
काठमाडौं : फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा बिहीबार बिहान १२:४५ बजे दुई फुटबल महारथी इंग्ल्यान्ड र अर्जेन्टिनाबीच महाभिडन्त हुँदैछ । अमेरिकाको अटलान्टा स्टेडियममा हुने यस खेलको विजेताले फाइनलमा स्पेनसँगको भेट तय गर्नेछ ।
विश्वकपमा २४ वर्षपछि यी दुई चिरपरिचित प्रतिद्वन्द्वीहरू आमनेसामने हुन लागेका हुन् । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा पहिलो पटक इंग्ल्यान्डको सामना गर्दैछन् । ३९ वर्षीय मेस्सी यस प्रतियोगितामा ८ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् । अर्कोतर्फ, इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिंघमको जोडीले यस प्रतियोगितामा टोलीका लागि १३ मध्ये १२ गोल गरिसकेका छन् ।
इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको फुटबल इतिहास निकै नाटकीय र तनावपूर्ण रहने गरेको छ । सन् १९८६ को म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोल र सन् १९९८ मा डेभिड बेकह्यामले रातो कार्ड पाएको खेल अझै पनि चर्चामा रहने गर्छन् । यसपटक इंग्ल्यान्ड ६ दशकपछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने दाउमा छ भने अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जितेर इतिहास रच्न चाहन्छ ।
समूह 'एल' को विजेता बन्दै नकआउट चरण पुगेको इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ र क्वार्टरफाइनलमा नर्वेलाई अतिरिक्त समयमा २–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । समूह 'जे' को शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले इजिप्ट र स्विट्जरल्यान्ड जस्ता टोलीहरूलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
अप्टा सुपर कम्प्युटरका अनुसार यो खेल जित्ने सम्भावना इंग्ल्यान्डको ३९.१ प्रतिशत र अर्जेन्टिनाको ३१.६ प्रतिशत रहेको छ । हेड–टु–हेड रेकर्डमा पनि इंग्ल्यान्ड बलियो देखिएको छ । विगतका १४ भेटमा इंग्ल्यान्डले ६ खेल जितेको छ भने अर्जेन्टिनाले ३ खेलमा मात्र जित निकालेको छ ।
इंग्ल्यान्डका मिडफिल्डर डिक्लेन राइस बिरामी भएकाले खेल्नेमा शंका छ र जोर्डन हेण्डरसन चोटका कारण बाहिर छन् । अर्जेन्टिनी टोलीमा भने कुनै पनि खेलाडी घाइते नरहेको बताइएको छ ।