२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

टी-२० विश्वकपमा अब 'सुपर १०' फर्म्याट, नेपालले सिधै ग्लोबल छनोट खेल्ने

Nada
२०८३ असार ३१ गते १६:४३
Shares
टी-२० विश्वकपमा अब 'सुपर १०' फर्म्याट, नेपालले सिधै ग्लोबल छनोट खेल्ने

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप क्रिकेटको संरचनामा व्यापक फेरबदल गर्दै नयाँ ढाँचा र छनोट प्रक्रिया सार्वजनिक गरेको छ । स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आइसिसी बोर्ड बैठकले टी–२० र एकदिवसीय विश्वकपलाई अझ बढी प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन नयाँ संरचना अनुमोदन गरेको ।

ncell

यस नयाँ व्यवस्थाअनुसार नेपाली क्रिकेट टोलीलाई ठुलो राहत मिलेको छ भने विश्वकपको मुख्य चरणको प्रतिस्पर्धामा पनि उल्लेख्य परिवर्तन गरिएको छ ।

आइसिसीले सन् २०२८ देखि लागू हुने गरी टी-२० विश्वकपको संरचना परिवर्तन गरेको छ । अब दोस्रो चरणको टोली संख्या आठबाट बढाएर १० पुर्‍याइनेछ ।

अब २० टोलीलाई ५ वटा समूहमा विभाजन गरिनेछ, जहाँ प्रत्येक समूहमा ४-४ टोली रहनेछन् । यसअघि ४ समूहमा ५-५ टोली हुने व्यवस्था थियो । यसले गर्दा समूह चरणका खेलहरू ४० बाट घटेर ३० मा झर्नेछन् ।

प्रत्येक समूहका शीर्ष दुई टोलीहरू 'सुपर १०' चरणमा प्रवेश गर्नेछन् । १० टोलीलाई दुई समूहमा (५-५ टोली) बाँडिनेछ । यस चरणमा खेल संख्या १२ बाट बढेर २० पुग्नेछ ।

सुपर १० का दुवै समूहका विजेताहरू सिधै सेमिफाइनलमा पुग्नेछन् । तर दोस्रो र तेस्रो स्थानमा रहने टोलीहरूले 'क्रसओभर एलिमिनेटर' खेल्नुपर्नेछ । एउटा समूहको दोस्रो टोलीले अर्को समूहको तेस्रो टोलीसँग प्रतिस्पर्धा गरी विजेताले सेमिफाइनलको टिकट काट्नेछ ।

नेपालले सिधै 'ग्लोबल छनोट' खेल्ने

सन् २०२८ को टी-२० विश्वकपका लागि छनोट प्रक्रियामा नेपाललाई विशेष सुविधा प्राप्त भएको छ । नयाँ नियमअनुसार नेपालले अब एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन ।

आइसिसीको निर्णयअनुसार सन् २०२६ को विश्वकप खेलेका तर २०२८ का लागि स्वतः छनोट हुन नसकेका टोलीहरूले सिधै ग्लोबल क्वालिफायर (विश्वव्यापी छनोट) खेल्न पाउनेछन् । नेपालले सन् २०२६ को विश्वकपमा सहभागिता जनाएको आधारमा यो अवसर सुरक्षित गरेको हो । ग्लोबल क्वालिफायरमा क्षेत्रीय छनोटबाट आउने ८ टोली र नेपाल जस्ता स्वतः छनोट भएका टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ ।

१४ टोली सहभागी हुने एकदिवसीय विश्वकपलाई पनि आइसिसीले थप चुनौतीपूर्ण बनाएको छ । यसलाई तीन मुख्य चरणमा विभाजन गरिएको छ ।

पहिलो चरण (सुपर सिरिज)मा वरीयताको पुछारमा रहेका तीन टोली (१२औं, १३औं र १४औं स्थान) बीच 'सुपर सिरिज' हुनेछ, जसको विजेता मात्र अर्को चरणमा जानेछ ।

दोस्रो चरणमा १२ टोलीलाई ६-६ को दुई समूहमा बाँडिनेछ । दुवै समूहका शीर्ष ३-३ टोली र समग्रमा अर्को एक उत्कृष्ट टोली गरी कुल ७ टोली तेस्रो चरणमा पुग्नेछन् ।

तेस्रो चरण (सुपर ७)मा सात टोलीबीच 'राउन्ड रोबिन' आधारमा प्रतिस्पर्धा हुनेछ र शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

एसोसिएट वा सहयोगी राष्ट्रहरूको स्तर उकास्न आइसिसीले १६ टोली सम्मिलित एउटा छुट्टै 'ग्लोबल प्रतियोगिता' को प्रस्ताव गरेको छ । यो प्रतियोगिता टी-२० विश्वकपको पूर्वतयारीको रूपमा आयोजना गरिने लक्ष्य राखिएको छ । यद्यपि, यसको अन्तिम स्वीकृति भने नोभेम्बरमा हुने आइसिसीको बैठकले दिनेछ ।

यस संरचनागत परिवर्तनले उदीयमान राष्ट्रहरूलाई माथिल्लो स्तरमा पुग्न थप अवसर दिने र विश्वकपका प्रत्येक खेललाई अन्तिम समयसम्म अर्थपूर्ण बनाउने विश्वास आइसिसीले लिएको छ ।

सम्बन्धित खबर