प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री देउवालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले मत दिएका छन् । नेकपा एमालेका केही सांसदहरुले समेत देउवालाई विश्वासको मत दिए । पुनर्स्थापित संसद्को पहिलो बैठकमै देउवाले विश्वासको मत लिदां विभाजित जसपा समेत एक ठाउँ उभिएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिदै आएका जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले समेत देउवालाई विश्वासको मत दिएका हुन् । निवर्तमान प्रधानमन्त्री ओलीलाई साथ दिने ठाकुर पक्षको निर्णयकै कारण दोस्रो पटक प्रतिनिधिसभा विघटनको बाटो खुलेको थियो भने जसपा समेत विभाजित भएको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले ओलीको विकल्प खोज्नुपर्ने अडान र आन्दोलनमा थियो ।
यसैकारण जसपा विभाजित भयो । जसपा विभाजित हुँदा एमालेको एकता समेत कायम हुन सकेन । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद् जोगाउने पक्षमा उभिए भने ओली संसद् विघटनको बाटोमा लागे । गएको ५ पुसमा संसद् विघटनको असफल प्रयास गरेका ओलीले फेरि ७ जेठमा संसद् भंग गरेका थिए । यसले राजनीतिक स्थीरता सुनिश्चित हुनेगरी बनाइएको संविधान समेत खतरामा परेको थियो । तर ओलीको दुवै कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भएको ठहर गर्यो । संसद् पुनर्स्थापना भयो भने राजनीतिक समीकरण बदलियो । अब संसद्को सवैभन्दा ठूलो दल एमाले प्रमुख विपक्षी दल बनेको छ ।
जबकी एमाले एक्लैसँग सरकार बनाउन लगभग पुग्ने संख्या छ । तर ओलीको संसद् विघटनको मृगतृष्णाका कारण एमाले विभाजित अवस्थामा छ । माधव समूह संसद् पूरा कार्यकाल चलाउने पक्षमा उभिँदा एमाले विभाजित भएको थियो । नभन्दै संसद् जोगिएको छ भने संविधानको सरकार बनाउने धाराहरुको समेत सर्वोच्च अदालतले व्याख्या गरेको छ । अब कुनैपनि प्रधानमन्त्रीले संसदबाट सरकार बन्ने अवस्था रहेसम्म प्रतिनिधिसभा भंग गर्ने सक्ने छैनन् । यसले संविधान कार्यान्वयनमा समेत मद्दत पुगेको छ । यदि संसद् भंग सदर भएको थियो वा देउवाले विश्वासको मत नपाई मुलुक मध्यावधिमा गएका थिए भने कुनैपनि निर्वाचनपछि पूरा कार्यकाल संसद् चल्ने थिएन । यसर्थ संसद् र संविधान जिवित रहेको छ भने अहम्का भरमा कुनैपनि प्रधानमन्त्रीले संसद् भंग गर्न सक्दैनन् भन्ने पुष्टि भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies