
रौतहट : गढीमाई नगरपालिका–९ इनर्वामा ब्रह्मबाबा मन्दिर निर्माणको विषयलाई लिएर दुई पक्षबीच विवाद चर्किएको छ । निर्माणाधीन मन्दिरको संरचना रातिको समयमा तोडफोड भएपछि स्थानीयबीच तनाव बढेको हो ।
स्थानीयका अनुसार चन्दा तथा जनश्रमदानबाट निर्माण भइरहेको मन्दिरको पिलर र टाइबिम सोमबार राति अज्ञात समूहले भत्काएको थियो । घटनापछि आक्रोशित स्थानीयको समूहले मन्दिर तोडफोडमा संलग्न भएको आशंका गरिएका शंकर साह, उनका छोराहरू राकेश साह र विवेक साहलगायतका घरमा समेत तोडफोड गरेको बताइएको छ ।
मन्दिर निर्माण समितिका अनुसार मन्दिरको नाममा रहेको करिब तीन कठ्ठा जग्गा लामो समयदेखि केही व्यक्तिले प्रयोग गर्दै आएका थिए । पुरानो संरचनामा क्षति पुगेपछि स्थानीयको भेलाले अतिक्रमित जग्गा खाली गराएर व्यवस्थित मन्दिर निर्माण गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार महेन्द्र प्रसाद यादवको अध्यक्षतामा निर्माण समिति गठन गरिएको थियो । समितिको पहलमा केही जग्गा खाली गराई कम्पाउन्ड वाल र पिलर निर्माणको काम अघि बढाइएको थियो ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष यादवले शंकर साह, राकेश साह र गम्भीरा साहलगायतले मन्दिरको जग्गा लामो समयदेखि प्रयोग गर्दै आएको आरोप लगाए । उनका अनुसार पटक–पटकको छलफलपछि केही जग्गा खाली गरिएको थियो र त्यही स्थानमा मन्दिरको संरचना निर्माण भइरहेको थियो ।
समितिका सचिव तथा वडा सदस्य जगदीश पण्डितले जग्गा खाली गर्ने विषयमा शंकर साह र राकेश साहले यसअघि सहमति जनाएर हस्ताक्षरसमेत गरेको दाबी गरे । पछि सहमतिबाट पछि हटेर मन्दिरको संरचना तोडफोड गरिएको उनको आरोप छ ।
तोडफोडपछि मन्दिर निर्माणको काम रोकिएको छ । प्रशासनसँग छलफल गरी सुरक्षाको सुनिश्चितता भएपछि मात्रै निर्माण अघि बढाइने समितिले जनाएको छ ।
समितिले जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र बुझाउने तयारीसमेत गरेको छ । ज्ञापनपत्रमा बाँकी अतिक्रमित जग्गा खाली गराउनुपर्ने, मन्दिर तोडफोडमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने र निर्माणस्थलमा सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग राखिने जनाइएको छ ।
मन्दिरको संरचना तोडफोड र त्यसपछि निजी घरमा भएको क्षतिले गाउँमा तनावको अवस्था सिर्जना भएको छ । घटनामा संलग्न व्यक्तिबारे प्रहरी तथा प्रशासनको आधिकारिक अनुसन्धानपछि मात्रै वास्तविक तथ्य खुल्नेछ । यसैबीच, स्थानीय बुद्धिजीवीहरूले धार्मिक तथा जग्गासम्बन्धी विवादलाई कानुन हातमा नलिई प्रशासनको रोहवरमा वार्ताबाट समाधान गर्न आग्रह गरेका छन् ।