
कोहलपुर, बाँके : एम्स वन ग्लोबल माइल अन्तर्गत शनिबार भएको कोहलपुर माइल (१.६ किमी) दौडमा समिर बस्नेत र चेतना बस्नेत च्याम्पियन बनेका छन् ।
उदाउँदो सहर कोहलपुरमा भएको पहिलो अन्तर्राष्ट्रिय संस्थासँग आबद्धता प्राप्त प्रतियोगिता कोहलपुर माइलमा स्कुलस्तरीय छात्रतर्फ समिर बस्नेत पहिलो हुँदा सुगम चौधरी दोस्रो, करण सिकर्मी तेस्रो र सन्देश बुढाथोकी चौथो भए । स्कुलस्तरीय छात्रातर्फ चेतना बस्नेत अग्रस्थानमा आउँदा सलिना थारु दोस्रो, नियुक्ती गुरुङ तेस्रो र एन्जल सुनार चौथो भइन् ।
कोहलपुर खुला मैदानदेखि सुरु भई नेपालगन्ज मेडिकल कलेजको गेटसम्म पुगेर पुनः सोही रुट हुँदै खुला मैदानमै सम्पन्न भएको किड्स रन गल्र्स (८ देखि १२ वर्ष उमेर समूह) तर्फ मान्वी चौधरी, बिपना बुढा, नबिना थापा र ग्रीष्मा शाही तथा किड्स रन छात्र (८ देखि १२ वर्ष उमेर समूह) तर्फ मिलन कैला, अब्दुल्लाह खान, अमृत बिक र दिनेश कैला शीर्ष चार स्थानमा आए। विजयी खेलाडीलाई क्रमशः नगद चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ तथा ट्रफी प्रदान गरियो ।
कोहलपुर माइलमा सहभागी करिब अढाई सय जनालाई पदक र प्रमाणपत्र प्रदान गरियो। कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले सम्पूर्ण विजेतालाई पुरस्कृत गरेका थिए ।
अमेरिकाको न्युयोर्कस्थित ह्युडसन माइलको विस्तारित रूप नै वन ग्लोबल माइल हो । ‘एक दिन, एक माइल, एक विश्व’ भन्ने नारासहित दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले जुलाई ११ मा ११ देशका विभिन्न सहरमा एकैपटक ‘वन ग्लोबल माइल’ आयोजना गरिएको हो । विश्व रनिङको विश्वव्यापी संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) ले वन ग्लोबल माइललाई विश्वभर प्रवर्द्धन गरिरहेको छ । यसलाई म्याराथनको सुरुवाती कदमका रूपमा लिइन्छ। अन्य देशमा एक सहरमा आयोजना भए पनि नेपालमा मात्र दुई सहर-कोहलपुर र काठमाडौंमा-कोहलपुर माइल र काठमाडौं माइल आयोजना गरिएको हो ।

मेयर आचार्यले पनि पूरा गरे माइल
कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पनि एक माइल दौड पूरा गरेका छन् । स्कुले विद्यार्थीलाई हौसला प्रदान गर्दै प्रमुख आचार्यले कोहलपुर माइलको निर्धारित दूरी पूरा गरेका हुन्। नगरप्रमुख आचार्यसँगै धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापालगायतले पनि एक माइल दौड पूरा गरे ।
पुरस्कार वितरण गर्दै नगरप्रमुख आचार्यले कोहलपुर माइल आयोजनाका लागि वन ग्लोबल माइलप्रति आभार व्यक्त गर्दै यसलाई बृहत् बनाउन नगरपालिकाले वार्षिक क्यालेन्डरमा समावेश गरी उच्च प्राथमिकताका साथ सहयोग गर्ने बताए। सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याएकोमा जिल्ला प्रशासन कार्यालय बाँके, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले धन्यवाद व्यक्त गरे।
काठमाडौं माइल सम्पन्न
एम्स वन ग्लोबल माइल अन्तर्गत काठमाडौं माइल पनि शनिबार सम्पन्न भएको छ। नक्सालस्थित नारायणचौरदेखि सुरु भई दरबारमार्ग पुगेर पुनः नारायणचौरमै सम्पन्न भएको काठमाडौं माइलमा सहभागी सम्पूर्णलाई मेडल र प्रमाणपत्र वितरण गरियो ।
काठमाडौं माइलका डाइरेक्टर कपिल थापाका अनुसार एक माइल दौडले सहभागीलाई लामो दूरीको दौडतर्फ आकर्षित गर्नेछ। साथै, ग्लोबल अभियान अन्तर्गत आयोजना भएकाले हरेक सहभागीले एम्सका प्रेसिडेन्ट पाको बोराओ र वन ग्लोबल माइलका संस्थापक जोन बोकाले हस्ताक्षर गरेको प्रमाणपत्र प्राप्त गर्दा त्यसको महत्व अनुभूति गरेको डाइरेक्टर थापाले बताए ।
अर्को वर्ष काठमाडौं माइललाई अझ बृहत् ढंगले आयोजना गर्न यस कार्यक्रमले आफूलाई उत्साह थपेको उनले बताए । कार्यक्रम संयोजक ममता थापाले काठमाडौंजस्तो ठाउँमा वन ग्लोबल माइलको महत्व बुझ्नेको संख्या उल्लेख्य रहेको भन्दै आगामी संस्करणमा यसको दायरा अझ फराकिलो बन्दै जाने अपेक्षा व्यक्त गरिन् ।