
काठमाडौं : सार्वजनिक प्रशासन, सेवा प्रवाह, व्यवस्थापन तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याएका दुई व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको छ ।
नेपाल जन–प्रशासन संघले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले डा. रामकण्ठ माकजु श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान २०८१ र पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई हेमबहादुर मल्ल सम्मान २०८२ प्रदान गरे । दुवैलाई सम्मानपत्रसहित नगद दुई–दुई लाख रुपैयाँ प्रदान गरिएको थियो ।
सम्मान प्रदान गर्दै राष्ट्रपति पौडेलले यस्ता सम्मानले सार्वजनिक तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्न प्रेरणा दिने बताए । उनले राज्य, पेशागत संस्था, सार्वजनिक निकाय र समाजबीचको प्रभावकारी सहकार्यबाट मात्रै न्यायपूर्ण, स्वच्छ, उत्तरदायी र समृद्ध नेपाल निर्माण गर्न सकिने बताए ।
राष्ट्रपति पौडेलले स्वच्छ प्रशासन, उत्तरदायित्वपूर्ण व्यवस्थापन र व्यावसायिक नेतृत्वलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । स्वर्गीय हेमबहादुर मल्लले व्यवस्थापन तथा सार्वजनिक सेवाको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनले उनकै नाममा स्थापित सम्मानलाई निरन्तरता दिनु सकारात्मक र प्रेरणादायी कार्य भएको बताए ।
राष्ट्रपति पौडेलले हेमबहादुर मल्लसँग जोडिएको आफ्नो पुरानो स्मरणसमेत सुनाए । आफू तत्कालीन समयमा कृषिमन्त्री रहँदा मल्लले नेपालमा कफी उत्पादन विस्तार गर्नुपर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको ठूलो सम्भावना रहेको सुझाव दिएको स्मरण गर्दै उनले त्यसपछि कफी विकासका लागि आवश्यक कार्यक्रम अघि बढाइएको बताए ।
नेपाल जन–प्रशासन संघका अध्यक्ष मधु रमण आचार्यले स्वच्छ प्रशासन, उत्तरदायित्व, प्रभावकारी व्यवस्थापन र व्यावसायिक नेतृत्वविना सुशासन तथा दिगो विकास सम्भव नहुने बताए । प्रशासन तथा व्यवस्थापन क्षेत्रमा देखिएका असल अभ्यास, उत्कृष्ट योगदान र अनुकरणीय नेतृत्वको पहिचान तथा सम्मान गर्नु पेशागत संस्थाको महत्वपूर्ण दायित्व भएको उनले उल्लेख गरे ।
कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सञ्चालक समिति अध्यक्ष प्रदीपलाल श्रेष्ठले कर्पोरेशनले व्यावसायिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको बताए । उनले कर्पोरेशनले छ दशकभन्दा लामो समयदेखि आम उपभोक्तालाई दैनिक जीवनमा आवश्यक वस्तु सहज र सुलभ रूपमा उपलब्ध गराउँदै आएको बताए ।
कर्पोरेशनले नुन, चिनी, रासायनिक मल, कागज, दाल, चामल, तेल, मैदा, पिठोलगायतका वस्तु आपूर्ति गर्दै आएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले दुर्गम क्षेत्रमा समेत नुनको अभाव हुन नदिन आपूर्ति तथा भण्डारण व्यवस्थापन गर्दै आएको बताए । जनस्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले तोकेको मापदण्डअनुसार आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको पनि उनले जानकारी दिए ।
सम्मान ग्रहण गर्दै वरिष्ठ चिकित्सक डा. रामकण्ठ श्रेष्ठले सम्मानले आफूले इमानदारीपूर्वक गरेको काम, सेवाप्रतिको प्रतिबद्धता र संस्थागत योगदानको समेत कदर भएको अनुभूति गराएको बताए । उनले सम्मानले आगामी दिनमा अझ जिम्मेवार, समर्पित र प्रतिबद्ध भएर काम गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताए ।
त्यस्तै, अर्का सम्मानित व्यक्तित्व पूर्वसचिव एवं पूर्वमन्त्री रामेश्वरप्रसाद खनालले सार्वजनिक प्रशासन सुधारका लागि पाँच विषयमा विशेष ध्यान दिन आग्रह गरे । नियुक्ति र जिम्मेवारीमा योग्यता तथा इमानदारीलाई प्रमुख आधार बनाउनुपर्ने, प्रविधिलाई पारदर्शिता वृद्धि र भ्रष्टाचार नियन्त्रणको माध्यमका रूपमा प्रयोग गर्नुपर्ने तथा नीति र प्रणालीलाई व्यवहारमै प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो । साथै, इमानदारीको बाटोमा हिँड्ने युवालाई एक्लो महसुस हुन नदिनुपर्नेमा उनले जोड दिए ।
डा. श्रेष्ठलाई धुलिखेल अस्पतालको स्थापना तथा विकासमा पु¥याउनुभएको योगदान, गुणस्तरीय स्वास्थ्य सेवा र संस्थागत विकासप्रतिको प्रतिबद्धताका आधारमा सम्मानका लागि छनोट गरिएको हो । पूर्वसचिव खनाललाई सार्वजनिक प्रशासन तथा सेवा सुधार, नीति निर्माण र सार्वजनिक सेवाका क्षेत्रमा पुर्याएको विशिष्ट योगदानका आधारमा सम्मान गरिएको हो ।
नेपाल जन–प्रशासन संघले साल्ट ट्रेडिङ कर्पोरेशनको आर्थिक सहयोगमा हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ । सम्मान छनोटका लागि नेपाल सरकारका पूर्वसचिव तथा संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
संघका अनुसार २०६० सालदेखि प्रदान हुँदै आएको यो सम्मान यसअघि सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा सार्वजनिक सरोकारका क्षेत्रमा योगदान पुर्याएका २१ जना विशिष्ट व्यक्तित्वलाई प्रदान गरिसकिएको छ । साल्ट ट्रेडिङका तत्कालीन नेतृत्वकर्ता तथा कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको योगदानको स्मरणमा यो सम्मान स्थापना गरिएको हो ।
कार्यक्रममा सार्वजनिक सेवामा कार्यरत तथा अवकाशप्राप्त अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, कूटनीतिक नियोगका अधिकारी र सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।