२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

रसुवा बाढीले बैंकिङ संरचनामा गम्भीर असर, कर्मचारीको अवस्थाबारे अझै यकिन हुन सकेन

Nada
२०८३ भदौ १० गते १३:२७
Shares
रसुवा बाढीले बैंकिङ संरचनामा गम्भीर असर, कर्मचारीको अवस्थाबारे अझै यकिन हुन सकेन

काठमाडौँ : रसुवामा आएको बाढीका कारण जिल्लाका बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न वाणिज्य बैंकका नौ शाखा कार्यालयमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । प्रभावित शाखाहरूका भौतिक संरचना तथा कार्यालय सामग्रीमा समेत व्यापक क्षति भएको बताइएको छ ।

ncell

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका नौवटै बैंक शाखा प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । केही कार्यालय पूर्ण रूपमा बगाएको तथा कतिपय संरचना गम्भीर रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताएका छन् ।

बाढीका कारण सञ्चार सम्पर्क अवरुद्ध हुँदा शाखाहरूमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्न कठिनाइ भइरहेको संघले जनाएको छ । प्रभावित बैंकका कार्यालयमा कार्यरत कर्मचारीमध्ये आधाभन्दा बढी अझै सम्पर्कमा आउन नसकेको जानकारी पनि दिइएको छ ।

केही कर्मचारीले भने सम्पर्क स्थापित गरी आफूहरू सुरक्षित रहेको जानकारी गराएका छन् । उनीहरूबाट कार्यालय तथा कार्यस्थलको संरचना भने नरहेको वा बाढीबाट क्षतिग्रस्त भएको विवरण प्राप्त भएको अध्यक्ष कोइरालाले बताएका छन् ।

प्रभावित क्षेत्रमा नबिल बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकलगायतका वाणिज्य बैंकका शाखा सञ्चालनमा रहेका थिए । हाल सम्बन्धित बैंकहरूले क्षतिको वास्तविक अवस्था पहिचान तथा विवरण संकलन गर्ने काम अघि बढाइरहेका छन् ।

बैंकिङ क्षेत्रले प्रभावित कर्मचारीको अवस्था यकिन गर्न तथा आवश्यक उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ । सञ्चार तथा यातायात सम्पर्क सहज भएपछि शाखागत क्षति र कर्मचारीको अवस्थासम्बन्धी विस्तृत विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर