोपेली मुलुक जान चाहन्थे । विभिन्न बहाना बनाएर म्यानपावर कम्पनीलाई हतियार बनाएर उनी स्वदेश फर्किन सफल भए । दबाब दिएर म्यानपावर कम्पनीबाट राम्रै रकम हात पनि पारे ।
पछिल्ला दिनमा रानाभाट र पाण्डेजस्ता वैदेशिक रोजगारमा गएका कामदारले काम गर्न मन नलागेपछि बहाना बनाइ परिवार, आफन्त प्रयोग गरी जसरी पनि नेपाल फर्काइदिन विभागमा उजुरी हाल्ने गरेका छन् । त्यसका लागि उनीहरूले आफ्नो निर्वाचन क्षेत्रको सांसद, मन्त्री र सचिवको पहुँच र प्रभावको दुरूप्रयोग गर्ने गरेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । हालै नमस्ते नेपाल म्यानपावर प्रा.लि.ले ‘माथिको चर्को दबाब’का भरमा करिब ३८ लाख रूपैयाँ करार अवधिमै स्वदेश फर्केकाहरूलाई दिनुपरेको व्यवसायीहरू बताउँछन् ।
व्यवसायी तथा कामदारका समस्या समाधानका लागि विभागमा खटिएका नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमिति सदस्य देउमान नेम्वाङ करार अवधिभित्र बहानाबाजी गरेर कामदार फर्केको अवस्थामा पठाउने म्यानपावर कम्पनीले सम्बन्धित कामदार र रोजगारदाता कम्पनी दुबैलाई ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने बताउँछन् ।
नेम्वाङका अनुसार यूएईमा नेपाली कामदार गएको ६ महिना नपुग्दै फर्केको अवस्थामा कम्पनीअनुसार ३५ सयदेखि ८ हजार दिहराम, कतारमा भिसा चार्ज, मेडिकलको ५ सय रियाल र कर गरेर ३२ सय रियल, साउदी अरेबियामा ४ हजार रियलभन्दा बढी, मलेसियामा लेभी, इस्योरेन्स, भिसा क्यान्सिलेसन गरी ३५ सय रिँगेट र जोर्डनबाट हाउसमेड फर्केको अवस्थामा ३ लाख नेपाली रुपैयाँ बराबरको रकम कम्पनीलाई दिनुपर्ने हुन्छ ।
नेम्वाङले भने, ‘एकातिर कम्पनीलाई ठूलो परिणामको क्षतिपूर्ति तिर्नुपर्ने अवस्था छ भने अर्कोतिर कम्पनीसँगको सम्बन्ध बिग्रने र समस्या समाधान नगरे विभागले एलटी रोक्ने भयले व्यवसायी ठूलो तनावमा पर्ने अवस्था छ ।’
नेपाल फर्केपछि परिवारका सदस्य, नेता, मन्त्री र सचिवको शक्तिको आडमा विभागमा क्षतिपूर्तिको उजुरी दर्ता गराउने र क्षतिपूर्तिका लागि वैदेशिक रोजगार ऐनको कडा कानूनी प्रावधानलाई समाएर म्यानपावर कम्पनीलाई अनुचित दबाब दिने क्रम बढेको संघको विभाग समन्वय समिति संयोजक तथा संघका सचिव कर्णराज कटुवाल बताउँछन् । उनले भने, ‘विभागले पनि वास्तविकता बुझ्न छोडेर कामदारले समस्या नपरी उजुरी गर्दैन, विदेशमा अलपत्र पर्न दिनु पनि हुँदैन भन्दै नरम दृष्टिकोण राख्दा करार अवधिभित्र बहानाबाजी गरेर फर्किने कामदारको संख्या बढेको छ ।’
यसअघि यूएईमा बाइक राइडरको काममा गएका ठूलो संख्याका कामदारलाई विभिन्न म्यानपावर कम्पनीले यस्तै राजनीतिक तथा प्रशासनिक दबाबमा स्वदेश फर्काएर क्षतिपूर्ति भन्दै ठूलो रकम दिएका थिए । करार अवधि नसकिँदै कामदार फिर्ता गर्दा भिसा शुल्क म्यानपावर कम्पनीले तिर्न बाध्य हुने र नतिरे रोजगारदाता कम्पनीसँग सम्बन्ध बिग्रिने भएकाले व्यवसायी चेपुवामा परेको नेम्वाङले बताए ।
वैदेशिक रोजगार ऐनले विदेशमा कामदारले काम र तलब नपाएको अवस्थामा त्यो रकम म्यानपावर कम्पनीको दायित्वभित्र पर्ने व्यवस्था गरेको छ । व्यवसायीहरू करार अवधिमै फर्किने कामदारले सिर्जना गर्न सक्ने सम्भावित तनावबारे जानकार नै नभएका भने होइनन् । तर वैदेशिक रोजगारीमा गएको कामदारले कम्पनी व्यवस्थापकलाई धम्की दिने, आन्दोलन गर्ने वा काम छोड्न दबाब दिने उद्देश्यले समूह बनाउने गर्न थालेपछि म्यानपावर कम्पनीले एउटा कामदार नेपाल फर्किंदा केही फरक पर्दैन भन्ने ठानेर स्वदेश फर्काउने गरेका छन् । तर त्यसको मूल्य चर्काे परिरहेको नेम्वाङको भनाइ छ ।
थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रा.लि.ले पनि केही दिनअघि यस्तै समस्या झेल्नुपरेको संचालक बिनय तिमिल्लिनाले मध्यान्हलाई बताइए । बहानाबाजी गरेर क्षतिपूर्ति माग्दिनँ भन्दै स्वदेश फर्काउन अनुरोध गर्ने, तर स्वदेश फर्किनसाथ क्षतिपूर्तिका लागि उजुरी हाल्ने व्यक्तिका बारेमा व्यवसायीले सामाजिक सञ्जालमा बनाइएका ग्रुपमार्फत जानकारी शेयर गरेर सचेत हुने र सचेत गराउने क्रम भने शुरूवात गरेका छन् ।