
काठमाडौँ : ललितपुरको महालक्ष्मी नगरपालिकाले रसुवा जिल्ला तथा भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले आफ्नो विपद् कोषसमेतबाट एकमुष्ट ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बाढी प्रभावितको उद्धार तथा घाइते र बिरामीको ओसारपसारका लागि नगर प्रहरीसहितको एम्बुलेन्ससमेत पठाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको सेवा सुविधाबापत प्राप्त हुने रकम बाढी प्रभावितको सहयोगका लागि उपलब्ध गराउने भएका छन् । त्यस्तै, नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको १ हप्ता बराबरको तलब कट्टा गरी सहयोगमा समावेश गरिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानाले बताएका छन् ।
नगरपालिकाले बाढीबाट भएको मानवीय, भौतिक, आर्थिक तथा भावनात्मक क्षतिप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नगरभित्रका प्रभावितको खोजी र उद्धारमा सहयोग गर्न आग्रह
महालक्ष्मी नगरपालिकाभित्र बसोबास गर्ने कुनै नागरिक बाढीबाट प्रभावित भएको, सम्पर्कमा नआएको वा उद्धार गर्नुपर्ने अवस्थामा रहेको जानकारी प्राप्त भए नगरपालिका तथा अन्तर्गतका वडा कार्यालय, प्रहरी चौकी र सुरक्षा निकायमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका काम तत्काल सञ्चालन भइरहेको उल्लेख गर्दै ती कार्यमा संयमित भएर आ–आफ्नो स्थानबाट योगदान गर्न सम्पूर्ण नगरवासीलाई आह्वानसमेत गरेको छ ।