सुमन श्रेष्ठ/मध्यान्ह
काठमाडौं : थाली नाचमा प्रारंगत अहिलेकी व्यस्त नृत्यांगना हुन् एलिजिवा पुर्जा पुन । विशेषतः गण्डकी प्रदेश वरपर थाली नाचको कार्यक्रम अन्यत्र भन्दा बढी नै हुने गरेको पाइन्छ । हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाएको र नाचेकोलाई थाली नाच भनिन्छ । यो नाच अछिल्लो समय सर्वव्यापी बन्दै गइरहेको छ ।
देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलनमा मात्र नभएर विदेशमा समेत थाली नाचको माग बढ्दै छ । वि.स. २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थाली नाच राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो । थाली नाचको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफलमध्यकि एक हुन् एलिजिवा पुर्जा पुन । म्याग्दी, धौलागीरी गाउँपालिका ६ मा २०३० सालमा जन्मिएकी एलिजिवा पुर्जा पुनले गर्ने आकर्षक थालीनाचको माग राजधानीमा हुने सांस्कृतिक कार्यक्रममा मात्र होइन अन्यत्र हुने कार्यक्रममा पनि हुँदै आएको छ ।
नृत्यांगना एलिजिवा भन्छिन्, ‘पहिले चरेसको थाल नचाउने चलन थियो । समय परिवर्तनसंगै अहिले दुबै हातमा स्टीलका थाल राखेर नचाउने गरिन्छ । नृत्यको समयमा थाल भुईमा खसेमा असुभ हुने मान्यता छ ।’
मगर समुदायको मौलीकता झल्कने थाली नाच जो कोहीलाई प्रस्तुत गर्न गाह्रै हुन्छ । उचित प्रशिक्षण पश्चात मात्र यो नाच नाच्न सहन हुन्छ । गीतको सुर तालसंगै हातखुट्टा र शरिरको चाल मिलाउनु पर्ने पृथक पहिचान बोकेको मौलिक थालीनाच अहिले देशका विभिन्न सहर र विदेशमा समेत लोकप्रिय बन्नुमा अग्रजको प्रयासलाई युवा पुस्ताले साथ दिनु रहेको एलिजिवा बताउँछिन् ।
यो नाच शुरुमा कठिन भएपनि अभ्यास गरेपछि गीत र नृत्यमै ध्यान केन्द्रित भएपछि सजिलो हुने बताउने एलिजिवाले जय प्राप्ति म्युजिक अवार्ड २०७९, दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड २०७९ लगायतका सम्मान आफ्नो पोल्टामा पार्न सफल भइसकेकी छन् । झण्डै दुई दशकदेखि थालीनाचमा सकृय रुपले लाग्दै आइरहेकी एलिजिवा मगर संघ सम्पर्क समन्वय केन्द्रीय समिति म्याग्दीकी कोषाध्यक्ष पनि हुन् । आफ्नो जिल्लाको मौलीक संस्कृती संरक्षणमा प्राथमिकता दिँदै आगामी दिनमा पनि यसै क्षेत्रमा निरन्तर लागि रहने उनको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies