
नवलपरासी : रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली हुँदै नारायणी नदीमा आएको तीव्र बहावले बगाएर ल्याएका २६ वटा शव पश्चिम नवलपरासीका विभिन्न नदी किनारमा फेला परेका छन् । लगातारको बाढी र नदीको तीव्र बहावसँगै सुस्ता तथा आसपासका क्षेत्रमा शव तथा मानव अंग भेटिन थालेपछि स्थानीय प्रशासन र सुरक्षा निकायलाई शव संकलन, पहिचान र व्यवस्थापनमा थप चुनौती थपिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहतका प्रहरी कार्यालयले अनुसार हालसम्म फेला परेका २६ शवमध्ये ८ महिला, १५ पुरुष, १ बालक र २ बालिका रहेका छन् । फेला परेका अधिकांश शवको नाम,थर र स्थायी ठेगाना खुल्न सकेको छैन । केही शवको पहिचान खुल्ने क्रममा रहे पनि धेरैजसो शव बेवारिसे अवस्थामा फेला परेका हुन् ।
प्रहरी अभिलेखअनुसार सबैभन्दा बढी शव सुस्ता गाउँपालिका–४ अन्तर्गतका ठोकर क्षेत्र तथा नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका छन् । त्यस्तै सुस्ता गाउँपालिका–५ र ६ तथा ३ अन्तर्गतका नदी किनारबाट पनि शव भेटिएका छन् । नदीमा आएको तीव्र बहावसँगै बगेर आएका शवहरू किनारमा अड्किएको अवस्थामा स्थानीय र सुरक्षा निकायले फेला पारेका हुन् ।
फेला परेका शवमध्ये कतिपयको अवस्था निकै क्षतविक्षत रहेको छ । केही शव टाउको नभएको तथा शरीरका विभिन्न अंग छुट्टिएको अवस्थामा भेटिएका छन् । यस्तो अवस्थाका शवको पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । केही शवमा ट्याटु, हातखुट्टामा रहेका चिनारी तथा अन्य शारीरिक विवरणसमेत अभिलेखमा राखिएको छ ।
प्रहरीले फेला परेका शवको अवस्था, लिंग,अनुमानित उमेर र उपलब्ध शारीरिक चिनारीका आधारमा विवरण तयार पारिरहेको छ । पहिचान खुल्न नसकेका शवको आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित व्यवस्थापन तथा सम्भावित आफन्तसँग पहिचान मिलाउने काम भइरहेको छ । कतिपय शवको पहिचानका लागि डीएनए परीक्षणसमेत आवश्यक पर्ने अवस्था देखिएको प्रहरी अभिलेखमा उल्लेख छ ।
फेला परेका शवमध्ये आवश्यक कानुनी प्रक्रिया पूरा गरी केहीलाई जिल्ला अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल तथा भिम अस्पताल पठाइएको छ । पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव जिम्मा लगाउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।
रसुवामा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि त्यसको बहाव त्रिशूली नदी हुँदै नारायणीमा मिसिएको हो । बाढीको तीव्र बहावले मानिसका शवसँगै घरपालुवा तथा अन्य जनावरसमेत बगाएर ल्याएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार नारायणी नदीको बहाव बढेका बेला गाई, भैंसीलगायत चौपाया तथा विभिन्न जनावरसमेत नदीमा बगिरहेको देखिएको थियो । यसले नदी आसपासका क्षेत्रमा बाढीको विनाश कति भयावह थियो भन्ने देखाएको छ ।
नदीको बहावसँगै बगेर आएका शव तथा मानव अंगहरू विभिन्न स्थानमा अड्किएपछि स्थानीयले प्रहरीलाई खबर गर्ने गरेका छन् । त्यसपछि सुरक्षा निकायले घटनास्थलमा पुगेर शव संकलन गर्ने, मुचुल्का तयार गर्ने र आवश्यक प्रक्रिया पूरा गरी अस्पताल पठाउने काम गर्दै आएका छन् ।
बाढीमा परी बेपत्ता भएका व्यक्तिको यकिन विवरण र शवको पहिचान नखुल्दा आफन्तमा थप पीडा र अन्योल बढेको छ । आफ्ना परिवारका सदस्य बाढीमा बेपत्ता भएको जानकारी पाएका परिवारहरू शव भेटिएपछि पहिचान खुल्ने आशामा रहेका छन् ।
तर कतिपय शव अत्यन्त क्षतविक्षत अवस्थामा भेटिएका कारण तत्काल पहिचान गर्न नसकिने अवस्था छ । यस्तो अवस्थामा शवको पहिचानका लागि उपलब्ध हुलिया, व्यक्तिगत चिनारी, आफन्तबाट प्राप्त विवरण तथा आवश्यक परे डीएनए परीक्षणलाई आधार बनाउनुपर्ने देखिएको छ ।
स्थानीय प्रशासन र सुरक्षा निकायले नारायणी नदीको तल्लो तटीय क्षेत्रमा खोज तथा उद्धार, शव संकलन, पहिचान र व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । नदीमा बाढीको बहाव र जोखिम कायमै रहेकाले नदी किनारका बासिन्दालाई सतर्क रहन तथा नदीमा नजान आग्रह गरिएको छ ।
रसुवाको बाढीले पुर्याएको क्षतिको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत देखिन थालेपछि नारायणी नदी आसपासका जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ ।