छिटफुट घटना बाहेक मुलुकभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । बाजुरामा एक जनाको प्रहरीको गोली लागेर मृत्यु भयो भने केही ठाउँमा झडप हुन पुग्यो । त्यसैकारण १५ स्थानको मतदान स्थगित भएको छ । ती ठाउँहरुमा फेरि मतदान हुनेछ । बाँकी क्षेत्रमा भने शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । शान्तिपूर्ण मतदान भएपनि अपेक्षित मत भने खसेन । कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० रहेकोमा ६१ प्रतिशत मात्रै मत खसेको आयोगले जानकारी दिएको छ । यो भनेको अघिल्लो निर्वाचन भन्दा ६ प्रतिशतले कम मत खसेको हो । गएको ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ६६ प्रतिशत मत खसेको थियो ।
तर ६ महिनाभित्रै ६ प्रतिशतले कम मत खस्नुलाई चासोका साथ हेरिएको छ । हुनत स्थानीय चुनाव भन्दा आमनिर्वाचनमा थोरै मत खस्ने पूर्वानुमान नै थियो । तर कम मत खस्नुको अन्तर भने फराकिलो देखिएको छ । कम मत खस्नुसँगै निर्वाचन लगत्तै सार्वजनिक कतिपय एक्जिट पोलहरुको नतिजाले यो निर्वाचनलाई थप उत्सुक बनाएको छ । किनकि प्रारम्भिक प्रतिक्रियाले पुराना दलहरुप्रतिको आकर्षण कम देखिएको छ । मुलुककै नेतृत्व गर्दै आएका दलहरुको साटो नयाँ शक्तिप्रति अनेपक्षित आकर्षण देखिएको ती सर्वेक्षणहरुले देखाएका छन् । तसर्थ पनि अहिले मत कम खस्नुलाई राजनीतिक आकर्षणसँग जोडेर हेरिएको छ । अझ दलहरुले जनताको मन जित्न नसकेको टिप्पणीलाई प्रारम्भिक प्रतिक्रिया र मत कम खस्नुलाई सँगै जोडेर हेरिएको पाइन्छ ।
तर लोकतन्त्रमा जनताले दिएको जनादेशको पालनाको विकल्प छैन । त्यसैपनि अन्तिम मत गणना नै शुरु नभइ गरिएका आशंका र अनुमानलाई अन्तिम मत परिणामले बदल्न सक्छ । यदि त्यस्तो नहुनेको अवस्थामा पनि जनादेश बमोजिम आगामी राजनीतिक कोर्स तय हुनुको विकल्प छैन । पुराना शक्तिहरुप्रति आकर्षण घटेको नतिजा आएमा पनि स्वीकार्नुपर्छ । ती दलहरुले आफूलाई सच्याउनुपर्छ । तर कम कम खसेकोप्रति भने सबै पक्षबाट सचेत छलफल हुन जरुरी छ । धेरै भन्दा धेरै नागरिकको अभिमत लिन सक्दा मात्रै लोकतन्त्र सबल हुन्छ । व्यवस्थाप्रतिको स्वीकार्यता बढेको मानक बलियोगरी स्थापित हुन्छ । अहिलेलाई भने जनादेश मतपेटिकामा परिसकेको छ, जनादेश अनुसार आगामी राजनीतिक कोर्स तय हुन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies