२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

कस्टडीमा राखिएका आरोपीको बयान बाहिरिएपछि प्रहरीमाथि नै गम्भीर प्रश्न

Nada
जीवन शर्मा
२०८३ भदौ ८ गते १३:०८
Shares
कस्टडीमा राखिएका आरोपीको बयान बाहिरिएपछि प्रहरीमाथि नै गम्भीर प्रश्न

काठमाडौं : बारामा दुई वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याका मुख्य आरोपी बताइएका नाबालकको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तरंग उत्पन्न भएको छ । प्रहरीको कस्टडीमा लिइएको बयानको अडियो, भिडियो नै बाहिरिनुले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न खडा भएको छ । अनुसन्धानका क्रममा लिइएको भिडियो फेसबुक, एक्स (ट्विटर), टिकटक र रेडिटजस्ता प्लेटफर्ममा भाइरल भएपछि अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको हो ।

ncell

उक्त भिडियोमा आरोपीसँग प्रहरीको उपस्थितिमा घटनाबारे सोधपुछ गरिरहेको देखिएको छ ।  हातमा हत्कडी लगाइएका ती थुनुवा बालकले निर्धक्कसँग आरोप स्वीकार गरेको भिडियोमा प्रष्ट देख्न र सुन्न सकिन्छ ।  उनले गरिमाको बलात्कार र हत्यामा आफू मात्र नभएर थप एक व्यक्ति संलग्न रहेको बताएका छन् । सिमरा चोकमा घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा यो सबै भएको उनको दाबी छ ।

प्रहरी हिरासतमै रहेका बालकको बयान बाहिरिएपछि अनुसन्धान प्रभावित हुने आशंका त बढेकै छ, त्यो भन्दा गम्भीर विषय व्यक्तिको गोपनीयता भंग र गैरकानुनी कार्य भएको छ  । नेपालको प्रचलित कानुनले अनुसन्धानका क्रममा रहेका आरोपीको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक गर्न रोक लगाएको छ । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा १७ ले अनुसन्धानको सिलसिलामा रहेका व्यक्तिलाई सार्वजनिक गर्न नहुने व्यवस्था गरेको छ । उक्त दफामा भनिएको छ, ‘कानुनबमोजिम अनुसन्धानको सिलसिलामा रहेको कुनै पनि व्यक्तिलाई लागेको कसुरका सम्बन्धमा सम्बन्धित निकायमा अभियोगपत्र दायर नभएसम्म निजलाई अधिकारप्राप्त अधिकारीले कुनै पनि तरिकाले सार्वजनिक गर्न वा गराउनु हुँदैन ।’

प्रहरीकै नियन्त्रणमा रहेको अवस्थामा गोप्य रहनुपर्ने भिडियो बाहिरिएपछि मधेश प्रदेश प्रहरीले यस विषयमा आन्तरिक छानबिन अगाडि बढाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले भिडियो चुहावट भएको घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए । ‘यो घटनाका सन्दर्भमा मशेध प्रहरी कार्यालय जनकपुरले गम्भीरताकासाथ लिएर छानबिन अघि बढाएको छ,’ उनले मध्यान्हसँग भने, ‘बयान सार्वजनिक हुनु कानुनविपरीत पनि हो । यस घटनामा संलग्न जोसुकै भएपनि कानुनी कारबाही हुन्छ । भित्रबाटै भएको भए विभागीय कारबाही र बाहिरबाट त्यस्तो भएको भए आवश्यक कानुनी कारबाही हुन्छ । हामी यही घटनाको अनुसन्धानमा केन्द्रित छौं ।’ 

आरोपी किशोरलाई पक्राउपछि मेडिकल चेकअपका लागि कलैया अस्पताल लगिएको थियो । अस्पतालभित्र डाक्टर नभएका बेला आरोपी किशोरसँग अनौपचारिकरुपमा कसैले सोधपुछ गरेर भिडियो बनाएको हुनसक्ने प्रहरीको अशांका पनि छ ।  तर, भिडियोमा प्रहरीसमेत सँगै रहेको देखिएकाले त्यो सम्भावनालाई देखाएर प्रहरी प्रशासन पन्छन मिल्ने अवस्था छैन ।   सार्वजनिक भएको भिडियोमा आरोपी किशोरले घटनाको विवरण दिइरहेका छन् भने नेपाल प्रहरीका कर्मचारीले नै उक्त दृश्य खिचिरहेको प्रस्ट देख्न सकिन्छ । प्रहरीले बयानकर्ता बालकसहित ९ जनालाई पक्राउ गरिसकेको छ ।

भिडियो सार्वजनिक भएपछि गोपनीयता उल्लंघन भएको भन्दै अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरी अधिकारीहरू पनि दबाबमा परेका छन् । बलात्कार र हत्या जस्तो गम्भीर अपराधको अनुसन्धान र कानुनी प्रक्रिया चलिरहेको अवस्थामा अदालतले फैसला नगर्दै नाबालकको बयानको भिडियो सार्वजनीक हुनुको पछाडि प्रहरीकै संलग्नता रहेको आरोप लाग्न थालेको छ । सम्बन्धित सरोकारवालाहरूले यो घटनाप्रति ध्यानाकर्षण गरेका छन् ।  एकद्वार संकट व्यवस्थापन केन्द्रमा यौन हिंसासम्बन्धी घटनामा स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शमा हुने कुराकानी गोप्य राख्नुपर्ने व्यवस्थालाई स्मरण गराएको छ ।

ताजा खबर

सम्बन्धित खबर