यो चुनावबाट राजधानी उपत्यका सहित शहरी क्षेत्रमा नयाँ जनादेश आएको छ, नयाँ दलको अनुमोदन । राजधानी उपत्यकामा त भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले १५ मध्ये ५ सिट जित्ने देखिएको छ । काठमाडौंमा चार र ललितपुरमा घण्टी चिन्ह लिएर उठेका उक्त पार्टीका उम्मेद्वारले ठूला दलहरुविरुद्ध जित निकाल्दैछन् । समानुपातिक तर्फ पनि राजधानीमा यो पार्टी सवैभन्दा ठूलो दल बन्ने संभावना छ । राजधानी बाहेक चितवन–१ र २, सुनसरी–२ मा पनि यो पार्टीको अग्रता छ । अन्य निर्वाचन क्षेत्रमा पनि उत्साहजनक मत पाएको छ । स्थानीय चुनावमा राजधानी काठमाडौं, धरान उपमहानगर, धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेद्वारले जितेपछि देखिएको उत्साहकै जगमा यो पार्टी खुलेको थियो ।
रवि लामिछाने नेतृत्वको यो पार्टीले समानुपातिकतर्फ तेस्रो स्थानमा मत पाइरहेको छ । प्रत्यक्षमा माओवादी केन्द्रले तेस्रो स्थान लिइरहेपनि समानुपातिकमा घण्टीले उछिनिरहेको छ । यदि यही निरन्तरता अन्तिम हुने भयो भने लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय राजनीतिमै निर्णायक हुने संभावना छ । राप्रपाले पनि यसपटक उत्साहजनक मत पाइरहेको छ । प्रत्यक्षतर्फ एक सिट जितिसकेको राप्रपाले पाँच क्षेत्रमा अग्रता बनाइरहेको छ । समानुपातिकमा पनि राम्रै मत पाइरहेकाले यो पार्टीको पनि उपस्थिति राम्रै हुने देखिन्छ । यसको प्रभाव भने नेपाली कांग्रेस, नेकपा एमाले जस्ता ठूला दलमा परेको छ । कुनैपनि दलले बहुमत नल्याउने देखिन्छ ।
यसको अर्थ चुनावी जनादेश बमोजिम राजनीतिमा नयाँ शक्तिको उदय भएको छ । सानै संख्यामा भएपनि यो शक्तिलाई दलहरुले नजरअन्दाज गरेर अगाडि बढ्ने अवस्था देखिदैन । यसको बिपरीत यो नयाँ शक्तिको दायित्व र कार्यभार पनि धेरै हुनेछ । मुलुकको राजनीतिलाई सही दिशामा लैजान र जनभावना बमोजिम आफूलाई प्रस्तुत गर्नुपर्नेछ । यदि त्यसो हुन नसकेमा नयाँ पार्टीसँगै फेरि एकपटक जनता निराश हुनेछन् । त्यसैले नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई सधैं जनताका भावनामा खरो उत्रनुपर्नेछ । ठूला दलहरुले जस्तो गल्ती गरेका छन्, त्यो गल्ती दोहो¥याउने छुट छैन । विशेषगरी यो पार्टीका नेताहरुले व्यक्तिगत आँचरणलाई ध्यान दिनुपर्नेछ । किनकि पुराना दलका नेताहरुकै व्यक्तिगत कमजोरीलाई लिएर यो पार्टीले प्रचार सामग्री बनाएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies