२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

विपद् व्यवस्थापनमा जुट्न कांग्रेसको आह्वान, पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

Nada
२०८३ भदौ १० गते १७:३७
Shares
विपद् व्यवस्थापनमा जुट्न कांग्रेसको आह्वान, पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

काठमाडौं : नेपाली कांग्रेसले देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै आफ्ना सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेको छ ।

ncell

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उद्धार र राहत कार्यमा केन्द्रित हुन सरकार तथा मातहतका सबै निकायलाई अपिल गर्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेको जानकारीअनुसार विशेषगरी रसुवा जिल्ला लगायतका क्षेत्रमा आएको आकस्मिक बाढीले पुर्‍याएको अपूरणीय जनधनको क्षतिप्रति काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

अर्बौंको भौतिक संरचना नष्ट भएको र धेरै नागरिक बेपत्ता भएको यस संकटको घडीमा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र सुरक्षा निकायलाई एकतावद्ध भई उद्धारमा जुट्न कांग्रेसले आह्वान गरेको छ ।

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा प्रभावकारी समन्वय र सहजीकरणका लागि रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहन आचार्यको संयोजकत्वमा ‘विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ । यस समितिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका केन्द्रिय सदस्य, जिल्ला सभापति, बागमती प्रदेशका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरू रहेका छन् । समितिको सदस्य सचिवमा मानबहादुर थापालाई नियुक्त गरिएको छ ।

बैठकले पार्टीका सबै तहका संरचना, भ्रातृ संस्था तथा शुभेच्छुक समाजलाई प्रभावित क्षेत्रमा खटिन निर्देशन दिएको छ । नागरिकको ज्यान जोगाउन, घाइतेको उपचार गर्न र बेपत्ताहरूको खोजीमा सक्रिय भुमिका खेल्न पार्टीले आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरेको छ । साथै, सूचना आदानप्रदान र सहयोगका लागि केन्द्रदेखि जिल्ला तहसम्म ’हेल्प डेस्क’ स्थापना गर्ने निर्णय समेत भएको छ ।

राष्ट्रिय शोक र संकटको यस समयमा काँग्रेसले भदौ ११ गतेका लागि तय गरिएको ‘महिला उद्यमशीलता सम्मेलन’ र ‘ग्रिन टी विचार श्रृङ्खला’ लगायतका सम्पूर्ण कार्यक्रमहरू एक हप्ताका लागि स्थगित गरेको छ ।नेपाली काँग्रेसले विपद्को यस घडीमा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सरकारी स्रोत र साधनको अधिकतम प्रयोग गरी नागरिकको जिउधनको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति गगनकुमार थापाले रसुवा बाढी विपद्बाट सिर्जित संकट व्यवस्थापन र राहत वितरणलाई व्यवस्थित बनाउन ‘विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरिएको जानकारी दिए ।

पार्टीका सांसद मोहन आचार्यको संयोजकत्वमा गठित उक्त समितिमा प्रभावित जिल्लाका पार्टी सभापतिहरू, प्रदेश तथा सङ्घीय सांसदहरू र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूलाई समावेश गरिएको छ । आवश्यकताअनुसार पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरूलाई पनि यसै समितिमा जोडेर अघि बढ्ने निर्णय गरिएको छ ।

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कांग्रेसले केन्द्रीय कार्यालयमा तत्कालै एक ‘सूचना तथा समन्वय डेस्क’ स्थापना गर्ने भएको छ । कार्यवाहक मुख्यसचिव मानबहादुर थापाको नेतृत्वमा रहने यस डेस्कले नुवाकोट, धादिङ र रसुवालगायतका प्रभावित जिल्लाका स्थानीय तह र वडा तहसम्मका प्रतिनिधिहरूसँग समन्वय गरी वास्तविक तथ्यांक संकलन गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर