रौतहट : बंगलादेशको रगपुर जिल्लास्थित मोकिमपुर मिठापुकार गोपालपुरकी २६ वर्षीया लाबोनी बेगम हाल रौतहटमा अलपत्र परेकी छन् । तीन वर्षसम्म सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध राखेकी उनले गौर नगरपालिका–६ सबगढाका शेष महताब आलमसँग अनलाइन माध्यमबाट नै विवाह गरेर नेपाल आएकी थिइन् । तर विवाहको दुई सातामै घरबाट निकालिएको उनको आरोप छ ।
लाबोनीका अनुसार टिकटक, फेसबुक र इमोमार्फत आलमसँग चिनजान भई करिब तीन वर्षको प्रेमपछि बंगलादेशको गाजीपुर अदालतमा दुवैले ‘कोर्ट म्यारिज’ गरेका थिए । विवाहको समयमा आलम कुवेतमा रोजगाररत थिए । उनी जेठ २८ गते नेपाल आइन् भने आलम जेठ २४ गते मात्रै कुवेतबाट फर्किएका थिए ।
विवाहपछि श्रीमानको घरमा बसेको र असार १६ गते आफूलाई घरबाट निकालिएको उनले बताइन् । त्यसपछि उनी बंगलादेश फर्किएकी थिइन् । तर साउन १५ गते श्रीमानकै बोलावटमा पुनः नेपाल आएपछि पनि आलम परिवारले घरमा बस्न नदिएको उनको गुनासो छ । हाल उनी छिमेकी नजरा खातुनको घरमा बसिरहेकी छन् ।
“साउन १५ गतेदेखि श्रीमानको घरमा ताला लगाइएको छ, श्रीमान र उनका परिवार दुवै सम्पर्कविहीन छन्,” लाबोनीको भनाइ छ । उनले जिल्ला प्रहरी कार्यालय रौतहटसहित सम्बन्धित निकायमा न्यायका लागि गुहार मागेकी छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार लाबोनी स्वेच्छाले नेपाल आएकाले कानुनी रूपमा अन्याय भएको मानिँदैन । तर गौर नगरपालिका–६ का वडाध्यक्ष अवध बिहारी प्रसादले भने जुन देशको महिला भए पनि कानुनी रूपमा विवाह गरेर आएएपछि वैवाहिक अधिकार दिनुपर्ने बताए ।
उनका अनुसार मुस्लिम समुदायमा फोन, भिडियो कल वा पत्रमार्फत दुई जना साक्षीको उपस्थितिमा हुने विवाह धार्मिक रूपमा मान्यता प्राप्त हुन्छ र यसलाई अनलाइन विवाह ठानिँदैन । आलम परिवारले घरमा बस्न नदिएको घटनाले अन्याय भएकाले स्थानीय नागरिक समाज र जिल्ला प्रशासनले यस घटनामा ध्यान दिन जरुरी रहेको स्थानीयहरूको भनाइ छ ।