क्वालालम्पुर : मलेसियाले आगामी वर्षदेखि मात्रै आप्रवासी कामदारहरूमाथि बहुस्तरीय लेबी संयन्त्रको कार्यान्वयन गर्ने भएको छ । मलेसिया सरकारले सुरुमा यस वर्षभित्रै लागू गर्ने उद्देश्य राखेको बहुस्तरीय लेबीको कार्यक्रम २०२६ देखि कार्यान्वयन गर्ने बताएको छ ।
मलेसियाको १३औं राष्ट्रिय योजनाले विदेशी कामदारमाथिको निर्भरता घटाउन विदेशी कामदारमाथि उनीहरूले पाउने तलबको कर (लेबी) लगाउने बताएको छ । मलेसियाका मानव संशाधन मन्त्री स्टीवन सिमले लेबी कार्यान्वयन गर्नुअघि सबै सरोकारवालाहरूसँग छलफल गर्ने बताएका छन् ।
मलेसियाले सन् २०३० सम्ममा विदेशी कामदारमाथिको निर्भरतालाई १० प्रतिशत र २०३५ सम्ममा ५ प्रतिशतमा घटाउन कदम चालिने बताएको छ । विदेशी कामदारमाथि लगाउने लेबीले मलेसियालीहरूका लागि रोजगारीका अवसर खोल्ने र उनीहरूलाई उच्च आय आर्जन गर्ने बाटो खोल्ने मलेसिया सरकारले बताएको छ ।
गत डिसेम्बरमा मलेसियन उत्पादकहरूको महासंघले मलेसिया सरकारलाई लेबी कार्यान्वयनको विवरण सार्वजनिक गर्न माग गरेको थियोे । महासंघले सरकारी नीति कार्यान्वयन गर्न पर्याप्त समय दिन कम्तीमा ६ महिना अगाडि लेबीको विवरण घोषणा गरिनुपर्ने बताएको छ ।
जुलाई २८ मा प्रकाशित मलेसियाली संसद्को सार्वजनिक लेखा समितिको प्रतिवेदनमा गृह मन्त्रालयले विदेशी कामदारको लेबी न्यूनतम ३ देखि ५ सय रिंगेट लिने विचार गरिरहेको उल्लेख छ । लेबीलाई विदेशी कामदार व्यवस्थापनका लागि सरकारले गरेको लागत पूर्ति गर्ने धेरै माध्यमहरूमध्ये एक माध्यम भएको बताएको छ । हाल मलेसियामा न्यूनतम १७ सय रिंगेट तलब कार्यान्वयनमा छ ।