पुस्तक रेग्मी/मध्यान्ह
पोर्चुगल : पोर्चुगलमा रहेका नेपालीहरुको पासपोर्ट बनाउन बढीमा दुई हप्ताभित्र पाँच सदस्यीय टोली एक महिनासम्मका लागि पोर्चुगल आउने भएको छ । पोर्चुगलमा रहेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले यस्तो टोली पठाउन लागिएको परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले जानकारी दिइन् ।
एनआरएनए पोर्चुगललगायत युरोपका एनसीसीहरुको सम्पम्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. पौडेलले सो जानकारी दिएकी हुन् ।
एनआरएनए पोर्चुगल, माल्टा, साइप्रस, क्रोएसिया, चेक रिपब्लिक, पोल्याण्ड, स्पेनलगायत मुख्यरूपमा युरोपमा नेपालीले पासपोर्टसम्बन्धी समस्या झेलिरहेको एनआरएनएका केन्द्रीय उपमहासचिव श्रामशरण सिंखडाले बताए । सिंखडाकै सहजीकरणमा युरोपका नेपालीहरुको समस्या ध्यानाकर्षण र समाधानका उपायहरुका बारेमा परराष्ट्रमन्त्रीसँग छलफल र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
पोर्चुगलका नेपालीहरुको पासपोर्ट बनाउनु पर्ने विकाराल समस्या, पोर्चुगलमा नेपालीहरुको भइरहेको असामयिक निधन र शव व्यवस्थापन सन्दर्भमा एनआरएनए पोर्चुगलको तर्फबाट अध्यक्ष रविन अधिकारी र महासचिव राजकुमार थापाले बुँदागतरूपमा समस्या राख्दै समाधानका लागि आग्रह र माग राखेका थिए ।
यस्तै समस्या र समाधानबारे लिखित ज्ञापनपत्र पठाइने महासचिव राजकुमार थापाले जानकारी दिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठको पनि उपस्थिति थियो ।
मन्त्री डा. पौडेलले आफ्नो मन्तव्यको क्रममा पोर्चुगलमा रहेका नेपालीहरुको हराएका या म्याद सकिएका पासपोर्ट बनाउन एक/दुई हप्ताभित्रै २५ दिनदेखि एक महिनासम्मका लागि ५ सदस्यीय टोली पोर्चुगल पठाइने र उक्त टोलीलाई दूतावासले संयोजन र निरीक्षण गर्ने जानकारी दिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies