
काठमाडौँ : काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–केरुङ सीमा क्षेत्रमा आएको विपद्बारे चीनले नेपाली पक्षलाई पूर्वसूचना नदिएको भन्ने आरोपको खण्डन गरेको छ ।
दूतावासले बिहीबार सार्वजनिक गरेको सामग्रीमा चीनले पूर्वसूचना जारी नगर्दा नेपालतर्फ ठूलो मानवीय क्षति भएको भन्ने विवरणलाई ‘फेक न्युज’ भनिएको छ । चीनतर्फ भूगर्भीय विपद्का कारण बनेको बाँध भत्किएर नेपालमा ठूलो क्षति पुगेको भन्ने विवरणलाई पनि दूतावासले गलत दाबीका रूपमा प्रस्तुत गरेको छ ।
दूतावासले सार्वजनिक गरेको विवरणअनुसार अगस्ट २६ को बिहान नेपालतर्फ भूकम्प वा भूकम्पजस्तै प्रभाव पार्ने गरी हिमनदी भत्किएको थियो । त्यसपछि ठूलो परिमाणमा हिलोसहितको पहिरो गएको र केरुङ–रसुवागढी सीमा क्षेत्रमा नेपाल र चीन दुवैतर्फ मानवीय क्षति भएको दूतावासको भनाइ छ ।
उक्त घटनामा दुवैतर्फ मानिसहरू बेपत्ता भएकोसमेत दूतावासले उल्लेख गरेको छ ।
दूतावासले विपद्का बेला आरोपभन्दा आपसी सहकार्यमा जोड दिनुपर्ने सन्देशसमेत दिएको छ । सार्वजनिक गरिएको सामग्रीमा ‘आरोपले केही समाधान गर्दैन, सहकार्यले जीवन बचाउँछ’ भनेर उल्लेख छ ।