
काठमाडौँ : र्वोच्च अदालत बार एसोसिएसनअन्तर्गत गठित फैसला अध्ययन समितिले ११ वर्षको अवधिमा सर्वोच्च अदालतबाट भएका महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानुन व्यवसायीलाई अनुरोध गरेको छ ।
समितिले २०७२ वैशाख १ देखि २०८२ चैत मसान्तसम्मका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला अध्ययनका लागि पठाउन आह्वान गरेको हो। प्राप्त फैसलाको अध्ययनपछि तयार हुने प्रतिवेदन सर्वोच्च अदालत बार एसोसिएसनलाई बुझाइनेछ ।
सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतबाट भएका फैसलाको अध्ययन गर्न २०८२ भदौ १३ गते वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिको सहसंयोजकमा वरिष्ठ अधिवक्ता लभकुमार मैनाली छन् । प्रकाशबहादुर केसी, शरदप्रसाद कोइराला, माधवकुमार बस्नेत र कमलप्रसाद इटनी सदस्य छन् भने निर्मलप्रसाद उपाध्यायले सदस्य सचिवको जिम्मेवारी पाएका छन् ।
समितिले सर्वोच्च अदालतबाट भएका तर औपचारिक रूपमा प्रकाशनमा नआएका महत्त्वपूर्ण फैसलासमेत संकलन गर्ने जनाएको छ । त्यस्ता फैसलासहित उपलब्ध सामग्रीको अध्ययन तथा विश्लेषण गरी समितिले प्रतिवेदन तयार पार्नेछ ।
सर्वोच्च अदालतका कतिपय फैसलामाथि समय-समयमा सार्वजनिक तथा कानुनी क्षेत्रबाट प्रश्न र आलोचना उठ्ने गरेका छन् । यसअघि पनि फैसला अध्ययनका लागि समिति गठन गर्ने घोषणा भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको सन्दर्भमा सर्वोच्च बारले यसपटक औपचारिक रूपमा फैसला संकलन अघि बढाएको हो ।