२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

डेब्युमै तहल्का

Nada
२०८३ असार २६ गते ०६:२५
Shares
डेब्युमै तहल्का

काठमाडौं : फिफा विश्वकप २०२६को मैदानमा यसपटक पुराना र स्थापित खेलाडीको मात्र दबदबा छैन । पहिलोपटक विश्वकपको मञ्चमा पाइला टेकेका कतिपय नयाँ खेलाडीले आफ्नो खेलकौशलले विश्वलाई मन्त्रमुग्ध पारिरहेका छन् । फिफाले ‘एराम्को’सँगको सहकार्यमा सार्वजनिक गरेको पछिल्लो ‘पावर र्‍यांकिङ’अनुसार आक्रमण, सिर्जनशीलता र रक्षापंक्तिमा नयाँ अनुहारहरूले अनुभवी खेलाडीलाई समेत चुनौती दिइरहेका छन् ।

ncell

जादुमयी गोल मेसिन

अर्लिङ हालान्ड (नर्वे)

अट्याकिङको विधामा नर्वेका स्टार खेलाडी अर्लिङ हालान्ड अग्रस्थानमा छन् । हालान्डले आफ्नो पहिलो विश्वकपकै मञ्चमा आफूलाई विश्वको उत्कृष्ट फरवार्डका रूपमा प्रमाणित गरेका छन् । नर्वेलाई क्वार्टरफाइनलसम्म पुर्‍याउन मुख्य भूमिका खेलेका उनले ८.०४को ‘पावर र्‍यांकिङ’ स्कोर पाएका छन्, जुन समग्र विधामा तेस्रो स्थान हो । ब्राजिलविरुद्धको राउन्ड अफ १६ खेलमा निर्णायक दुई गोल गरेका उनले प्रतियोगितामा तीनवटा ‘ब्रेस’ (एकै खेलमा दुई गोल) प्रहार गरिसकेका छन् । म्यानचेस्टर सिटीका यी स्ट्राइकरको शारीरिक उपस्थिति र गोल गर्ने क्षमताले उनलाई शीर्ष डेब्युट्यान्ट बनाएको छ ।

जोहान मन्जाम्बी (स्विट्जरल्यान्ड)

२० वर्ष २४७ दिनका जोहान मन्जाम्बी यो विश्वकपका नयाँ ‘ब्रेकआउट’ स्टार हुन् । बोस्निया र हर्जगोभिनाविरुद्धको खेलमा बेन्चबाट आएर दुई गोल गर्दै उनले सन् १९५० यता स्विट्जरल्यान्डका लागि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए । ७.३२को स्कोरका साथ उनी यो सूचीमा दोस्रो र समग्रमा पाँचौं स्थानमा छन् र ‘फिफा युवा खेलाडी अवार्ड’को दाबेदार पनि मानिएका छन् ।

जुलियन क्विनोनेस (मेक्सिको)

आयोजक टोली मेक्सिकोलाई राउन्ड अफ १६ सम्म पुर्‍याउन अल कादसियाका फरवार्ड क्विनोनेसको भूमिका महत्वपूर्ण रह्यो । उनले इक्वेडरविरुद्धको जितमा गोल गर्दै ‘प्लेयर अफ द म्याच’ अवार्ड जितेका थिए । उनको सिधा आक्रमण गर्ने शैली र ६.९८को स्कोरले उनलाई तेस्रो स्थान दिलाएको छ ।

खेलका रणनीतिकार

माइकल ओलिस (फ्रान्स)

खेललाई सिर्जनात्मक मोड दिन फ्रान्सका माइकल ओलिस सबैभन्दा अगाडि देखिएका छन् । बायर्न म्युनिखका यी प्लेमेकर ८.१९को उच्च स्कोरका साथ समग्र क्रिएटिभिटीको र्‍यांकिङमा पहिलो स्थानमा छन् । उनले यस प्रतियोगितामा ५ वटा ‘असिस्ट’ (गोलका लागि पास) दिइसकेका छन्, जुन सन् १९६६ पछि कुनै पनि खेलाडीले एउटै विश्वकपमा गरेको सबैभन्दा धेरै असिस्टको कीर्तिमान बराबर हो ।

फ्लोरियन रिट्ज (जर्मनी)

जर्मनीको यात्रा अपेक्षाभन्दा चाँडै टुंगिए पनि लिभरपुलका अट्याकिङ मिडफिल्डर फ्लोरियन रिट्जले आफ्नो छाप छोड्न सफल भए । ७.५८को स्कोरका साथ उनी दोस्रो स्थानमा छन् । दबाबका बीच पनि बल नियन्त्रणमा राख्ने र खाली ठाउँ सिर्जना गर्ने उनको खुबीले कुरासाओविरुद्धको ७–१ को जितमा महत्वपूर्ण भूमिका खेलेको थियो ।

लामिन यामल (स्पेन)

स्पेनका युवा प्रतिभा लामिन यामलले आफ्नो सिर्जनात्मक खेलले सबैलाई प्रभावित पारेका छन् । ७.४८को स्कोरका साथ डेब्युट्यान्टहरूको सूचीमा तेस्रो स्थानमा रहेका उनले स्पेनलाई क्वार्टरफाइनलसम्म डोर्‍याउन बलियो भूमिका खेलेका छन् ।

अन्तिम पर्खाल

लुक डे फुगेरोल्स (क्यानडा)

रक्षापंक्तिमा क्यानडाका लुक डे फुगेरोल्सले सबैको ध्यान खिचेका छन् । फुलहमका यी बहुमुखी डिफेन्डरको उत्कृष्ट प्रदर्शनले आयोजक क्यानडाले कतार, बोस्निया एन्ड हर्जगोभिना तथा दक्षिण अफ्रिकाविरुद्ध ‘क्लिन सिट’ राख्न सफल भयो । ७.४७को स्कोरका साथ उनी डेब्युट्यान्ट डिफेन्डरमा पहिलो र समग्रमा चौथो स्थानमा छन् ।

पाउ कुबार्सी (स्पेन)

बार्सिलोनाका पाउ कुबार्सी सेन्टर–ब्याकले अनुभवी खेलाडीको जस्तो परिपक्वता देखाएका छन् । उनको डिफेन्स नेतृत्वमा स्पेन यस विश्वकपमा अहिलेसम्म एक गोल पनि नखाने एकमात्र टोली बनेको छ । ७.१२को स्कोरका साथ उनी डेब्युट्यान्टमा दोस्रो स्थानमा छन् ।

क्रिस रिचर्ड्स (अमेरिका)

आयोजक अमेरिकाको रक्षापंक्तिको मेरुदण्डका रूपमा रहेका क्रिस रिचर्ड्सले ७.१८को स्कोर पाएका छन् । शारीरिक रूपमा बलियो र हवाई बलमा उत्कृष्ट नियन्त्रण भएका उनी डेब्युट्यान्ट सूचीमा तेस्रो स्थानमा छन् ।

सम्मानजनक चर्चा

यसपटक पहिलोपटक विश्वकप खेलेको केप भर्डेको टोलीले पनि ऐतिहासिक छाप छाडेको छ । टोलीका सिड्नी लोप्स क्याब्रलले अट्याकिङ र क्रिएटिभिटीमा राम्रो स्कोर गर्दा पिको लोप्सले रक्षापंक्तिमा समग्रमा २९औं स्थान हासिल गर्दै विश्वको ध्यान तानेका छन् ।

सम्बन्धित खबर