
काठमाडौं : रसुवामा आएको भीषण बाढीपछि ३८४ जना नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी, गाइड, स्थानीय तह र सुरक्षा निकायबाट प्राप्त विवरणका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक छन् । बाढीका कारण उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको जनाइएको छ ।
प्राप्त विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना, लिफ होलिडेजका ५५ जना, कैलास जर्नीका ३१ जना र ट्रेकर्स सोसाइटीका ९२ जना पर्यटक सम्पर्कविहीन छन् ।
त्यस्तै, हिमालयन ग्लेसियरबाट ५२ जना, फिस्टेल टुर्स एन्ड ट्राभलबाट २७ जना, अल्पाइन इको ट्रेकबाट २० जना, काठमाडौं होलिडेजबाट १७ जना र रिचा टुर्स एन्ड ट्राभल्सबाट १२ जना सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ । एक्स्प्लोर भ्याकेसनबाट गएका ७ नेपाली पर्यटक पनि सम्पर्कमा छैनन् ।
पर्यटन बोर्डले सम्बन्धित ट्राभल एजेन्सी, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी पर्यटकको अवस्थाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ ।