शिवराज परियार/मध्यान्ह
काठमाडौं : प्रारम्भिक नतिजा आउन थालेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह, निर्वाचन क्षेत्र नम्बर ४ बाट गगनकुमार थापा र निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदीप पौडेल निर्वाचित भएका छन् । रसुवा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसकै मोहन आचार्य, मनाङ निर्वाचन क्षेत्र १ बाट टेकबहादुर गुरुङ र मुस्ताङनिर्वाचन क्षेत्र योगेश गौचन थकाली निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा उदयपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका अम्वरबहादुर रायामाझी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ र ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी निर्वाचित भएका छन् ।
प्रदेशसभा तर्फ पनि धमाधम नतिजा आयरहेको छ । जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसदले अग्रता लिइरहेको छ भने समानुपातिक तर्फ एमालेले अग्रता लिइरहेको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । समानुपातिकतर्फ एमालेले डेढ लाख मत पाउँदा कांग्रेस २५ हजार कम मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ६० हजार मत कटाउँदा माओवादी केन्द्र १५ सय दुई हजार मतले पच्छ्याइरहेको छ ।
प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फ पनि मुख्य गरी एमाले र कांग्रेसकै बीचमा प्रतिस्पर्धा छ । कर्णाली प्रदेश सभामा भने माओवादी केन्द्र अगाडि छ । एमाले सचिव योगेश भट्टराई देशका मुख्य शक्ति भनेका कांग्रेस एमाले नै हुन् भन्ने पुष्टि भएको बताउँछन् । यद्यपि, जनताले एमाले र कांग्रेसलाई चेक एन्ड ब्यालेन्स गर्ने नयाँ फोर्स खोजेको उनलाई लाग्छ । उनी भन्छन्, ‘मुख्य दल भनेका एमाले र कांग्रेस नै हुन् । एमाले र कांग्रेसको जनाधार भत्किँदैन, त्यो कायमै हुन्छ । तेस्रो शक्तिमा चाहिँ नयाँ विकल्प खोजेको जस्तो देखिन्छ ।’
नेपाली कांग्रेसका महामन्त्री गगन थापा चुनावी परिणामले देशमा नयाँ सरकारमात्रै नभएर नयाँ चालकसहितको सरकारको अपेक्षा व्यक्त भएको बताउँछन् । काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै महामन्त्री थापाले अहिलेको अवस्थामा मुलुकलाई हाँक्न सक्ने नयाँ चालकको खोजी भएको टिप्पणी गरेका हुन् ।
‘अहिलेको मतपरिणामलाई हेरेर हामी भन्न सक्छौँ, नेपाली जनताले स्थिर सरकारमात्रै खोजेको होइन, अब नेपाललाई हाक्ने नयाँ चालक पनि खोजिरहेका छन्,’ उनले भने । चुनाव अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीकोरुपमा प्रस्तुत गरेका नेता थापाले चुनाव जितेलगत्तै अब पार्टीको संसदीय दलको नेता बन्ने तयारीमा जुट्ने बताए ।
उनी थप्छन्, ‘निर्वाचन भयो, संवैधानिक प्रक्रिया अवरुद्ध हुने कुरा रोकियो । यसबाट आममानिसहरू खुसी छन् । तर, संविधानमा गरिएका बाचाहरू पूरा हुन सकेका छैनन् । त्यसमा उनीहरू आक्रोसित पनि छन् । यो चुनावमा मतदाताले आफ्ना आकांक्षा पूरा गर्न सक्ने नयाँ सरकार खोजेका छन् ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies