२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

वैदेशिक रोजगारीमा नेपाली : विगत र वर्तमान

draupadi film
२०८१ साउन ३० गते ०६:३०
वैदेशिक रोजगारीमा नेपाली : विगत र वर्तमान

–खिमराज गिरी 

भनिन्छ नि, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक सु–सम्बन्धको लागि सबैभन्दा पहिलो सर्त भनेकै रोजगारी या आर्थिक रूपबाट सबल हुनु हो । यदि मानिस आर्थिक रूपबाट सबल हुन सकेको छैन भने समाज तथा परिवारले हेर्ने दृष्टिकोण नै फरक पर्दछ । यसरी मानवसँग रोजगारी र यसको अभ्यासको इतिहास मानव सभ्यताको विकाससँगै जोडिएर आएको पाइन्छ । पहिला–पहिला श्रम तथा रोजगारी भनेको केवल बाँच्नको लागि मात्र भन्ने हुन्थ्यो र मानिसहरूलाई दैनिक आवश्यकताका कुराहरू परिपूर्ति भएमा उ सन्तुष्ट हुन्थ्यो । 

इजिप्टमा लगभग ई.पू. २५८० तिर विविध किसिमका पिरामिडहरूको निर्माण जुन धेरै मजदुरहरूको योगदान रहेको कुरा इतिहासमा लेखिएको छ । त्यस्तै, मध्यकालीन युगमा खास गरी युरोपमा सामन्तवादी प्रवृत्तिको हाबी भएको पाइन्छ । १८ र १९ औँ शताब्दीतिर औद्योगिक क्रान्ति नै भयो र रोजगारीका अवसरहरूमा महत्वपूर्ण परिवर्तनहरू भए । यसको फलस्वरूप कामको खोजीको सिलसिलामा गाउँबाट सहरमा बस्तीको भीड बढ्न थाल्यो । यसको उदाहरणको रूपमा बेलायतमा भएको कपडा उद्योग तथा जर्मनीमा भएको विभिन्न हतियार तथा फलामका सामान बनाउने मेशिनहरूको उत्पादन । जसले गर्दा समाजमा चेतनाको गति वृद्धि हुँदै गयो । 

यसरी हालैका दशकहरूमा इन्टरनेटको आविष्कारले डिजिटल क्रान्ति भयो र संसारका हरेक देशहरूमा प्रायः देशका मानिसहरूको रोजगारीको लागि भीड भएको छ र कयौँ अमेरिका, युरोप तथा एसियाका धनी देशहरू पनि रोजगारीको गन्तव्य स्थलको रूपमा स्थापित भएको पाइन्छ । 

नेपालको अवस्था

नेपालमा पनि रोजगारीको लागि विदेश जाने प्रचलन निकै नै पुरानो इतिहास छ । अरनिकोको पालामा दक्ष नेपाली कालिगडहरू चीनमा गएर आफ्नो कला प्रदर्शन गरी पैसा कमाएर ल्याएको इतिहास पनि छ । अझ प्राचिनकालदेखि नै राम्रो अवसरको खोजीमा प्रायः जसो मुगलान जाने र पैसा कमाएर ल्याउने गरेको पाइन्छ । प्रायः नेपालीहरूको भारत र तिब्बत गन्तव्य स्थल हुने गर्दथ्यो । श्रम स्वीकृति लिनु नपर्ने र खुला सिमाना भएकोले भारत रोजगारीको लागि मुख्य गन्तव्य स्थल बनेको थियो तर, अहिले परिस्थिति भिन्न भएको छ । तैपनि भारतीय सेनामा मात्र लगभग ६५ हजारको हाराहारीमा नेपालीहरू छन् । प्रथम र दोस्रो विश्वयुद्धको समयमा गोर्खालीलाई बहादुर उपमा दिएर पनि विभिन्न देशमा सेनाको रूपमा भर्ती गर्ने चलन थियो ।

यसरी सन् १९७० को दशकदेखि नेपालीहरू रोजगारीको सिलसिलामा खाडी राष्ट्रहरूमा जान थाले । त्यस्तै, सन् १९९० को दशकपछि दक्षिण कोरिया, जापान, जर्मन, फ्रान्स, मलेसिया, कतार, लुकिछिपी अबैधरूपमा रुस तथा कयौँ अफ्रिकी राष्ट्रहरूमा समेत नेपालीहरू रोजगारीको सिलसिलामा जान थालेको पाइन्छ । त्यस्तै नेपालमा प्रजातन्त्र र गणतन्त्र आएपश्चात् नेपाल सरकारले विभिन्न देशसँग श्रम सम्झौता गरेर नै कयौँ नेपालीहरूलाई विदेश पठाउने वातावरण मिलाएको भए पनि अझै अवैध रूपमा खोलिएका म्यानपावर कम्पनी तथा बिचैमा कयौँ बिचौलियाहरूको फन्दामा परेर धेरै नेपालीहरू विदेशमा अलपत्र अवस्थामा परेको खबरहरू पढ्न र सुन्न पाइन्छ । 

यसरी विदेशमा रोजगारीको लागि जाने नेपालीको सङ्ख्या झन् झन् बढ्दो मात्रामा देख्न सकिन्छ । सायद, नेतृत्वकर्ताको भिजन, मिसन तथा निश्चित उद्देश्य नभएर पनि होला । तथापि, यसरी दैनिक हजारौँ मानिसहरू विशेष गरी युवा वर्गहरू रोजगारीको लागि विदेश जानु भनेको हाम्रो श्रम तथा सीपको पलायन हुनु हो र केही वर्ष अगाडि जसरी टर्कीको आर्थिक स्थितिले गर्दा श्वेत पत्र जारी गर्नुपरेको अवस्था थियो सायद त्यस्तै अवस्था नहोला भन्न सकिन्न ।

नेपालमा वैदेशिक रोजगारीको सन्दर्भलाई केलाउने हो भने खासमा विगतदेखि नै वैदेशिक रोजगारी नेपालीको लागि सामाजिक, आर्थिक तथा सांस्कृतिक परिदृश्यको एक महत्वपूर्ण पक्ष बनेको छ । खासमा नेपालको भौगोलिक अवस्था, राजनीतिक अस्थिरता, सामाजिक रीतिरिवाज, चालचलन तथा मान्यता, औद्योगिक विकासमा पछाडि तथा रोजगारीका अवसरहरू प्राप्त हुन नसकेको कारणले नै विगत लामो समयदेखि विदेश पलायन हुने स्थिति देखा परेको हो । नेपालको अर्थतन्त्रलाई केलायौँ भने पनि विप्रेषणको हिस्सा सामान्य छैन । वैदेशिक रोजगारीकै कारण नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा यसैले परिपूर्ति गरेको छ । 

सरकारी निकायबाटै सार्वजनिक तथ्यांकअनुसार गत वर्ष मात्र विदेशबाट करिब १२ खर्ब रुपैयाँ विप्रेषणको रूपमा नेपाल भित्रिएको थियो । जसले घरायसी आम्दानी तथा राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको छ । हाल आएर नेपाल सरकारद्वारा अहिलेसम्म गन्तव्य नदेखिएका कयौँ युरोपियन तथा अफ्रिकी मुलुकहरूमा पनि श्रम सम्झौता र रोजगारीका लागि बजारहरू खुला गरिनुले पनि नेपालीहरूलाई विदेशमा रोजगारीको लागि जाने प्रवृत्तिलाई उत्प्रेरित गरेको छ । यसरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभागले राखेको जानकारीअनुसार हालसम्म विभिन्न देशमा छरिएर रहेका कामदारको सङ्ख्या जम्मा जनसङ्ख्याको करिब १२ प्रतिशत बाहिर रहेको तथ्यांकले बताउँछ । जसअनुसार करिब ३७ लाखको हाराहारीमा मानिसहरू बाहिर रोजगारीको सिलसिलामा छन् । मूख्यतयाः बढी नेपालीहरू रोजगारीको सिलसिलामा रहेका देशहरूमा कतार, साउदी अरेबिया, युएई, मलेसिया, कुवेत, साउथ कोरिया,जापान, बहराइन, ओमन, इजरायल, जोर्डन, लेबनान, भारत र केही युरोपियन तथा अमेरिकन मुलुक तथा अफ्रिकी देशहरू रहेको पाइएको छ । 

अर्कोतर्फ, अध्ययनको सिलसिलामा प्रायः गरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत तथा अन्य केही मुलुकहरूमा विशेष गरी युवा वर्गको आकर्षण बढ्दो छ र उनीहरूको दोहोरो नीति पहिला अध्ययन गर्ने र पछि कामकै सिलसिलामा त्यहाँको नागरिकता लिएर बस्ने मनसाय देखिने भएकोले पनि हाल नेपालमा दैनिक हजारौँ युवाहरू बिदेसिने क्रम जारी रहेको पाइन्छ । पहिला नेपालको सहर बजार भरिनको लागि गाउँ रित्तिए तर, अहिले विदेशमा पढ्न जाने चाहानाले सहर रित्तिन थालेका छन् । यस्तो प्रवाहलाई सरकारको नेतृत्व लिनेहरूले समयमा नै सोचेनन् भने पछिका दिनहरूमा विकराल स्थितिको सिर्जना उत्पन्न नहोला भन्न सकिन्न ।
 
समस्याहरू 

आज रोजगारीको नाममा यहाँका बिचौलिया मोटाउने तर, सम्बन्धित गन्तव्यमा जाँदा न काम, न त माम, न त जीउ ज्यानको सुरक्षा हुने अवस्था पनि देखिन्छ । देखिएका केही समस्याहरूमा उच्च लागत खर्च, बिचौलियाको फन्दामा पर्नु, श्रम स्वीकृतिमा दुबिधा, भनेजस्तो काम नपाउनु, नियामक निकायको बेवास्ता, भरपर्दो बीमाको व्यवस्था नहुनु, ठगीमा पर्नु आदि हुन् । 

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म बैधरूपमा विदेशमा कामको सिलसिलामा रहेका कामदारको सङ्ख्या ३७ लाख ५० हजार बढी छ । जहाँ राम्रो सीप सिकेर जानेको सङ्ख्या निकै न्यून छ भने सीप नसिकी जानेको सङ्ख्या व्यापक छ । जसकारण नै अदक्ष नेपालीहरूले विदेशमा दुःख पाइरहेका छन् । अध्ययन रिर्पोटलाई आधार मान्दा विगत १५ वर्षमा विदेशमा मृत्यु हुने नेपालीको सङ्ख्या १२ हजार पुगेको छ भने घाइतेहरूको सङ्ख्या करिब ७ हजारको हाराहारीमा छ । त्यस्तै, क्षतिपूर्ति पाउनेको सङ्ख्या जम्मा १९ प्रतिशत मात्र छ । बाँकी मानिसहरू कानुनी उपचारको झन्झटमा फसिरहेको अवस्था छ । यसले हाम्रो अवस्थालाई झल्काउँछ । 

विदेश जानुपर्ने कारण

स्वदेशमा रोजगारीको अभाव, राजनीतिक अस्थिरता, सामाजिक रवाफ, आर्थिक हैसियत कायम राख्ने प्रवृत्ति, विदेशमा बढी तलब तथा अन्य सेवा सुविधाहरू नै मूख्यरूपमा देखिएका छन् । सकारात्मक तरिकाले लिने हो भने नेपालमा भन्दा विदेशमा आयआर्जन राम्रै हुन्छ र दुई/चार वर्ष विदेशमा कमाएर ल्याएको पैसाले नेपालमा राम्रै व्यापार बिजनेस गर्न पनि सकिन्छ । साथै, राज्यलाई पनि विप्रेषणको सकारात्मक प्रभाव त पर्ने नै भयो । अर्कोतिर, नकारात्मक असरलाई अध्ययन गर्ने हो भने आज कयौँ नेपालीहरू चर्को ऋण ब्याजमा डुब्नु, विदेशमा अलपत्र पर्नु, पारिवारिक बिछोड, स्वास्थ्यका समस्या, घाइते/अपाङ्ग हुनु, बिचल्लीमा परेर ज्यानै जानु जस्ता धेरै नकारात्मक असर पनि परेको देखिन्छ । 

निष्कर्ष,

वैदेशिक रोजगारी समस्यासँगै अवसर पनि हो । तत्कालै रोजगारीका अवसरहरू सिर्जना गराउन नसकेको परिस्थितिमा वैदेशिक रोजगारी निकै नै राम्रो विकल्प हो । यद्यपि, यसलाई कसरी सुरक्षित बनाउने, कसरी थप लाभदायक बनाउने भन्नेतर्फ सोच्नु आवश्यक छ । जसको लागि सरकार वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउनतर्फ लाग्नै पर्छ । रोजगारीको लागि गन्तव्य देश टुंगो लगाउने, निश्चित मापदण्ड पुगेका म्यानपावर कम्पनीलाई मात्र इजाजत पत्र दिने, मजबुत श्रम कानुन बनाउने, सुरक्षाको प्रत्याभूति दिलाउने, अग्रिम तालिम गरेर मात्र विदेश प्रस्थान गर्ने जस्ता कुरामा कडाइपूर्वक लाग्नुपर्छ । 

वैदेशिक रोजगार दीर्घकालीन समाधान होइन । स्वदेशमै रोजगारी सिर्जना नगरी हामी समृद्धितर्फ अगाडि बढ्न सक्दैनौँ । हाम्रो मुलुकमै उपलब्ध जल, जमिन, जडीबुटी, जङ्गल जनावर आदिको संरक्षण र सदुपयोगमा जोड दिने हो भने रोजगारीका अवसरहरू प्राप्त गर्न सकिन्छ । सरकारको नेतृत्व लिनेहरूले विदेश भ्रमण रमाइलोको लागि मात्रभन्दा पनि त्यहाँको शासन पद्धतिबारे बुझेर नेपालमा राम्रो पक्षलाई लागू गर्ने मनसाय राख्ने, विदेशबाट आएको रेमिट्यान्सको उचित ठाउँमा सदुपयोग गर्ने वातावरण मिलाउन सके अगाडि बढ्न कठिन छैन । भरसक सम्बन्धित निकायले विदेश पलायन हुने स्थितिलाई रोक्ने वातावरण मिलाउनु पर्दछ । वैदेशिक रोजगारीमा गएकालाई पनि स्वदेश फर्काउने र उनीहरूको श्रम र पुँजीको सही सदुपयोग हुने वातावरण सरकारले मिलाउनु पर्छ । 

ADV

सम्बन्धित खबर

Advertise