सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट, ८ मंसिर । रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् । उनी ३२ हजार ४ सय ३७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५ हजार २ सय मत प्राप्त गरेका थिए ।
प्रतिनिधिसभा सदस्यामा निर्वाचित साहले निकटतम् प्रतिस्पर्धी जैसवाललाई ७ हजार २ सय ३७ मतान्तरले पराजित गरेका छन् । यस क्षेत्रबाट निरन्तर जित्दै आएका साहको यो लगातार चौथो जित हो । यस्तै, प्रतिनिधिसभाका अर्का उम्मेदवार नेकपा माओवादी केन्द्रका रविन्द्र पटेलले ८ हजार ५ सय ५८ मत प्राप्त गरेका थिए ।
सत्ता गठबन्धनले सघाउने भने पनि साहविरुद्ध कांग्रेस, एकीकृत समाजवादी, नेकपा एमाले र जसपाका उम्मेदवारले मोर्चाबन्दी गरेको साह निकट कार्यकर्ताहरूले आरोप लगाउँदै आएका छन् ।
नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दिएका थिए । जसपाको भागमा परेको मधेश प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभा तर्फ ८ र प्रदेशसभा तर्फ १७ गरी २५ जनालाई साहले आफ्नो टिमबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसदको सदस्य बनेका थिए । संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भए । तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहको सांसद पद खारेज भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies