काठमाडौं : बहालवाला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसहित २०६२/०६३ पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालेका चार जना पूर्व श्रममन्त्रीहरु यसपटक प्रतिनिधिसभाका लागि निर्वाचित भएका छन् ।
बहालवाला श्रममन्त्री कुँवर अछाम क्षेत्र नं १ बाट नेकपा एमालेका उम्मेदवार झपट बोहरालाई हराउँदै प्रतिनिधिसभाका लागि निर्वाचित भए । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य रहेका कुँवरले निकटतम प्रतिस्पर्धी बोहरालाई ४ हजार ४ सय बढी मतले हराए । मन्त्री कुँवर १९ हजार ५ सय ३४ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी बोहराले १५ हजार ४५ ल्याए ।
यस्तै निवर्तमान श्रममन्त्री कृष्ण कुमार श्रेष्ठ बारा ४ बाट निर्वाचित भएका छन् । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन् । निवर्तमान मन्त्री श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याउँदा मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे । श्रेष्ठ यसअघि तनहुँबाट नेकपा एमालेबाट निर्वाचित भएका थिए । गठबन्धनका कारणले त्यहाँ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई छाडेर नयाँ निर्वाचन क्षेत्रमा जाँदा पनि श्रेष्ठ अब्बल देखिए ।
त्यस्तै पूर्व श्रममन्त्री रमेश लेखक सुदूरपश्चिम प्रदेशको कञ्चनपुर क्षेत्र नं ३ बाट निर्वाचित भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री लेखकले ३० हजार ५२३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् ।
यसैगरी पूर्व श्रममन्त्री एवं एमाले सचिव गोकर्ण विष्ट गुल्मी क्षेत्र नं २ बाट नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीलाई दुई हजार बढी मतान्तरले हराएर विजयी भएका छन् । विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे भने झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन् ।
यस्तै पूर्व श्रम राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ मनाङबाट निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई पराजित गरे । गुरूङले २ हजार २५ मत प्राप्त गरे भने पोल्देनले १ हजार ८ सय ३० मत प्राप्त गरे ।
यता कैलाली ३ बाट चुनाव लडेका पूर्व श्रममन्त्री गौरीशंकर चौधरी नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीसँग पराजित भए । चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १ सय २० मत प्राप्त गरे ।
पूर्व श्रममन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार दीपक बोहोरा रुपन्देही ३ बाट प्रतिस्पर्धामा छन् । गृहमन्त्री बालकृष्ण खाँणसँग नेकपा एमालेको तालमेलमा प्रतिस्पर्धामा रहेका बोहोरा दोस्रो स्थानमा छन् ।
यसैगरी पूर्व श्रममन्त्री लेखराज भट्ट पनि निकटकम प्रतिस्पर्धीको रुपमा छन् । कैलाली–४ बाट एमाले उम्मेदवार बनेका भट्टले नेपाली कांग्रेसका बिरबहादुर बलायरलाई करिब दुई हजार मतको अन्तरले पछ्याइरहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies