२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

पूर्वानुमान न पूर्वसूचनाले गम्भीर क्षति

Nada
सपना बोहरा
२०८३ भदौ ११ गते ०६:२०
Shares
पूर्वानुमान न पूर्वसूचनाले गम्भीर क्षति

काठमाडौं : बिहान करिब ८ बजेसम्म रसुवाको जनजीवन सामान्य थियो । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी क्षेत्रमा अचानक भीषण बाढी आयो । रसुवागढी नाकाका प्रहरीले जानकारी पाएलगत्तै पूर्वसूचना गर्न नभ्याउँदै आएको बाढीले त्यहाँ कार्यरत प्रहरी नै बेपत्ता पार्‍यो । 

ncell

रसुवागढी नाकादेखि २० किमि उत्तरपूर्वमा हिमचट्टान पहिरोका कारण रसुवामा एक्कासि ठुलो बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको ठम्याइ छ । ‘नेपाल–चीन सिमानामा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ,’ प्राधिकरणले भनेको छ ।

बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सौहार्द जोशीका अनुसार, बाढीको बहाव र गति अत्यन्त तीव्र थियो । यो बाढी चीनको तिब्बती क्षेत्रबाट मात्र २० देखि २५ मिनेटमा नेपाली सीमा क्षेत्रमा आइपुगेको थियो । सीमा क्षेत्रमा आइपुगेपछि यसले १० देखि १५ मिनेटमा १२ देखि १५ किलोमिटरको दूरी पार गर्दै तल्लो तटीय क्षेत्रमा प्रभाव पारेको छ । नेपाली नाकामा रहेको रसुवागढी नाकाको खोला नाप्ने केन्द्र (स्टेसन)मा ८ः४०मा बाढी प्रवेश गरेको रेकर्ड गरिएको छ । ‘बाढी एकैचोटि निकै ठुलो उचाइ र वेगमा आएका कारण यसको असर बढी देखिएको हो,’ उनले भने । बाढीको पूर्वसूचना समयमै पाउन नसक्नुमा भौगोलिक विकटता मुख्य कारण रहेको जलविज्ञ जोशीले बताए । 

‘हिमताल भएको क्षेत्र अत्यन्त दुर्गम र विकट भएकाले चीन सरकारलाई समेत तत्काल सूचना प्राप्त गर्न कठिन छ,’ उनले भने, ‘बाढीको बहाव तीव्र गति भएकाले पूर्वसूचना दिने समय नै भएन ।’ बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । 

‘कतिबेला हिमताल विस्फोट हुन्छन् भन्ने ठ्याक्कै पूर्वानुमान गर्ने प्रविधि हालसम्म विकसित छैन,’ उनले भने, स्याटेलाइट तस्बिरहरू पनि त्यही समयमा उपलब्ध हुँदैनन् ।’ विभागले स्याटेलाइट तस्बिरहरूको तुलनात्मक अध्ययन गरेर बाढीको वास्तविक कारण पत्ता लगाउने प्रयास गरिरहेको उनले बताए । 

नेपाल बाढी सूचनाका सहायक जनवैज्ञानिक प्रभाकर यादवका अनुसार, स्थानीय वर्षाका कारण आउन सक्ने सामान्य बाढीबारे सूचनाहरू भए तापनि यो अचानक आएको बाढीबारे कुनै पूर्वानुमान गरिएको थिएन । तिब्बती क्षेत्रमा अचानक पहिरो गएर खोला थुनिएको र पछि उक्त बाँध फुट्दा अचानक बाढी आएको हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए । 

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार, यो बाढी हिमताल विस्फोटन वा हिमपहिरोमध्ये कुनै एक कारणले आएको हुनसक्ने प्रारम्भिक अनुमान छ । भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी हुँदै त्रिशूली किनाराका बजार र बस्तीहरूलाई तहसनहस पारेको छ । तल्लो भेगमा राजमार्गका कैयौं भाग र पक्की पुलसमेत क्षतिग्रस्त बनाएको छ । भोटेकोशीमा बाढी देखिए पनि त्यसको उद्गम थलो ल्हेन्दे खोला हुनसक्ने कतिपय विशेषज्ञहरूको अनुमान छ ।

नदीआसपासका केही गाउँदेखि जलविद्युत् आयोजनाहरू, टिमुरे भन्सार कार्यालय र थुप्रै घर तथा पुलहरूको भौतिक संरचना ध्वस्त पारेको छ । मानवीय क्षति र भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन । भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम देखिएको हुँदा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र नागरिकलाई सुरक्षित स्थानमा रहन रिङटोन, ब्याकअप टोन, एसएमएस, माइकिङ, सामाजिक सञ्जाल लगायतका माध्यमबाट तुरुन्तै सूचना सम्प्रेषण गरिएको छ ।

बाढी हिमनदी पग्लिएर आएको हुनसक्ने देखिएको प्रारम्भिक अनुमान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ । ‘हिउँपहिरोका कारण नदी थुनिएको र केही समयअघि उक्त अवरोध खुलेपछि एक्कासि ठुलो बाढी आएको प्रारम्भिक निष्कर्ष छ,’ प्राधिकरणकी शान्ति महतले भनिन् । तिब्बततर्फ घटना भएकाले नेपालमा बाढी प्रवेश गरेपछि मात्रै प्रारम्भिक सूचना प्राप्त भएको थियो । नेपाल–चीनबीच विपद् जोखिमसम्बन्धी पूर्वसूचना र समन्वयलाई थप प्रभावकारी बनाउन सम्झौता गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको उनले बताइन् । रसुवामा आएको ठुलो बाढीका कारण रसुवामा प्रहरी चौकी, भन्सार कार्यालय र हेल्प पोस्टमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको प्राधिकरणकी महतले जानकारी दिइन् । तर, क्षतिको विस्तृत विवरण भने आइनसकेको उनको भनाइ छ ।

सरकारले विपद् जोखिमसम्बन्धी पूर्वसूचना र समन्वय बढाउनको लागि जनशक्ति तथा उपकरणहरूमा लगानी गरेको छ । देशमा त्यति ठुलो विपद् आउदा पनि सरकारका बेखबरजस्तै बन्यो । पूर्वसूचना किन भएन भन्ने विषयमा मध्यान्हको प्रश्नमा गृृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले भन्छन् –‘अहिले हामी पूर्वसूचनाको बारेमा छलफल गर्न भ्याएका छैनौं । उद्धारमा खटिएका छौं । सूचना आयो कि आएन भन्ने विषयमा अहिले केही गरिएको छैन ।’

गत वर्ष पनि सोही क्षेत्रमा मनसुन सुरु हुने समयमा बाढी आएको थियो । त्यसबेला तिब्बततर्फको भोटखोला क्षेत्रमा विस्फोटसम्बन्धी रिपोर्ट आएको थियो । यसपटक पनि बाढीको स्रोत नेपालबाहिर रहेको प्रारम्भिक अनुमानपछि नेपालले चीनसँग सीमा–पार विपद् जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीमा थप समन्वय गर्नुपर्ने आवश्यकता देखिएको प्राधिकरणले जनाएको छ । २४ असार २०८२मा ल्हेन्दे खोलामा आकस्मिक रूपमा आएको बाढीले नौजनाको ज्यान गएको थियो । त्यसमा १८ जना बेपत्ता भएका थिए । आकस्मिक रूपमा आएको बाढीपछि कतिपय भूगर्भविद् र विशेषज्ञहरू यसको अध्ययनमा जुटेका छन् ।

ताजा खबर

सम्बन्धित खबर