२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

नेपाल मोबाइल वितरक संघको दशौं साधारण सभा सम्पन्न

Nada
२०८३ भदौ ८ गते १५:११
Shares
नेपाल मोबाइल वितरक संघको दशौं साधारण सभा सम्पन्न

काठमाडौं : नेपाल मोबाइल वितरक संघको दशौं वार्षिक साधारण सभा आइतबार राजधानीको एभरेस्ट होटलमा भव्य रूपमा सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठीको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

ncell

कार्यक्रममा प्रमुख अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले अवैध रूपमा भित्रिने मोबाइल फोन नियन्त्रण गर्न प्राधिकरण प्रतिबद्ध रहेको बताए । उनले राजस्व नतिरी आयात गरिएका मोबाइललाई सञ्चालनमा रोक लगाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरिने स्पष्ट पारे । सो प्रणाली कार्यान्वयनमा चुनौती आए अन्य उपयुक्त प्रविधि अपनाएर पनि अवैध मोबाइल नियन्त्रण गरिने उनले बताए ।

मोबाइल इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मलहोत्राले व्यवसायीहरूले भोगिरहेको न्यून मार्जिन र मूल्यवृद्धिका कारण आयातमा आएको गिरावटप्रति चिन्ता व्यक्त गरे । बजार सुधार तथा अवैध मोबाइल नियन्त्रणका लागि आयातकर्ता, वितरक र खुद्रा व्यवसायी सम्मिलित विशेष कार्यदल गठन गरिने घोषणा गर्दै उनले समस्याको दीर्घकालीन समाधान खोजिने बताए ।

नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले मोबाइल व्यवसाय क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सबै व्यवसायी एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । उनले विशेषगरी खुद्रा व्यवसायीहरूले दैनिक रूपमा सामना गर्नुपरेका समस्या र न्यून मार्जिनको विषयलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे ।

क्यान महासंघका अध्यक्ष चिरञ्जीवी अधिकारीले बढ्दो साइबर अपराधप्रति चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका लागि विद्यालय तहदेखि नै साइबर सुरक्षा सम्बन्धी शिक्षा आवश्यक रहेको बताए । उनले सरकारी निकाय र नागरिक समाजले संयुक्त रूपमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

संघका निवर्तमान अध्यक्ष दिनेश चुल्याधोले संस्थाको १० वर्षे यात्रालाई स्मरण गर्दै यस अवधिमा मोबाइल क्षेत्रमा देखिएका अवसर, चुनौती र संघको भूमिकाबारे प्रकाश पारे ।

कार्यक्रमका सभापति रघु त्रिपाठीले अवैध मोबाइल कारोबारका कारण राज्यले वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाइरहेको दाबी गरे । उनले सरकारसँग कडा नीति ल्याई अवैध कारोबार नियन्त्रण गर्न आग्रह गरे । साथै, न्यून मार्जिनका कारण व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे ।

देशभरका मोबाइल वितरकहरूको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, मोबाइल आयातकर्ता तथा उत्पादक कम्पनीका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर