२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

भोटेकोशीको रौद्र रूप : रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म क्षति

Nada
भावना पाठक
२०८३ भदौ ११ गते ०६:३०
Shares
भोटेकोशीको रौद्र रूप : रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म क्षति

काठमाडौं : रसुवाको उत्तरी क्षेत्रमा बुधबार बिहान आएको आकस्मिक बाढीले रसुवागढीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म ठुलो क्षति पुर्‍याएको छ । बिहान करिब ८ः४० बजे भोटेकोशी नदीमा एक्कासि आएको ठुलो बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा घर, सडक, पुल, सरकारी कार्यालय, सुरक्षा निकायका संरचना, भन्सार, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको हो ।

ncell

बाढीको मुख्य कारण तिब्बततर्फ लेन्दे खोला थुनिएर बनेको तालबाट एक्कासि पानी बगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । हिमपहिरो वा पहिरोका कारण खोला थुनिएको हुनसक्ने विज्ञहरूको भनाइ छ । 

बाढीबाट नेपाल–चीन सीमा जोडिएको रसुवागढी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । रसुवागढी भन्सार कार्यालयको संरचनामा ठुलो क्षति पुगेको छ । भन्सारपरिसरमा राखिएका सवारीसाधनसमेत बाढीले बगाएको प्रारम्भिक विवरण छ । भन्सारसँगै सुक्खा बन्दरगाह, पालिका भवन, प्रहरी संरचना तथा आसपासका अन्य सरकारी र व्यापारिक पूर्वाधारमा पनि क्षति पुगेको छ । बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाकाको आवागमन र व्यापारिक गतिविधि प्रभावित भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२को टिमुरे बजार बाढीबाट नराम्ररी प्रभावित भएको छ । प्रारम्भिक विवरणअनुसार टिमुरेमा मात्रै करिब १०७ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । नजिकैको घट्टेखोला बजारमा थप ५० घरमा पूर्ण क्षति पुगेको बताइएको छ । बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेसी र रसुवागढीका सुरक्षा संरचनामा समेत क्षति पुर्‍याएको छ । टिमुरेमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट पनि प्रभावित भएको छ ।

बाढीपछि सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन् । प्रारम्भिक विवरणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन रहेको बताइएको थियो । पछि आएको विवरणमा प्रभावित क्षेत्रमा ७९ सुरक्षाकर्मी सम्पर्कविहीन रहेको उल्लेख छ । यसमा २६ सशस्त्र प्रहरी, नौ नेपाल प्रहरी र ४४ नेपाली सेना रहेको बताइएको छ । 

बाढीको बहाव तलतिर पुगेपछि स्याफ्रुबेसी, मैलुङ, पैरेबेसी, शान्तिबजार, हाकुबेसी, पाहिरोबेसीलगायत नदीकिनारका बस्ती प्रभावित भएका छन् । उत्तरगया गाउँपालिकाका विभिन्न क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । स्थानीय विवरणअनुसार खोलाको सतहभन्दा करिब २७० फिट माथिसम्मका क्षेत्रमा समेत बाढीको प्रभाव पुगेको बताइएको छ ।

कम्तिमा एक सयको मृत्यु 

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हराएकामध्ये झण्डै एक शय व्यक्तिको शव भेटिएको सुरक्षा निकायले जनाएका छन् । बाढीपछि रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका विभिन्न स्थानबाट ९७ जनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले मध्यान्हलाई बताए । उनका अनुसार फेलापरेका सबै शवको पहिचान भने खुलिसकेको छैन । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोज तथा उद्धार जारी राखेको छ ।

नेपाली सेनाका अनुसार रसुवाबाट मात्रै ८८ जनाको उद्धार गरिएको छ । प्रभावित नागरिकको उद्धारका लागि सेनाले ६ वटा हेलिकोप्टर परिचालन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बाढीबाट प्रभावित र बेपत्ता नागरिकको खोजी तथा उद्धार जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ ।

१९ पुलमा क्षति

बाढीले रसुवागढी जोड्ने सडक र पुलमा समेत ठुलो क्षति गरेको छ । प्रारम्भिक विवरणअनुसार भोटेकोशी–त्रिशूली नदी प्रणालीमा कम्तीमा १९ पुलमा क्षति पुगेको छ । सडकतर्फ करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएको विवरण छ । पछिल्लो विवरणमा वेत्रावतीदेखि रसुवागढीसम्मको करिब ४२ किलोमिटर सडक विभिन्न ठाउँमा क्षतिग्रस्त भएको उल्लेख गरिएको छ ।

धादिङमा फुर्केखोला, घाटबेसी र जरेखेतका पुल बाढीले बगाएको छ । फुर्केखोला पुल बग्दा गजुरी गाउँपालिका–२ र सिद्धलेक–६ जोड्ने सडक प्रभावित भएको छ । सडक तथा पुलमा क्षति भएपछि प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्नसमेत कठिन भएको छ ।

भोटेकोशीको बाढी त्रिशूली नदीमा मिसिएपछि नुवाकोटका विभिन्न क्षेत्र प्रभावित भएका छन् । वेत्रावती बजारमा ठुलो असर परेको छ । त्रिशूली बजारमा बाढी पसेको छ भने सेन्ट्रल जेलसमेत डुबानमा परेको प्रारम्भिक विवरण छ । देवीघाट बजारमा पनि बाढीको असर पुगेको छ ।

जलविद्युत् आयोजनामा असर

त्रिशूली बजार र आसपासका क्षेत्रमा घर तथा व्यापारिक संरचनामा क्षति भएको छ । नदीको बहाव बढेपछि धादिङतर्फ बैरेनी बजारलगायतका क्षेत्रमा समेत बाढीको प्रभाव परेको छ । बाढीले रसुवाका जलविद्युत् आयोजनामा पनि असर गरेको छ । ऊर्जा मन्त्रालयका अनुसार सञ्चालनमा रहेका पाँच र निर्माणाधीन तीन गरी आठ जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा भोटेकोशी, साञ्जेन खोला, माथिल्लो मैलुङ ‘ए’, मैलुङ खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजना छन् । सञ्चालनमा रहेका आयोजनाको क्षमता २३६ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३४२.४२ मेगावाट छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण भोटेकोशी–त्रिशूली क्षेत्रमा ११ जलविद्युत् गृह र एउटा सौर्यगृह प्रभावित भएका छन् । त्यसबाट करिब ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ । प्रसारण लाइन र २२० केभी सबस्टेसनमा समेत क्षति पुगेको छ ।

ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार रसुवा, नुवाकोट र धादिङमा सञ्चालन तथा निर्माणाधीन गरी करिब ७५३ मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन् ।

बाढीपछि लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत कम्तीमा ६० कर्मचारी सम्पर्कविहीन भएका छन् । आयोजनाको सुरुङभित्र काम गरिरहेका २५ भन्दा बढी मजदुर समेत फसेको प्रारम्भिक विवरण आएको छ । यसैगरी रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ३६ कर्मचारी उद्धारको पर्खाइमा रहेको विवरण आएको छ ।

३८४ पर्यटक सम्पर्कविहीन

बाढीपछि रसुवागढी हुँदै यात्रा गरिरहेका ३८४ जना पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । तीमध्ये २९१ विदेशी र ९३ नेपाली छन् । विभिन्न १० वटा ट्राभल एजेन्सीमार्फत यात्रा गरेका पर्यटकमध्ये ट्रेकर्स सोसाइटीका ९२, सम्राट टुर्स एन्ड ट्राभल्सका ७१, लिफ हलिडेका ५५ र हिमालयन ग्लेसियरका ५२ जना छन् । 

त्यस्तै, कैलाश जर्नीका ३१, फिसटेल टुर्स एन्ड ट्राभल्सका २७, अल्पाइन इको ट्रेकका २०, काठमाडौं हलिडे टुर्स एन्ड ट्राभल्सका १७, रिचा टुर्स एन्ड ट्राभल्सका १२ र एक्सप्लोर भ्याकेसनका सात जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन विदेशी पर्यटक भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका रहेको बताइएको छ । केही विदेशीको राष्ट्रियता भने खुल्न बाँकी छ ।

९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

बाढीले नदी किनारका बजारमा रहेका बैंक तथा वित्तीय संस्थालाई समेत प्रभावित गरेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार ९ वटा वाणिज्य बैंकका शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । रसुवाको भोटेकोशी र त्रिशूलीआसपास बुधबार आएको बाढीका कारण ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएका छन् । बाढीले टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा रहेका बैंकका शाखा कार्यालयमा क्षति पुर्‍याएको हो ।

नेपाल बैंकर्स एसोसिएसनका सिइओ अनिल शर्माका अनुसार प्रभु, ग्लोबल आइएमई, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ«े बैंकका शाखा प्रभावित भएका छन् । बाढीबाट ९ शाखामा क्षति पुगे पनि ८ शाखाका कर्मचारीसँग सम्पर्क हुन नसकेको उनले बताए । बाढीले सडक तथा सञ्चार संरचनामा समेत क्षति पुर्‍याएकाले प्रभावित क्षेत्रमा पुग्न र कर्मचारीसँग सम्पर्क गर्न कठिनाइ भइरहेको छ । अहिले बैंकहरूको प्राथमिकता कर्मचारीको अवस्था पत्ता लगाउनु रहेको शर्माले बताए । विकास बैंकका शाखामा भने हालसम्म क्षतिको विवरण आएको छैन ।

थप बाढीको जोखिम

पहिलो बाढीपछि पनि जोखिम समाप्त नभएको अधिकारीहरूले बताएका छन् । चीनबाट प्राप्त सूचनाअनुसार तिब्बततर्फ मितेरी पुलबाट करिब १० किलोमिटर माथि लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन ।

जल विज्ञान तथा अनुसन्धान केन्द्रले ताल पूर्ण रूपमा नखुलेसम्म भोटेकोशी हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा थप बाढी आउन सक्ने जोखिम रहेको जनाएको छ । केन्द्रले अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली नदीआसपास नजान तथा नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

इसिमोडका विपद् जोखिम न्यूनीकरण विज्ञ शाश्वत सन्यालका अनुसार पछिल्लो १४ महिनामा लेन्दे खोलामा दुईपटक ठुलो बाढी आएको छ । हिमपहिरोका कारण खोला थुनिएर एक्कासि ठुलो पानीको बहाव आएको हुनसक्ने उनको प्रारम्भिक आकलन छ । इसिमोडकै जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले पनि माथिल्लो क्षेत्रमा अवरोध कायमै रहेकाले पुनः बाढी आउन सक्ने जोखिम औंल्याएका छन् ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोज तथा उद्धारमा परिचालित छन् । हेलिकोप्टर, ड्रोन र तालिमप्राप्त उद्धार कुकुरसमेत प्रयोग भइरहेको छ । सरकारले रसुवा र नुवाकोटका विपद् कोषमा एक–एक करोड तथा धादिङको विपद् कोषमा ५० लाख रुपैयाँ पठाउने जनाएको छ ।

क्षतिको पूर्ण विवरण संकलन भइसकेको छैन । उद्धार र खोजी जारी रहेकाले मृतक, बेपत्ता तथा भौतिक क्षतिको संख्या थप बढ्न सक्ने सम्बन्धित निकायले जनाएका छन् ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट ठुलो जनधनको क्षति भएको निष्कर्ष निकाल्दै उद्धार, राहत तथा पुनर्निर्माणका कामलाई तीव्र बनाउन यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार रसुवागढी र तल्लो तटीय क्षेत्रमा भएको क्षतिप्रति सरकारले दुःख व्यक्त गरेको छ । बैठकले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बाढीमा घाइते भएकाहरूको सरकारी अस्पताल, नेपाली सेना तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत निःशुल्क उपचार गरिने भएको छ । जोखिममा रहेका नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह र रक्षा मन्त्रालयलाई निर्देशन दिइएको छ । उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरसमेत परिचालन गरिनेछ । घरवास गुमाएका नागरिकका लागि सुरक्षित स्थानमा आवास र खानाको व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहले गर्नेछन् । मृतकका परिवारलाई कानुनअनुसारको आर्थिक सहायता पनि तत्काल उपलब्ध गराउने निर्णय भएको छ ।

बाढीका कारण अवरुद्ध सडक, खानेपानी, विद्युत् र दूरसञ्चार सेवा शीघ्र सञ्चालन गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई जिम्मेवारी दिइएको छ । क्षतिग्रस्त सार्वजनिक संरचना तथा पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापनमा समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४को दफा ३२ अनुसार प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । सरकारका अनुसार यस निर्णयपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका कामलाई थप प्रभावकारी र तीव्र रूपमा अघि बढाउन सहज हुनेछ ।

बालेनलाई मोदीको फोन, चीन र विश्व बैंकको सहयोग प्रतिबद्धता

बाढीबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले सहयोगको पहल थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढीबाट ठूलोधनको क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै सम्भव सबै सहयोगका लागि तयार रहेको बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन गरेर उनले सो प्रतिबद्धता जनाएका हुन् । भारतले बाढीपीडितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची सरकारसँग मागेको छ । 

बाढीको खबर सार्वजनिक भएलगत्तै विश्व बैंकका नेपाल राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग समन्वय गर्दै विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका छन् । प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्च तहका अधिकारीसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतबाट प्राप्त हुने राहत सामग्री आजै काठमाडौं ल्याउने तयारी भइरहेको बताएका छन् । यसैगरी, उत्तरी छिमेकी चीनले पनि नेपाललाई तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ । सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारसँग समन्वय गरेका छन् ।

भारत, चीन तथा विश्व बैंकबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारले आभार व्यक्त गरेको छ । अर्थमन्त्री वाग्लेले सहयोग परिचालनका लागि अन्तरसरकारी समन्वय गर्दै आवश्यक मोडालिटीबारे छलफल भइरहेको बताएका छन् । मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि राहत, उद्धार तथा पुनर्निर्माणका लागि स्वदेशी तथा विदेशी सहयोग जुटाउने प्रक्रिया थप सहज भएको हो ।

ताजा खबर

सम्बन्धित खबर