२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

असुरक्षित होस्टेल, दुई वर्षदेखि दर्ता न अनुगमन

Nada
सपना बोहरा
२०८३ भदौ ९ गते ०६:२०
Shares
असुरक्षित होस्टेल, दुई वर्षदेखि दर्ता न अनुगमन

काठमाडौं : दाङको घोराही उपमहानगरपालिका–१७ जनप्रिय टोलका २२ वर्षीय वसन्त कालाथोकी फ्रान्स जाने तयारीमा थिए । फ्रान्सेली भाषा सिक्न केही महिनाअघि उनी काठमाडौंमा आए । भनेजस्तो कोठा नपाइने, त्यसमा पनि पढ्ने विद्यार्थीलाई साँझ–बिहान खाना पकाउने, सरसफाइलगायतको झन्झट । काठमाडौंमा सहजै होस्टेल पाइने भएपछि छोराको सहजताका लागि बुवा रोमहर्ष कालाथोकीले शंखमूलस्थित भ्याली ब्वाइज होस्टेलमा राखिदिए । छोरा होस्टेल बसेर भाषा सिक्दै थिए । तर, शुक्रबार साँझ अप्रिय घटना भयो । होस्टेलमा बस्ने साथी–साथीबीच विवाद भयो । विवाद मिलाइदिने कोही भएन । विवाद चर्किंदै गएपछि एक हुल केटाहरू आएर कालाथोकीमाथि आक्रमण गरे । धारिलो हतियार आक्रमणले गम्भीर घाइते भएका कालाथोकीलाई बानेश्वरस्थित सिभिल अस्पतालमा लगियो । उपचारकै क्रममा उनको मृत्यु भयो । 

ncell

छोराको मृत्युको खबर आमाले पनि सहन सकिनन् । उनले पनि आत्महत्या गरिन् । विदेशी भूमिमा पसिना बगाइरहेका रोमहर्षले यी घटना एकैसाथ सुन्नुपर्‍यो । उनी मलेसियाबाट नेपाल फर्किंदै छन् । वसन्तको हत्या आरोपमा सोही होस्टेलमा बस्दै आएका बारा, कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

विद्यार्थीहरूका लागि दोस्रो घर हो, होस्टेल । पछिल्लो समय काठमाडौंलगायत मुख्य सहरी क्षेत्रमा होस्टेल फस्टाएको छ । तर, राम्रो अनुगमन नहुँदा सुरक्षा र अव्यवस्था पनि उत्तिकै बढ्दो छ । 

काठमाडौंको बालकुमारीस्थित न्यु फेमिली गल्र्स होस्टेलमा बस्दै आएका छात्राहरूले खानामा किरा भेटिएपछि गुनासो गरे । त्यसपछि होस्टेल सञ्चालकले उल्टै उनीहरूमाथि दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । 

छात्र–छात्रालाई सुरक्षित आवास र अभिभावकीय वातावरण दिनुपर्ने होस्टेलमै अस्वस्थ खाना, अनावश्यक यातना दिने र रातको समयमा छात्रालाई निकाल्नेसम्मको गम्भीर लापरबाही भेटिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । प्रशासनले उक्त होस्टेललाई तीन लाख रुपैयाँ जरिवाना गर्दै तत्काल सञ्चालनमा रोक लगाई तालाबन्दी गरेको छ । होस्टेलमा पटक–पटक बासी, सडेको तथा किरा परेको खाना खुवाउने गरेको अनुगमनका क्रममा पुष्टि भएको थियो । सामूहिक रूपमा विरोध जनाएका छात्राहरूलाई रातको समयमा होस्टेलबाट निकालिएको थियो । 

गौशाला २६ (परिवर्तित नाम) होस्टेलमै बस्थिन् । सामान्यतया अभिभावकको अनुमतिबिना होस्टेलबाट छात्र–छात्रालाई रातमा बाहिर जान दिइँदैन । तर, होस्टेलबाटै सेलिब्रिटी क्रिकेटरसँग घुम्न निस्केका बेला आफू बलात्कृत भएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी थिइन् । 

यस्ता थुप्रै घटना छन्, जसले डेराको विकल्पमा उदाएका होस्टेल असुरक्षित देखाउँछन् । स्थानीय प्रशासन र महानगरपालिकाले कतिसम्म बेवास्ता गरेको छ भने काठमाडौं उपत्यकामा कति होस्टेल छन् र तिनमा कति विद्यार्थी बस्छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन । जिल्ला प्रशासन, काठमाडौं महानगरपालिका, वडा कार्यालयहरू, नेपाल होस्टेल एसोसिएसन, होस्टेल व्यवसायी संघ कसैले पनि तथ्यांक राखेका छैनन् । 

बिनादर्ता होस्टेल सञ्चालन गर्नु र दर्ता गरेकाले पनि नवीकरण नगर्दा समस्या आएको नेपाल होस्टेल एसोसिएसनका अध्यक्ष नरेन्द्रबहादुर बोहरा बताउँछन् । ‘उपत्यकाबाहिरबाट विद्यार्थीहरू पढ्नका लागि काठमाडौं आउनुहुन्छ । जो विद्यालय पढ्नुहुन्छ, लोकसेवा तथा विदेश जानका लागि तयारी कक्षामा हुनुहुन्छ, उहाँहरूका लागि हो होस्टेल,’ उनले भने, ‘पछिल्लो समय धेरै बेथिति भएकै हो । अनुगमन गर्नुपर्ने निकायले चासो नदिएकै हो ।’ थुप्रै होस्टेल बिनादर्ता, बोर्ड नै नराखी सञ्चालन भइरहेको जानकारी आफूले पाएको बोहरा बताउँछन् । 

विद्यार्थी तथा पेसाकर्मीहरूको आवासको स्तर उकास्ने दृष्टिकोणका साथ घरबाट टाढा रहने सबैका लागि सुरक्षित, स्वच्छ र व्यवस्थित पारिवारिक वातावरण निर्माण गर्न होस्टेल सञ्चालन गरिएको उनी बताउँछन् । उनी भन्छन्, ‘नेपालमा शैक्षिक र व्यावसायिक क्षेत्रको विस्तारसँगै भरपर्दो आवासको आवश्यकता बढ्दै गइरहेको छ । होस्टेल व्यवस्थापन अभ्यासलाई आधुनिकीकरण गर्न, विद्यार्थीलाई उत्कृष्ट बसाइको अनुभव सुनिश्चित गर्न होस्टेल सञ्चालन गरिएको हो । तर, विकृतिहरू आए ।’ दर्ता गरेर राज्यका निकायले अनुगमन गर्नासाथ अहिलेका धेरै समस्या समाधान हुने बोहरा बताउँछन् । 

दुई वर्षदेखि दर्ता छैनन् होस्टेल 

बितेको एक दशकमा काठमाडौंमा होस्टेलको संख्या बढिरहे पनि व्यवस्थित गर्नतर्फ सम्बद्ध निकायको चासो देखिँदैन । होस्टेलको माग कतिसम्म बढ्यो भने होटल घर वा होटललाई नै होस्टेलका रूपमा सञ्चालन गरेकोसमेत पाइएको छ । एउटै कोठामा क्षमताभन्दा बढी पनि बेडहरू राखिएका छन् । होस्टेलहरू नियमन, अनुमगन नहुँदा उच्छृंखल गतिवधि पनि बढ्न थालेका छन् । दुई वर्षदेखि काठमाडौं महानगरले नयाँ होस्टेल सञ्चालनमा कडाइ गरेको छ । तर, होस्टेल सञ्चालकहरूले मापदण्ड नै पूरा नगरी व्यावसायिक रूपमा होस्टेल सञ्चालन गर्दै आएका छन् । 

काठमाडौं महानगरपालिकाले २०८०मा होस्टेल सञ्चालन मापदण्ड ल्याएको थियो । मापदण्डअनुसार, होस्टेलले एउटा कोठामा दुईजनाभन्दा बढी विद्यार्थी राख्न नपाउने, विद्यार्थीको आइडी कार्ड अनिवार्य महानगरलाई बुझाउनुपर्नेलगायत छन् । तर, यी मापदण्डअनुसार अधिकांश होस्टेल सञ्चालनमा छैनन् । मापदण्ड पूरा नगरेका होस्टेललाई महानगरले दर्ता गर्दैन । प्रक्रिया पूरा गर्न होस्टेलले नै मान्दैनन् । दर्ता नभए पनि होस्टेल खुल्ने क्रम भने रोकिएको छैन । 

पछिल्लो दुई वर्षदेखि महानगरले होस्टेल नवीकरण र दर्ता नगरेको होस्टेल व्यवसायी संघ नेपालका अध्यक्ष किरण शर्मा बताउँछन् । ‘व्यवसायीले दर्ता गरेर होस्टेल चलाउँछु भन्दा पनि वडाले नै दर्ता गरेको छैन,’ उनले भने, ‘होस्टेलको अनुगमन भइरहेको छ, प्रक्रियामा लिनका लागि भन्दै महानगरले नै दर्ता नगरेको अवस्था छ ।’ 

शंखमूलमा घटना हुनुअघि १८२ वटा होस्टेल सञ्चालनका लागि अनुमति लिने प्रक्रियामा रहेको उनले बताए । सो क्षेत्रमा मात्र सयको हाराहारीमा होस्टेल सञ्चालनमा रहेको उनले बताए । शर्माका अनुसार, तीमध्ये धेरैजसो गल्र्स होस्टेल छन् । 

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रक्रिया पूरा गरेर सञ्चालनमा आएका होस्टेलहरूको दर्ता भइरहेको बताउँछन् । उनी भन्छन्, ‘होस्टेल सञ्चालन गर्नु सामान्य कुरा होइन, महानगरको होस्टेल मापदण्डको पूरा गरेर आउनुस्, दर्ता हुन्छ ।’ महानगरले होस्टेल मापदण्डअनुसार सञ्चालनमा भए÷नभएको बारेमा अनुगमन गर्दै आइरहेको दाबी गरे पनि व्यवहारमा देखिँदैन । 

मापदण्डअनुसार सुधार गर्न एकमहिने अल्टिमेटम

होस्टेलहरू अव्यवस्थित एवं असुरक्षित भएका थुप्रै घटना बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मापदण्डअनुसार सुधार गर्न एकमहिने अल्टिमेटम दिएको छ ।

होस्टेलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागुऔषधको समेत प्रयोग बढेको जस्ता गम्भीर गुनासा आएपछि प्रशासनले सूचना नै जारी गरेर यस्तो निर्देशन दिएको हो ।

होस्टेलभित्रै झडप भई विद्यार्थीको मृत्युसमेत भएको, सरसफाइ र खानाको गुणस्तर नभएको तथा सुरक्षा प्रबन्ध फितलो रहेको भन्दै प्रशासनले सबै निजी होस्टेल सञ्चालकलाई एक महिनाभित्र तोकिएको २१ बुँदे व्यवस्था मिलाउन निर्देशन दिएको छ । ‘७७ जिल्ला ७५३ स्थानीय तहबाट आउने भविष्य खोज्न आउने विद्यार्थीलाई होस्टेलमार्फत सुविधा दिइरहनुभएको छ,’ प्रमुख जिल्ला अधिकारी ईश्वराज पौडेलले भने, ‘तर पछिल्लो घटनाक्रममा झडप भएर हत्यासम्मको स्थिति हुनु, होस्टेलमै शारिरक यातना दिनु, मध्यरातमा छात्राहरूलाई होस्टेलबाटै निकाल्नु घटनालाई प्रशासनले चुपचाप हेरेर बस्दैन ।’

प्रशासनले जारी गरेको सूचनाअनुसार अब सबै होस्टेलहरूले तोकिएको निकायमा अनिवार्य रूपमा दर्ता एवं नवीकरण गर्नुपर्नेछ भने लाग्ने शुल्क र दररेट सबैले देख्नेगरी पारदर्शी रूपमा प्रकाशन गरी सोहीअनुसार मात्र रकम लिनुपर्नेछ । त्यसैगरी, होस्टेलमा बस्ने विद्यार्थी र सञ्चालकबीच अनिवार्य सम्झौता हुनुपर्ने र अन्य व्यक्तिको घर भाडामा लिएर सञ्चालन गरेको भए सञ्चालकले घरधनीसँग पनि अनिवार्य रूपमा घरभाडा सम्झौता गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कोठा र शौचालयजस्ता संवेदनशील स्थानबाहेक अन्य स्थानको निगरानीका लागि अनिवार्य रूपमा सिसिटिभी जडान गर्नुपर्नेछ ।

होस्टेलमा चौबिसै घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षाकर्मीको व्यवस्था हुनुपर्नेछ भने सञ्चालक, वार्डेन र होस्टेलमा बस्ने सम्पूर्ण विद्यार्थीको अद्यावधिक व्यक्तिगत विवरण नजिकको प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ । यसका साथै, होस्टेलभित्रको आन्तरिक सुरक्षा मजबुत बनाउँदै कुनै पनि प्रकारको लागुऔषध, मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा पूर्ण बन्देज लगाउन प्रशासनले कडा निर्देशन दिएको छ । पूर्वाधारका हकमा महिला र पुरुष दुवैका लागि सञ्चालनमा रहेका होस्टेलहरूले अनिवार्य रूपमा छुट्टाछुट्टै कार्यालय र आवास भवनको व्यवस्था गर्नुपर्नेछ । प्रत्येक कोठाहरू फराकिलो र पर्याप्त हावा–प्रकाश छिर्ने हुनुपर्ने, व्यवस्थित पुस्तकालय र अध्ययन कक्ष हुनुपर्ने तथा शुद्ध पिउने पानी, बिजुली र इन्टरनेटको वैकल्पिक व्यवस्थासमेत गरिएको हुनुपर्नेछ । होस्टेलको सरसफाइ र खाद्यान्नको गुणस्तर कायम गर्नुपर्नेछ भने आपत्कालीन अवस्थाका लागि ‘फायर एक्स्टिंगुइसर’ र प्राथमिक उपचारका सामग्री अनिवार्य राख्नुका साथै आपत्कालीन सम्पर्कका लागि सरकारी निकायका फोन नम्बर सबैले देख्नेगरी टाँस्नुपर्नेछ । तोकिएको एक महिनाको अवधिमा यी सम्पूर्ण मापदण्ड पूरा नगर्ने निजी होस्टेल सञ्चालकलाई कानुनबमोजिम कडा कारबाही गरिने उनले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर