
काठमाडौं : फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा साबिक युरोपेली च्याम्पियन स्पेनले आफ्नो शक्ति प्रदर्शन गर्दै फ्रान्सलाई २-० ले पराजित गरेको छ । डल्लास स्टेडियममा भएको यस खेलमा स्पेनले पूर्ण नियन्त्रण कायम गर्दै इतिहासमा दोस्रो पटक विश्वकपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेलको सुरुवातमा फ्रान्सलाई बलियो प्रतिद्वन्द्वी मानिएको थियो, जसमा किलियन एमबाप्पे, ओस्मान डेम्बेले र माइकल ओलिस जस्ता खतरनाक खेलाडीहरू थिए । यद्यपि, स्पेनले पहिलो हाफमै खेल आफ्नो पक्षमा पारेको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए भने पेड्रो पोरोले एक उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई २-० को स्थितिमा पुर्याए ।
फ्रान्सले खेलभरि जम्मा तीन पटक मात्र लक्ष्यमा प्रहार गर्न सक्यो, जुन स्पेनको बलियो रक्षापंक्ति र मिडफिल्ड मास्टरक्लासको नतिजा थियो ।
यस जितसँगै स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा इटालीको कीर्तिमानसँग बराबरी गर्दै लगातार ३७ खेलसम्म अपराजित रहने गौरव प्राप्त गरेको छ । यस विश्वकपमा स्पेनले खेलेका सात खेलमध्ये ६ खेलमा कुनै पनि गोल खाएको छैन, जुन विश्वकप इतिहासमा एकै संस्करणमा कुनै पनि टोलीले राखेको सबैभन्दा उत्कृष्ट रक्षात्मक रेकर्ड हो ।
विशेषगरी युवा स्टार लामिन यामलले स्पेनका लागि खेलेका कुनै पनि खेलमा हार व्यहोर्नु परेको छैन । उनले विश्वकप र युरो कपका सुरुवाती ११ मा रहेका १२ वटै खेल जितेका छन्, जुन कुनै पनि युरोपेली खेलाडीका लागि शतप्रतिशत जितको उत्कृष्ट दर हो ।
स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टे, जसलाई सुरुवाती समयमा धेरैले कम आँकेका थिए, उनले आफ्ना आलोचकहरूलाई कडा जवाफ दिएका छन् । सन् २०२३ को नेसन्स लिग र सन् २०२४ को युरो कप जिताएपछि उनले अहिले स्पेनलाई विश्वकपको फाइनलमा पुर्याएका छन् ।
पूर्वफुटबलर रोय किन र क्रिस सटनका अनुसार फ्रान्सका 'प्रतिभावान व्यक्तिहरू' भन्दा स्पेनको 'सामूहिक टिम भावना' उत्कृष्ट देखियो । प्रशिक्षक डे ला फुएन्टेले भने, 'हामीले सन् २०१० को स्पिरिटलाई पुनर्जीवित गरेका छौं । यो सबै योजनाबद्ध प्रक्रियाको नतिजा हो ।' खेल सकिएपछि स्पेनका राजा फिलिप छैटौंले प्रशिक्षकलाई फोन गरेर बधाई समेत दिएका थिए ।
स्पेनको मिडफिल्डमा रोड्री, फाबियन रुइज र डानी ओल्मोको कम्बिनेसनले फ्रान्सेली टोलीलाई निरिह बनाएको थियो । डानी ओल्मोले 'रोमिङ १०' को भूमिकामा फ्रान्सको रक्षापंक्तिलाई निरन्तर दबाबमा राखे भने पेड्रो पोरोको दोस्रो गोलमा पनि उनको महत्वपूर्ण भूमिका रह्यो । फुटबल विशेषज्ञ गुइलेम बालागले यस प्रदर्शनलाई 'फुटबल स्कुलहरूमा सिकाउनुपर्ने उत्कृष्ट सामूहिक प्रदर्शन' भनेका छन् ।
स्पेनले अब नेपाली समयअनुसार सोमबार बिहान १२:४५ मा हुने फाइनलमा अर्जेन्टिना वा इंग्ल्यान्डमध्ये एकको सामना गर्नेछ । यदि इंग्ल्यान्डले दोस्रो सेमिफाइनल जित्यो भने, यो दुई वर्षअघिको युरोपेली च्याम्पियनसिप फाइनलको पुनरावृत्ति हुनेछ । प्रशिक्षक डे ला फुएन्टेले आफूलाई फाइनलका लागि कुनै विशेष टोलीको प्राथमिकता नरहेको बताएका छन्, यद्यपि उनले इंग्ल्यान्डलाई प्रतियोगिताको मुख्य दाबेदारका रूपमा स्वीकार गरेका छन् ।