
काठमाडौं : बाराकी तीन वर्षीया गरिमा चौधरी गत साउन ३१ गते बिहान साढे ८ बजेतिर घरबाट एकाएक हराइन् । छोरी हराएको तीन घण्टासम्म पनि नभेटिएपछि उनकी आमा मानमतीले सिमरा र पथलैया प्रहरीलाई जानकारी गराइन् । प्रहरीले खोज्छौं भन्ने जवाफ त दिए, तर सकुशल उद्धार गर्न सकेनन् ।
उनको शव तीन दिनपछि भक्तिनगरको एउटा खाली घरको कोठामा भेटियो । बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले छिमेकी २४ वर्षीय प्रोग्रेस चौधरी र अर्का १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र बलात्कारपछि हत्या गरेको खुलेको छ ।
बालिका हराएको बेलैमा जानकारी गराउँदा पनि प्रहरीले तत्कालै गम्भीरताका साथ खोजी नगरेको भन्दै सडकदेखि सदनसम्म विरोध भइरहेको छ । बालिकाका आमाबुवा दुवै सडकमा धर्नामा छन् । उनीहरू गृहमन्त्री, कानुनमन्त्री वा प्रधानमन्त्री आएर बलात्कारविरुद्ध कडा कानुन बनाउने प्रतिबद्धता नजनाएसम्म शव बुझ्न तयार छैनन् । ‘हामीलाई राहत, पैसा केही चाहिएन । अपराधीलाई हदैसम्मको कारबाही होस्,’ बालिकाकी आमा मनमतीले भनिन्, ‘यस्तो कानुन बनोस्, कसैले यस्तो अपराध गर्ने आँटै नगरोस् । हाम्री छोरी त दुष्टले मा¥यो, अब कसैका छोरी नमरून् ।’
बाराकै सांसद रहबर अन्सारी प्रहरीलाई बालिका हराएको जानकारी गराउँदा पनि गम्भीरतापूर्वक खोजतलास नगरिएको बताउँछन् । ‘बालिका हराएको प्रहरीमा जानकारी गराए पनि २४ घण्टासम्म कुनै प्रहरी परिचालन गरिएन,’ उनले भने, ‘शवको गन्ध आएको छिमेकीले ७२ घण्टापछि थाहा पाएपछि बल्ल प्रहरी कुकुर लिएर पुगेका छन् ।’
बाराकी गरिमा मात्र होइन, देशैभर बालबालिका हराउने संख्याको ग्राफ उकालो लागेको छ । तीमध्ये कैयौंको ज्यान जाने, कोही घरेलु कामदार र यौन व्यवसायमा लगाइने गरेको छ । प्रहरीको रेकर्डमा अहिले पनि हजारौं बालबालिका हराइरहेकै छन् ।
५ मंसिर २०८१ मा १५ वर्षकी स्वेच्छा थामी काठमाडौंको टोखाबाट हराइन् । विद्यालय, आफन्त, नाता पर्ने सबै ठाँउमा सोधखोज गरेपछि परिवारले मंसिर १४ गते छोरी हराएको भन्दै आमा मीना थामीले प्रहरीमा उजुरी दिइन् । कालो ज्याकेट, कालो पाइन्ट र चप्पल लगाएकी उनी अहिलेसम्म फेलापरेकी छैनन् ।
त्यस्तै, सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ६ की १० वर्षीया तारा श्रेष्ठ १० माघ २०८१ मा हराइन् । उनी ललितपुरको धोविघाटबाट हराएको भन्दै बाबु गणेश श्रेष्ठले २८ माघमा प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले थामी र श्रेष्ठ दुवैको नाम हराएका बालबालिकाका रूपमा सार्वजनिक त गरेको छ, तर उनीहरूको अत्तोपत्तो लगाउन सकेको छैन ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको बालबालिका खोजतलास समन्वय केन्द्रमा आर्थिक वर्ष २०८२÷८३ मा मात्र ८ हजार ७२४ बालबालिका हराएको उजुरी परेको थियो । तीमध्ये ८ हजार ४३८ बालबालिका फेला पारेको केन्द्रले जनाएको छ । त्यस्तै, २८६ बालबालिका भने अझै भेटिएका छैनन् । उनीहरूको खोजतलास जारी राखेको केन्द्रले जनाएको छ ।
केन्द्रमा बालबालिका हराएको उजुरी मात्र परेका छैनन् । ३८४ जना बालबालिका बेवारिसे अवस्थामा फेलासमेत पारेको छ । तीमध्ये २९५ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । ७९ जना अहिले पनि संस्थाको संरक्षणमा नै छन् ।
नेपाल प्रहरीले आर्थिक वर्ष २०८२÷०८३मा २ हजार २६७ जना बालक हराएकोमा ६० जना अझै नभेटिएको जनाएको छ । तर, हराउने बालिकाको संख्या अझै धेरै छ । प्रहरीका अनुसार, ६ हजार ४५७ जना बालिका हराएकामा ६ हजार २३१ जना फेला परिसकेका छन् । २२६ बालिका अझै बेपत्ता छन् ।
त्यस्तै, आर्थिक वर्ष २०८१÷२०८२मा १ हजार ८९० जना बालक हराएका छन् भने झन्डै चार गुणा बढी अर्थात् ५ हजार ३४२ बालिका हराएका थिए । तीमध्ये ५६८ बालिका र १६२ बालक अझै भेटिएका छैनन् । यस्तै, आर्थिक वर्ष २०८०÷२०८१मा १ हजार ६५६ जना बालक र ४ हजार ६५३ जना बालिका हराएका थिए । तीमध्ये २ हजार १३४ बालिका र ५८७ बालक नभेटिएको प्रहरीको तथ्यांक छ ।
बालबालिका हराउने क्रम बढ्दै गइरहेकोप्रति सरकारी निकायहरूकै मत भिन्न छ । नेपाल प्रहरी हराएर फेला नपर्नुको संख्या धेरै देखिनुमा आफैं सम्पर्कमा आएका वा परिवारको प्रयासले भेटिएकाको विवरण प्रहरीलाई उपलब्ध नगराउनु रहेको दाबी गर्छ ।
बालबालिका हराएको तत्कालै खबर गरिए पनि प्रहरीमाथि गम्भीरताका साथ खोजी नगर्ने गरेको आरोप छ । गरिमा हराएको तीन घण्टाभित्रै प्रहरीमा उजुरी दिँदासमेत प्रहरीले सक्रियता नदेखाएको देखिन्छ ।
राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार, हराएका बालबालिकामध्ये ७० प्रतिशत बालिका छन् । त्यसमा पनि ६० प्रतिशत १४ वर्ष काटेका र १८ वर्षमुनिका किशोरी रहेको पाइएको छ । उनी भन्छन्, ‘बालक हराए भने ढिलोचाँडो घर फर्किन्छ, तर बालिका हराए भने धेरै घर नफर्किएको अवस्था छ ।’ बालिकाहरू किन धेरै हराइरहेका छन् भन्नेबारे राष्ट्रिय तहमै अध्ययन हुनुपर्ने उनी बताउँछन् । ‘बालिकाहरू विभिन्न होटल, डान्सबार र यौन शोषणमा परेको अवस्थामा हामीले उद्धार गरेका छौँ,’ चन्द भन्छन्, ‘तर, सरकारी तहबाट यसको गम्भीर अध्ययन गरिएको छैन ।’ अधिकांश बालबालिका श्रममै प्रयोग भइरहेको अवस्थामा पाइएको उनी बताउँछन् । पारिवारिक कलह, उमेरसँगै बढ्दो महत्त्वाकांक्षा, गरिबी, उपेक्षालगायत कारणले बालबालिका हराउने उनको बुझाइ छ ।
बालबालिका खोजतलास समन्वय केन्द्रका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले भने टिनएजका क्रममा बाटो बिराएर, आमाबाबुसँग टाढिएर बालबालिका आफैं पनि घर छाडेर हिँड्ने गरेको बताउँछन् । ‘कतिपयले नाम, ठेगाना नै परिवर्तन गर्ने गरेको पाइएको छ,’ उनले भने, ‘सीमानाकामा हराउने बालबालिकाको संख्या बढ्दो छ ।’ बालकभन्दा बालिकालाई घरेलु कामदारका रूपमा राख्ने गरिएको छ । त्यसबाहेक कलिला बालिकालाई यौन व्यवसायमा लगाउने गरेको पाइएको उनी बताउँछन् ।
मानवअधिकार आयोगका पूर्वआयुक्त एवं बालअधिकारकर्मी गौरी प्रधान बालबालिका हराउनुमा सामाजिक समस्या, प्राकृतिक प्रकोप, आर्थिक अभावले प्रभाव पारेको बताउँछन् । उनी भन्छन्, ‘सामाजिकअन्तर्गत जातीय आधारमा उपेक्षित गर्ने, शोषण हुने, दिनहुँ आमाबाबुको कलह हुने, बालबालिकामाथि पनि हिंसा हुने पर्छन् । त्यसमा पनि आर्थिक अभावका कारण घर छाड्ने गरेको पाइएको छ ।’ पहिले सशस्त्र द्वन्द्व, त्यसपछि भूकम्प, बाढी प्रकोपलगायतले बालबालिका विस्थापित हुँदा सहरतिर बढी हराउने गरेको प्रधानले बताए ।
‘राम्रो मान्छेले भेट्यो भने उनीहरूको सजिलै पुनस्र्थापना हुन्छ,’ उनले भने, ‘गलत मान्छेले भेट्यो भने शोषण हुन्छ, अन्याय हुन्छ ।’ पछिल्लो समय अभिभावकको बढ्दो
सम्बन्धविच्छेद, वैदेशिक रोजगारीका कारण पारिवारिक विचलन परेको उनी बताउँछन् । ‘घना जंगलमा रहेको बाघ त कता गयो भनेर पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘हराएका बालबालिका खोजतलास गर्न नसकिने होइन । राज्यका निकाय संवेदनशील भइदिनुप¥यो ।’
नानी बोकेर माइतीघर आए आमाहरू
बाराकी तीनवर्षे दुधे बालिकाको बलात्कारपछि हत्या भएको घटनापछि देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । यो घटनाले सबैभन्दा धेरै छोयो, आमाहरूलाई । काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार आमाहरूले प्रदर्शन गरे । भदौरे घाममा छाता ओढेर आएका कैयौंले साना नानीहरूलाई पनि सँगै ल्याएका थिए ।
जितपुर सिमरामा बालिका हराएको केही घण्टामै परिवारले प्रहरीलाई जानकारी गराएको थियो । तर, प्रहरी समयमै सक्रिय नहुँदा घटना घटेको स्थानीयको आरोप छ । त्यसैको विरुद्धमा बारा र काठमाडौंका प्रदर्शनमा महिलाहरूको उल्लेख्य सहभागिता थियो । प्रदर्शनकारीले अहिले भएकोभन्दा कडा कानुनको माग गरेका छन् । स्वतन्त्र आमा नेपालको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा सहभागी आमाहरू काखमा बच्चा लिएर सहभागी थिए । सहभागीले छोरीहरूका लागि सुरक्षित वातावरण गरिदिनुपर्ने, मृतक बालिकाको परिवारलाई न्याय दिनुपर्ने, दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका थिए । प्रदर्शनकारीहरूले ‘बलात्कारीलाई फाँसी दे, १० लाख क्षतिपूर्ति होइन, न्याय चाहियो’जस्ता प्लेकार्डसहित नाराबाजी गरेका छन् । प्रदर्शनमा स्वतन्त्र आमाहरूले बालबालिकामाथि हुने यस्ता जघन्य हिंसाका घटना रोक्न राज्यका निकायहरू अझै संवेदनशील बन्नुपर्ने बताएका छन् ।
उनीहरूले बलात्कार र हत्यामा संलग्न दोषीलाई हदैसम्मको कडा कानुनी कारबाहीको माग गरेका छन् भने घटनामा गम्भीर लापरबाही गर्ने इलाका प्रहरी कार्यालय सिमराका जिम्मेवार प्रहरी अधिकृतहरूमाथि विभागीय तथा कानुनी कारबाही हुनुपर्ने माग गरे ।
साउन ३१ गते बिहान घरबाट हराएकी बालिका भदौ २ गते बलात्कारपछि हत्या भएको अवस्थामा भेटिएकी थिइन् । बालिकाको खोजीमा प्रहरीको कमजोरी भएको भन्दै इलाका प्रहरी कार्यालय सिमराका डिएसपी दिलीप क्षेत्रीलाई जिम्मेवारीबाट हटाएर फिर्ता बोलाइएको छ ।