२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

माइकिङ गरेर अरूलाई जोगाए, आफैं जोगिएनन्

Nada
सपना बोहरा
२०८३ भदौ १२ गते ०६:२०
Shares
माइकिङ गरेर अरूलाई जोगाए, आफैं जोगिएनन्

काठमाडौं : भोटेकोशीमा बुधबार बिहान एक्कासि बाढी आयो । सूचना पाएलगत्तै स्थानीय सरकार र प्रहरीले यथाशक्य माइकिङ गरेर सर्वसाधारणलाई घरबाट निस्केर नदीदेखि टाढा बस्न सूचना दिए । तीमध्येका एक थिए, बेत्रावती गाउँपालिकाका आइटी इन्जिनियर जनक आचार्य । उनले मोटरसाइकल चलाएर गाउँपालिकाका अर्का कर्मचारीले पछाडि बसेर माइकिङ गरिरहेका थिए । सिंगो बस्तीलाई घर छाडेर सुरक्षित ठाउँमा जान सन्देश दिइरहेका उनी नै अन्तिममा बाढीमा परे । बाढीले पछाडि बसेका कर्मचारीलाई पाखोमा हुत्याए पनि आचार्यलाई भने डुबायो । उनको शव केही पर भेटियो । ‘माइकिङ गरेर सयौंलाई सुरक्षित ठाउँमा सारे । तर, आफै बाँच्न सकेनन्’ उनका परिवारका एक सदस्यले भने । 

ncell

आचार्यजस्तै हतारहतारमै भए पनि स्थानीय सरकार र प्रहरीले गरेको माइकिङले नदी तटीय क्षेत्रका सयौंको ज्यान जोगियो । तर, माइकिङ गर्नेमध्ये केहीको ज्यान गएको छ । बेत्रावतीकै प्रहरी सहायक हवल्दार सन्तोष रिजाल बाढी आउँदै छ भनेर माइकिङ गर्दागर्दै बाढी नजिक आइपुग्यो । ‘बाढी आउँदै छ भनेर हामी माइकिङ गर्न निस्केका थियौं,’ उनले भने, ‘असईसाब रामकाजी पौडेलको कमान्डमा हामी माइकिङ गर्न खटिएका थियौं ।’

असई पौडेल उनको बाइकपछाडि बसेर माइकिङ गर्दै थिए । बाढी नजिक आएपछि रिजाल बाइक त्यहीँ छाडेर भाग्न सफल भए । तर, उनीसँगै माइकिङ गर्न गएका पौडेल बाढीमै हेलिए । उनी भन्छन्, ‘म १० सेकेन्डको फरकमा जंगलतर्फ भागेर बाँचे, असईसाबको अवस्था थाहा छैन । उहाँ सम्पर्कमा हुनुहुन्न ।’

बाढीले आँखैअगाडि धेरै मान्छे बगाएको उनी बताउँछन् । ‘यहाँ करिब ७० जति घर थिए होलान् । अहिले ती घर कुनै पनि सग्ला छैनन्,’ रिजालले भने । एक्कासि ठुलो बाढी आउँदा घरमा सुतेका, बसेका र खाना खाँदै गरेका मान्छे बाढीमा बगेको उनी बताउँछन् । 

नुवाकोटमा जल सतहले जोखिमको मापदण्ड नाघ्नेबित्तिकै पूर्वसूचना दिएर माइकिङ गरिन्छ । पहिले पनि बाढी आउँदा माइकिङ गरेर सचेत गरिन्थ्यो । तर, माइकिङपछि आउने बाढी खासै ठुलो हुन्थेन । यसपालि पनि पहिलेजस्तै होला भनेर कतिपयले माइकिङ पत्याएनन् र अलमल गर्दै बसे । रसुवाको बाढी त्रिशूली बजार आइपुगेको समय हेर्दा सुरक्षित ठाउँमा जान प्रशस्त समय थियो, तर नपत्याउँदा मानवीय क्षति भएको विदुर नगरपालिकाले जनाएको छ ।  

रसुवाको टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक समबहादुर थापा पनि सम्पर्कविहीन छन् । स्याङ्जास्थित वालिङ–१४ मैनीखोला घर रहेका थापा बिहीबारसम्म उनको अत्तोपत्तो छैन । इलाका प्रहरी कार्यालय टिमुरेमा २३ जना प्रहरी कार्यरत थिए । उक्त प्रहरी कार्यालयबाट सम्पर्कविहीन भएका १३ जना भने सम्पर्कमा आएको नेपाल प्रहरीले जनाएको छ । 

जो बालबाल बाँचे 

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत करवीर गैरे मृत्युको मुखबाट बँचेका छन् । बुधबार बिहान उनी कार्यालयमा नै काम गरिररहेका थिए । एक्कासि उनको टेबलमा रहेको कम्प्युटर थर्किन थाल्यो । उनले भूकम्प आएको महसुस गरे र बाहिर निस्किए । उनको नजर चीनबाट सुनामी मडारिएको जस्तै दृश्यमा प¥यो । तर, त्यो ठुलो बाढी थियो । उनले कार्यालयका अन्य कर्मचारीलाई बाढी आएको भन्दै भाग्न अनुरोध गरे । बाढी उनका लागि नौलो थिएन । यसअघि पनि बाढी आउँथे । त्योभन्दा पहिले पूर्वसूचना आउँथ्यो । तर, यसपटक कुनै सूचना आएन । त्यो पल सम्झँदा उनी झसंग हुन्छन् । उनी मृत्युको मुखबाट बँचेका छन् । उनी भन्छन्, ‘करिब १० सेकेन्ड फरकमा हामी बाँच्न सफल भयौं, बाढीले पहाडको भित्तामा ठोकिएर हामी भएको ठाउँमा आउन सकेन ।’ उनी ज्यान जोगाउन छोटो समयमा सुरक्षित ठाउँको खोजीमा थिए । 

दिउँसो २ बजे नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो । उनको प्राथमिक स्वास्थ्य जाँचपछि सोही दिन राति साढे ९ बजे काठमाडौं आइपुगेका थिए ।

बाढीबाट भागेर प्रहरी सहायक हवल्दार तारा केसी ज्यान जोगाउन सफल भए । उनले भिडियोमार्फत भनेका थिए, ‘म बाँचेँ, म बाँचेँ । म अहिलेसम्म बाँचेको छु ।’ भिडियोमा उनको ज्यान जोगाउन निकै कडा परिश्रम गर्दै माथिल्लो पाखातिर दौडिएर आएको बताएका छन् । उनी डिउटीमै रहेका बेला बाढीबाट भाग्न सफल भएका थिए । 

त्यो १५ मिनेट, जसले बचायो १६ सय विद्यार्थी 

म त्रिभवन त्रिशूली माविको प्रधानाध्यापक हुँ । बुधबार बिहान अरू दिनझैं प्रार्थना सकेर भर्खर कक्षा सुरु भएको थियो । रसुवातिरबाट एक्कासि ठुलो बाढी आएको खबर आयो । बस्तीहरू बगाउँदै बाढी उर्लिएको सुनेपछि मैले तत्कालै सबैलाई सूचित गरेँ । हाम्रो विद्यालयमा १ हजार ६४३ विद्यार्थी छन् । विद्यार्थी र शिक्षक सबैलाई बाहिर निकालेर सुरक्षित ठाउँमा जान लगाए । विद्यालयबाट म अन्तिममा निस्केको जस्तो लाग्थ्यो । कार्यालय सहायक विद्यालयमै छुटेछन् । जसै विद्यार्थी र शिक्षकहरू विद्यालयबाट बाहिर निस्केर अलि सुरक्षित ठाउँतिर पुग्यो । १५ मिनेटमै त्यो विनाशकारी बाढी आइपुग्यो । बाढीले हाम्रो विद्यालयलाई बगर बनाइदिएको छ । तर, त्यति छोटो समयमा विद्यालय छाड्ने निर्णय गरेर हामीले विद्यार्थी र शिक्षकको ज्यान जोगाएका छौं । विद्यालयबाहिरै रहेका निमाविका शिक्षक सन्तोष परियार बेपत्ता भएको खबर छ । घरमै भएका वा विद्यालयबाहिर भएका अरू केही विद्यार्थी पनि बाढीमा परेको सुनेको छु । तर, ठिक समयमा ठिक निर्णय नगरेको भए विद्यालयसँगै विद्यार्थी र शिक्षक पनि बग्ने थियौं । 

(त्रिभुवन त्रिशूली माविका प्रधानाध्यापक राजेन्द्र दवाडीसँगको कुराकानीमा आधारित ।)

ताजा खबर

सम्बन्धित खबर