२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विश्वकप २०२६ : गोलको वर्षा, रेकर्डको लहर

Nada
२०८३ असार २६ गते ०६:३०
Shares
विश्वकप २०२६ : गोलको वर्षा, रेकर्डको लहर

काठमाडौं : क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना भइरहेको फिफा विश्वकप २०२६ फुटबल इतिहासकै सबैभन्दा ठुलो र रोमाञ्चक संस्करण बन्ने दिशामा अघि बढिरहेको छ । पहिलोपटक ४८ राष्ट्र सहभागी यस प्रतियोगितामा ढिलो गरी भएका गोल, उत्कृष्ट ‘कमब्याक’ र अप्रत्याशित नतिजाहरूले विश्वभरका फुटबलप्रेमीलाई रोमाञ्चित तुल्याएको छ ।

ncell

यसपटकको विश्वकपमा गोल गर्ने दर लोभलाग्दो देखिएको छ । अहिलेसम्म भएका १०४ मध्ये ९६ खेलमा २८० गोल भइसकेका छन्, जुन प्रतिखेल औसत २.९२ गोल हो । यो सन् १९७०को मेक्सिको विश्वकप (औसत २.९७) पछिकै सबैभन्दा उच्च औसत हो । ७४.६ प्रतिशत गोलहरू ‘ओपन प्ले’बाट भएका छन् भने पेनाल्टीमार्फत मात्र ५ प्रतिशत गोल भएका छन्, जुन अहिलेसम्मकै न्यून हो ।

प्रतियोगितामा ‘इन्जुरी समय’को रोमाञ्च पनि उत्तिकै छ । अर्जेन्टिनाका एन्जो फर्नान्डेजले इजिप्टविरुद्ध गरेको विजयी गोल यस विश्वकपको ९०औं मिनेटपछिको १०औं निर्णायक गोल थियो, जुन आफैंमा एउटा विश्व रेकर्ड हो ।

यसपटक ‘गोल्डेन बुट’को दौड निकै कडा देखिएको छ । अर्जेन्टिनाका लियोनल मेस्सी ८ गोलका साथ शीर्ष स्थानमा छन् भने फ्रान्सका किलियन एमबाप्पे र नर्वेका अर्लिङ हालान्ड ७–७ गोलका साथ उनलाई पछ्याइरहेका छन् । विश्वकपको इतिहासमा एकै संस्करणमा तीन खेलाडीले ७ वा सोभन्दा बढी गोल गरेको यो पहिलोपटक हो ।

साना राष्ट्रहरूले पनि आफ्नो दह्रिलो उपस्थिति जनाएका छन् । क्यारेबियन टापु कुरासाओ र ४० वर्षीय गोलकिपर भोजिन्हा सम्मिलित केप भर्डेजस्ता टोलीहरूले ठुला टोलीलाई कडा टक्कर दिएर सबैको मन जितेका छन् । केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयसम्म संघर्ष गराएको थियो ।

टिकटको उच्च मूल्य र लामो दूरीको यात्राका बाबजुद रंगशालामा दर्शकको उपस्थिति अभूतपूर्व छ । फिफाका अनुसार उपलब्ध सिटमध्ये ९९.७ प्रतिशत भरिएका छन् र प्रतिखेल औसत ६५ हजार दर्शक उपस्थित छन् ।

केही विवाद

यद्यपि, प्रतियोगिता विवादमुक्त भने रहन सकेन । टिकट, होटल र यातायातको महँगो खर्चले प्रशंसकलाई मर्कामा पारेको छ । त्यस्तै, अमेरिकी खेलाडी फोलारिन बालोगुनको रातो कार्डपछिको प्रतिबन्ध फुकुवा गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्षलाई फोन गरेको विषयले राजनीतिक हस्तक्षेपको चर्चा र विवाद निम्त्याएको छ ।

यसका साथै, इरानका कप्तान मेहदी तारेमीले आफ्नो टोलीलाई ‘दबाइएको’ महसुस गरेको बताएका छन् । भिसा समस्याका कारण इरान, हाइटी, सेनेगल, घानालगायत धेरै देशका समर्थक र कर्मचारीलाई अमेरिका प्रवेशमा कठिनाइ भएको थियो ।

उत्तर अमेरिकाको अत्यधिक गर्मीका कारण खेलको बीचमा दिइने ३ मिनेटको ‘हाइड्रेसन ब्रेक’ले फुटबलको परम्परागत ढाँचा परिवर्तन गरेको छ । कतिपयले यसलाई विज्ञापन गर्ने अवसरको रूपमा आलोचना गरे तापनि फिफाले यसलाई खेलाडीको स्वास्थ्य र प्रशिक्षकहरूसँगको रणनीतिक छलफलका लागि आवश्यक रहेको बताएको छ ।

खेललाई छिटो र पारदर्शी बनाउन यसपटक धेरै नयाँ प्रविधिहरू प्रयोग गरिएका छन् । ‘स्निको’ प्रविधि र एडिडासको बलभित्र रहेको ‘माइक्रोचिप’ले अफसाइड र फाउल निर्णयहरूमा ठुलो मद्दत पुर्‍याएको छ ।

खेलाडीहरूले मैदान छाड्दा १० सेकेन्डभन्दा बढी समय लगाएमा पहेँलो कार्ड दिने र थ्रो–इन वा गोल–किकका लागि ५ सेकेन्डको समयसीमा तोक्ने नियमले खेलको गति बढाएको छ ।

अब प्रतियोगिता क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ, जहाँ अर्जेन्टिना, स्पेन, फ्रान्स र इंग्ल्यान्डजस्ता विश्व वरीयताका शीर्ष चार टोली प्रतिस्पर्धा गर्दै छन् । आगामी १० दिनमा हुने यी खेलले नै यो विश्वकपलाई इतिहासकै सर्वोत्कृष्ट बनाउने वा निरन्तरता मात्रै दिने भन्ने टुंगो लगाउनेछ ।

सम्बन्धित खबर