
काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग पनि पराजित भएको थियो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रनमै समेटियो । कमजोर सुरुवात गरेको नेपालको इनिङ्समा आरिफ शेखले ९० बलमा चार चौकासहित सर्वाधिक ४१ रन बनाए । गुल्शन झाले ४२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २९ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले २१, आसिफ शेखले १४, करण केसीले अविजित १३ तथा सोमपाल कामीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सन्दीप लामिछाने र ललित राजवंशी शून्यमै आउट हुँदा कुशल भुर्तेल ९, ईशान पाण्डे ४ र कप्तान रोहित पौडेल ३ रनमा सीमित भए ।
नेदरल्यान्ड्सका लागि रोलफ भान डर मर्वेले ६.४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । एलेक्स रोयले पनि ३ विकेट हात पार्दा लोगान भान बिकले २ तथा काइल क्लेइनले १ विकेट लिए ।
१५८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै सहज जित निकाल्यो । घरेलु टोलीका कप्तान स्कट एडवाड्र्सले अविजित ६१ रनको जिम्मेवार इनिङ्स खेले भने नोआ क्रोस ३४ रनमा नटआउट रहे । सेड्रिक डे लाङ र जाच लायन कासेटले समान २१–२१ रनको योगदान दिए ।
नेपालका लागि सोमपाल कामी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए भने अर्को विकेट रनआउटमार्फत प्राप्त भएको थियो ।
यस जितसँगै नेदरल्यान्ड्सले २९ खेलबाट ३४ अंक जोड्दै लिग–२ अंकतालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ । नेपाल भने ३० खेलबाट २४ अंकमै सीमित छ ।
लगातार दुई हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटतर्फको यात्रा थप चुनौतीपूर्ण बनेको छ । नेपालले अब शृंखलाको तेस्रो खेल आगामी सोमबार नामिबियासँग खेल्नेछ । त्यसअघि शनिबार नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।