आमनिर्वाचन–२०७९ को अन्तिम नतिजा आउन बाँकी छ । तर जस्तो नतिजा आइरहेको छ, त्यसले थुप्रै सन्देश दिइसकेको छ । यो चुनावबाट फेरि पनि नेपाली कांग्रेस र नेकपा एमालेबीच रहेको प्रतिस्पर्धी शक्ति कायमै रहेको प्रमाणित गरेको छ । नेकपा माओवादी केन्द्रले यसपटक पनि आफूलाई सुधार्न सकेको देखिएन । एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले गठबन्धनको जोडबलमा प्रत्यक्षतर्फ केही सिट जित्ने देखिएपनि राष्ट्रिय शक्ति बन्न कठोर हुने अनुमान गर्न सकिन्छ । २०६४ देखि मधेशमा अलग्गै शक्ति बन्न पुगेको दलहरुले यसपटक नराम्रो पराजय बेहोर्ने लगभग पक्का जस्तै बनेको छ । चुनाव अगाडि नै कांग्रेस र एमाले नेतृत्वको गठबन्धनमा लागेर यी शक्तिहरुले अलग शक्ति नहरने सन्देश दिइसकेको थियो ।
यो चुनावको सबैभन्दा ठूलो सन्देश त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत नै हो । प्रत्यक्षतर्फ समेत केही सिट जित्ने संकेत दिइसकेको यो पार्टीले समानुपातिक तर्फ अनपेक्षित मत पाइरहेको छ । प्रत्यक्ष र समानुपातिक गरी यो शक्तिले राष्ट्रिय दलको मान्यता पाउने लगभग पक्का छ । राप्रपाले पनि फेरि सशक्त बनाउने सन्देश दिइसकेको छ । तर पनि मूल शक्ति भने कांग्रेस–एमाले नै हुनेछ । यी मध्ये एउटा शक्तिले नयाँ सरकार बनाउनेछ । त्यो सरकार संयुक्त हुने सभावना धेरै छ । तर मूल नेतृत्व भने फेरि पनि मुख्य दलका पुरानै नेता हुने बढी संभावना छ ।
यी सबै तथ्यले प्रमाणित गरेको सन्देश भने जनताको भावना बमोजिम काम नगर्नेले अब चुनाव जित्न सकिनेछैन । एमालेले राम्रै मत पाएपनि यसअघि चुनाव जितेका र शीर्ष नेताहरुले दबावमा छन् । मुलुकको महत्वपूर्ण ठाउँमा पुगिसकेका कतिपय नेताहरुले पराजय बेहोरिसकेका छन् । अहिलेकै मन्त्रीहरु मध्ये अधिकांशले अग्रता लिन सकेका छैनन् । नयाँ र स्वतन्त्र उम्मेद्वारले वर्षौ राजनीति गरेकालाई दबावमा राख्नु आफैमा पुरानाले जनताको मन जित्न नसकेको प्रमाण हो । मधेशकै शक्तिको सन्दर्भमा पनि जनतालाई झुटो आश्वासन दिइरहने, तर आफू सत्तामा गइरहने प्रवृत्तिको विरुद्धमा जनादेश देखिएको छ । समग्रमा प्रारम्भिक नतिजाको सन्देश भनेको कार्यसम्पादनमा कमजोर हुनेले यसपटक जित्न सक्ने देखिएन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies