२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

साउदीको यान्बुमा ११ नेपाली चार महिनादेखि अलपत्र

shivam cement
अन्जान गुभाजु
२०८२ साउन २५ गते ०६:३५
साउदीको यान्बुमा ११ नेपाली चार महिनादेखि अलपत्र

यान्बु, साउदी अरब : वैदेशिक रोजगारीका लागि साउदी अरब गएका ११ नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् । काठमाडौंको बुढानीलकण्ठ–९ स्थित फराज इन्टरनेसनल ओभरसिज प्रालिमार्फत २३ महिनाअघि साउदीको यान्बुमा रहेको इलाइट सपोर्टिङ कम्पनी एलएलसीमा कामका लागि आएका ११ नेपाली कम्पनी बन्द भई अफिसियल प्रतिनिधि सम्पर्कविहीन भएपछि चार महिनादेखि अलपत्र परेका छन् ।

पीडितहरूका अनुसार इकामा (काम गर्ने अनुमति पत्र)को म्याद सकिएको आठ महिना भइसकेको छ । ‘प्रहरीले समाते पनि पुनः छाडिदिन्छ, बसोबासको भवनमा बिजुलीसमेत छैन । सिरहाका लव शाहाले भने, ‘नेपाल फर्किन पाएको भए हुन्थ्यो, यहाँ अत्यन्तै कठिन छ ।’

पीडितले नेपालस्थित म्यानपावर कम्पनीमा कुरा गर्दा ‘भागेर काम गर’ भन्ने सुझाव मात्र पाएका छन् । जेद्दास्थित महावाणिज्यदूतावासले यसलाई नेपाली दूतावास रियादको क्षेत्राधिकारमा पर्ने भन्दै त्यहाँ सम्पर्क गर्न भनेको, तर दूतावासमा सम्पर्क गर्दा फोन रिसिभ नहुने गुनासो गरेका छन् ।

यसरी अलपत्र पर्नेहरूमा रुपन्देहीका रेजिन गुरुङ, बागलुङका छमबहादुर राना, सिरहाका सन्तोष यादव, लव साह, कुश साह, कमल सडाइ, विनोद महरा र उमेश सहानी, सुनसरीका आकाश कुमार चौधरी र राहुल कुमार चौधरी तथा बाँकेका राम धिरज बर्मा रहेका छन् ।

यसबारे फराज इन्टरनेसनलका सञ्चालक झविन्द्रप्रसाद बन्जाडेसँग सम्पर्क राख्दा दूतावाससँग समन्वय गरेर कामदारहरूको समस्या समाधानको प्रयास भइरहेको जानकारी दिए । ‘अब करार अवधि सकिएका कामदारहरुलाई बाँकी तलब दिलाएर नेपाल फर्काउने हाम्रो प्रयास भइरहेको छ’, बन्जाडेले मध्यान्हसँग भने, ‘यसका लागि हामी निरन्तर कामदार र दूतावाससँग निरन्तर सम्पर्कमा छौं ।’ 

यसैबीच, नेपाली सेवा समिति यान्बु, साउदी अरबले ८ अगस्ट शुक्रबारका दिन राहत सामग्री सहयोग गरेको छ । समिति अध्यक्ष धनबहादुर गुरुङको नेतृत्वमा पुगेको टोलीले पीडितको अवस्थाबारे जानकारी लिँदै तत्कालका लागि दनेश खड्का, पदम उप्रेती, सन्जु बिकमार्फत ४० केजी चामल, १० केजी आलु, ५ लिटर तेल, १० केजी चिकेन, ८ केजी प्याज, ३ डब्बा नुन, ५ केजी चिनी, ५०० पिस चियापत्ति, १० केजी सर्फ, १२ वटा साबुन, ४ वटा टुथपेस्ट हस्तान्तरण गरेको हो । साथै दुर्गा सारु मगरले २०० साउदी रियल र रेशम आले मगरले १०० साउदी रियल नगद सहयोग गरेका छन् ।

समितिले आवश्यक परे थप राहत सामग्री उपलब्ध गराउने र सम्बन्धित निकायमा समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको छ । साथै साउदीमा क्रियाशील विभिन्न संघ–संस्था तथा व्यक्तिहरूलाई सहयोग गर्न अपिल गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise