
दुईजना पुरुष, तीनवटा देश, १० हजार माइलको यात्रा, ३९ दिन, १६ वटा रंगशाला, तर एउटा विश्वकप । यो कुनै फिल्मी कथा नभई फिफा विश्वकप २०२६को माहोलमा एक बेलायती र एक क्यानेडाली नागरिकले गरिरहेको एउटा अनौठो र साहसी यात्राको विवरण हो ।
बेलायती नागरिक ओली जेन्क्स र उनका क्यानेडाली साथी सेथ स्कट एउटा परम्परागत लन्डन ब्ल्याक ट्याक्सी चढेर उत्तर अमेरिकाका सबै १६ वटा विश्वकप आयोजक रंगशाला पुग्ने लक्ष्यका साथ सडकमा दौडिरहेका छन् ।
‘एबी द क्याबी’ नाम दिइएको यो परम्परागत लन्डन ट्याक्सीले यी दुई साथीलाई विश्वकप अन्त्य हुँदासम्म ३९ दिनमा १० हजार माइलको यात्रा गराउँदै छ । यो साहसी यात्राको मुख्य उद्देश्य जुलाई १९मा न्यु जर्सीमा विश्वकपको फाइनल हुनुअघि सबै १६ वटा रंगशालाको भ्रमण गरिसक्नु हो । छिट्टै अल्छी लाग्ने आफ्नो स्वभाव र सन् २००८मा स्टिफन फ्राईले ब्ल्याक ट्याक्सीमा अमेरिकाभरि गरेको यात्राबाट प्रेरित भएर जेन्क्सले यो योजना बनाएका हुन् ।
यस यात्राका लागि उनीहरूले भ्यानकुभरको एउटा फिल्म सेटमा अलपत्र अवस्थामा रहेको ट्याक्सी फेला पारेका थिए । सात वर्षदेखि नचलेको, इन्जिनमा हिलो भरिएको र ब्रेक जाम भएको त्यो थोत्रो गाडीलाई उनीहरूले एक हजार पाउन्डमा किनेर एक महिना लगाएर मर्मत गरेका थिए । यसअघि सन् २०२५मा यी दुईले लन्डनदेखि केप टाउनसम्मको १४ हजार माइलको यात्रा तीनपांग्रे ‘रिलायन्ट रबिन’ गाडीमा सफलतापूर्वक पूरा गरिसकेका छन् ।

यात्रा सोचेजस्तो सहज भने छैन । ‘एबी द क्याबी’ले दैनिक करिब ३५० माइलको यात्रा गरिरहँदा कहिले ओभरहिट हुने त कहिले बत्ती फुट्नेजस्ता समस्या दिइरहेको छ । मेक्सिकोमा प्रहरीले उनीहरूको गाडीको खानतलासी गर्दा केही सामानसमेत जफत गरेको थियो ।
तर, यो यात्रा केवल रमाइलोका लागि मात्र होइन । उनीहरूले च्यारिटीका लागि रकम संकलन गरिरहेका छन् र विश्वकप हेर्न आएका, तर महँगो यातायात खर्च धान्न नसक्ने विभिन्न देशका समर्थकलाई निःशुल्क लिफ्टसमेत दिने गरेका छन् । अहिलेसम्म कोलम्बिया, घाना, अर्जेन्टिना र बोस्नियाजस्ता देशका फुटबल प्रेमीहरूले उनीहरूको ट्याक्सीमा यात्रा गरिसकेका छन् । ‘यदि हामीले कसैलाई सानो सहयोग गर्न सक्यौं भने त्यो राम्रो काम हुनेछ,’ जेन्क्स भन्छन् ।
सामाजिक सञ्जालमा ‘होल्ड माइ गियर’ ह्यान्डलमार्फत आफ्नो यात्राको भिडियो साझा गरिरहेका यी दुई साथीले अहिले यात्राको आधाभन्दा बढी बाटो तय गरिसकेका छन् । उनीहरूको यात्रा भ्यानकुभरको बिसी प्लेस रंगशालाबाट सुरु भएको थियो र अब १९ जुलाईको फाइनलअघि न्यु जर्सीको मेटलाइफ स्टेडियम पुगेर टुंगिनेछ ।
‘धेरै मानिसलाई लाग्न सक्छ, यो सबैले गर्न सक्दैनन्, तर जोखिम लिन तयार हुने हो भने जोसुकैले गर्न सक्छन्,’ जेन्क्सले युवाहरूलाई प्रेरित गर्दै भने । उनीहरूको यो यात्राले मानिसहरूलाई फुटबल मात्र होइन, संसार घुम्न र एकअर्कालाई सम्मान गर्न सिकाउने उनीहरूको विश्वास छ ।