तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दै अंक बाँडेका छन् । अल बायत स्टेडियममा बुधवार भएको खेलमा मोरक्को र साबिकको उपविजेता क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
त्यसैगरी बुधबारै खलिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा एसियाली मुलुक जापानले जर्मनीलाई २-१ को गोल अन्तरले हराएको छ । जापानले चार पटकको च्याम्पियनमाथि पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो । खेलको ३३ औँ जापानी गोलकिपर शुइचीगोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि पाएको पेनाल्टीमा इल्के गुन्डोगानले गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका थिए ।
खेलको ७५ औँ मिनेटमा सब्सिच्युडको रूपमा मैदान प्रवेश गरेका रित्सु डोनले गोल गर्दै जापानलाई १-१ को बराबरीमा ल्याए । तानकाको स्थानमा मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् । त्यसपछि खेलको ८३ औँ मिनेटमा अर्का सब्सिच्युड खेलाडी ताकुमा असानोले गोल गर्दै जापानलाई २-१ को जित दिलाए । जर्मनी दोस्रो पटक विश्वकपको पहिलो खेलमा पराजित भएको हो ।
बुधबार राति नै अल थुमामा स्टेडियममा भएको अर्को खेलमा स्पेनले कोस्टारिकालाई ७-० गोल अन्तरले हराएको छ । पहिलो पटक विश्वकपमा स्पेनले ७ गोलको फराकिलो जित निकालेको हो ।स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई, डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाले एक एक गोल गरे । ओल्मोको विश्वकपमा स्पेनको १०० औँ गोल हो ।
बुधबार राति नै अहमद बिन अलि स्टेडियममा भएको अर्को खेलमा क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले सुखद सुरुवात गरेको छ । बेल्जियमको जितमा एक मात्र गोल मिसी बात्सुयीले ४४ औँ मिनेटमा एल्डर वेइरेल्डको पासमा गरेका हुन् । क्यानडा पेनाल्टीमा चुक्दा सुरुवाती अग्रता बनाउन असफल भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies