२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाउन डाक्टरकै सिफारिस

संसद् सचिवालयमा बुझाए कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य प्रतिवेदन

Nada
२०८३ भदौ ९ गते ११:५६
Shares
प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाउन डाक्टरकै सिफारिस

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारण खुलाउँदै स्वास्थ्यसम्बन्धी प्रतिवेदन संघीय संसद् सचिवालयमा बुझाएका छन् ।

ncell

स्वास्थ्य समस्याका कारण आफूलाई कालो चस्मा आवश्यक पर्ने भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।

सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति बैठकले सदनमा कालो चस्मा लगाएर उपस्थित हुन नपाउने निर्णय गरेको थियो । तर, स्वास्थ्यसम्बन्धी कारण भए चिकित्सकीय प्रतिवेदनसहित पत्र बुझाउन सकिने व्यवस्था गरिएको थियो ।

सोही निर्णयअनुसार प्रधानमन्त्री शाहले आफ्नो स्वास्थ्य प्रतिवेदन सचिवालयमा पठाएका हुन् ।

प्रतिवेदनअनुसार प्रधानमन्त्री शाहलाई उज्यालो सहन कठिन हुने समस्या तथा आँखा सुक्खा हुने समस्या देखिएको छ । उनले साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए ।

लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेको परीक्षणपछि उज्यालोमा हेर्न असहज हुने भएकाले नियमित रूपमा आइड्रप प्रयोग गर्न तथा आवश्यकताअनुसार कालो चस्मा लगाउनुपर्ने उल्लेख गरिएको छ ।

यसैबीच, बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको छ ।

ताजा खबर

सम्बन्धित खबर