२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

'...त्यसैले त उनी फुटबलका राजा हुन्'

Nada
२०८३ असार ३२ गते १२:११
Shares
'...त्यसैले त उनी फुटबलका राजा हुन्'

काठमाडौं : चार वर्षअघि कतारको लुसेल रंगशालामा जब लियोनल मेस्सीले विश्वकपको ट्रफी उचालेका थिए, धेरैलाई लागेको थियो- फुटबलको एउटा महान् अध्यायको सुखद अन्त्य भयो । ३५ वर्षको उमेरमा आफ्नो अन्तिम विश्वकप भन्दै मैदान उत्रिएका मेस्सीले फुटबलमा जित्न बाँकी केही राखेका थिएनन् । तर समय र मेस्सीको जादुबीच एउटा अनौठो साइनो छ । ३९ वर्षको उमेरमा मेस्सी फेरि एक पटक विश्वकपको फाइनलमा पुगेका छन् ।

ncell

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुर्‍याउन उनै 'जादुगर' नायक बनेका छन् ।

खेलको ५५औं मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाउँदा धेरैलाई लागेको थियो- यस पटक इंग्ल्यान्डले इतिहास बदल्नेछ । तर मेस्सीको उपस्थितिमा कुनै पनि नतिजा सुरक्षित हुँदैन । खेलको पछिल्लो ३७ मिनेटमा अर्जेन्टिनाले ८८ प्रतिशत बलमा नियन्त्रण जमायो, जहाँ मेस्सी दायाँ विङबाट मैदानमा हावी भए ।

पूर्व इंग्लिस गोलकिपर जो हार्टले मेस्सीको यो प्रदर्शनलाई अचम्मको उपमा दिएका छन् । हार्टका अनुसार, 'इंग्ल्यान्डले मेक्सिको र नर्वेविरुद्ध गरे जस्तै खेललाई लक गरेको थियो, तर लियोनल मेस्सीसँग त्यो 'स्केलेटन कि' थियो, जसले सबै ढोकाहरू खोलिदिए र अन्तिम १५ मिनेट उनले एक्लै खेल चलाए ।

मेस्सीले खेलमा ९ पटक सफल ड्रिबल गरे र दुई गोलमा असिस्ट गरे । सन् १९६६ यता विश्वकपको नकआउट खेलमा ९ ड्रिबल र दुई असिस्ट गर्ने उनी पहिलो खेलाडी बनेका छन् । विपक्षीको पेनाल्टी बक्सभित्र उनको ७ पटकको टच र उनले सिर्जना गरेका ४ वटा अवसरहरू इंग्ल्यान्डको पूरा टिमको संयुक्त तथ्यांक बराबर थियो ।

यो विश्वकपमा ३९ वर्षीय मेस्सीको तथ्यांक कुनै युवा खेलाडीको भन्दा कम छैन । जारी प्रतियोगितामा ८ गोल गर्दै मेस्सी फ्रान्सका किलियन एमबाप्पेसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । गोल संख्यामा एमबाप्पेसँग बराबरी भए पनि मेस्सीले ४ वटा असिस्ट उपलब्ध गराएका छन्, जसले उनलाई गोल्डेन बुटको दौडमा अगाडि राखेको छ । फिफाको नियमअनुसार गोल बराबर भएमा असिस्ट संख्याको आधारमा विजेता तय गरिन्छ ।

मेस्सीले यसै संस्करणमार्फत विश्वकप इतिहासकै 'अल टाइम टप स्कोरर' को ऐतिहासिक कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । विश्वकपमा उनको कुल गोल संख्या २१ पुगेको छ । मेस्सीले विश्वकपमा गरेका कुल २१ गोलमध्ये १५ वटा गोल ३५ वर्षको उमेर पुगेपछि मात्र गरेका हुन् । यसले मेस्सीको शारीरिक क्षमताभन्दा पनि उनको फुटबलप्रतिको 'जिनियस' र रणनीतिक कौशललाई प्रमाणित गरेको छ ।

मेस्सीका जीवनी लेखक गुइलेम बालागका अनुसार मेस्सीले आफ्नो खेल जीवनमा कम्तीमा पाँच पटक आफूलाई रणनीतिक रूपमा पुनर्जीवित गरेका छन् । यस विश्वकपमा उनले मैदानमा ४७ प्रतिशत समय हिँडेरै बिताएका छन्, जुन कुनै पनि आउटफिल्ड खेलाडीको तुलनामा सबैभन्दा बढी हो ।

तर, पूर्व डिफेन्डर मिका रिचर्ड्स भन्छन्, 'उनी मैदानमा यताउता हिँडिरहन्छन्, तर जब बल उनको खुट्टामा आउँछ, उनी जीवित हुन्छन् । यो प्रतिभा नै खेलको निर्णायक अन्तर हो ।' 

इंग्ल्यान्डविरुद्धको खेलमा मेस्सीले जुन प्रदर्शन गरे, त्यसले मिका रिचर्ड्सलाई एउटा वाक्य बोल्न बाध्य पार्‍यो- 'त्यसैले त उनी राजा हुन् ।'

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीका लागि मेस्सी इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुन् । स्कालोनी भन्छन्, 'उनले आफूलाई प्रमाणित गर्न अब अरु के नै गर्न बाँकी छ र !'

मेस्सी अब ब्राजिलका काफुपछि तीनवटा विश्वकप फाइनल खेल्ने दोस्रो खेलाडी बन्नेछन् । नेपाली समयअनुसार सोमबार बिहान १२:४५ मा न्यु जर्सीमा हुने फाइनलमा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ । यो खेल मेस्सीका लागि भावनात्मक रूपमा पनि विशेष हुनेछ, किनकि स्पेन त्यही देश हो जहाँ उनले बार्सिलोनाका लागि आफ्नो खेल जीवनको अधिकांश समय बिताए ।

३९ वर्षको उमेरमा पनि मेस्सीको जादु रोकिने संकेत छैन । उनले इन्टर मियामी र अर्जेन्टिनाका लागि लगातार १३ खेलमा गोल वा असिस्ट गरेका छन् ।

के सन् २०३० मा ४३ वर्षको उमेरमा पनि मेस्सी मैदानमा देखिएलान् ? यो प्रश्नमा अहिले कसैले 'दिखँदैनन्' भन्न सक्ने अवस्था छैन । किनभने, ८ पटकका बालोन डी'ओर विजेता मेस्सीका लागि असम्भव भन्ने शब्द फुटबलको शब्दकोशमै छैन ।

uae

सम्बन्धित खबर