२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

२७ तीर्थयात्री हराएपछि शोकमा नीलकण्ठ

३२ देशका ६६७ पर्यटक सम्पर्कविहीन

Nada
भावना पाठक
२०८३ भदौ १२ गते ०६:२५
Shares
२७ तीर्थयात्री हराएपछि शोकमा नीलकण्ठ

काठमाडौं : धादिङको नीलकण्ठ नगरपालिका यतिबेला शोकमा डुबेको छ । रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका एकै क्षेत्रका २७ जनालाई बाढीले बेपत्ता पारेपछि गाउँ नै शोकमा डुबेको हो । 

ncell

बेपत्ता भएका धेरैजसो श्रीमान्–श्रीमती र आफन्त छन् । धादिङबेंसीबाट तीर्थयात्री बोकेर रसुवातर्फ गएको बा५ख १२५० नम्बरको बस बेत्रावतीमा पुगेपछि खाजा खान रोकिएको थियो । ‘एक्कासि बाढी आएपछि उहाँहरू भाग्न सक्नुभएनछ’ स्थानीय उपेन्द्र लम्सालले भने, ‘छतबाट अन्तिमपटक परिवारलाई फोन आएको थियो रे !’

‘हामी बाढीमा फस्यौं, कतै जान सक्ने ठाउँ भएन भन्दै हुनुहुन्थ्यो रे, एकैछिनमा लौन–लौन भन्ने आवाज आयो रे, त्यसपछि अहिले उहाँहरूसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने । 

‘बेपत्ता परिवारका अधिकांश छोराछोरी विदेशमा छन्,’ उनी भन्छन्, ‘परिवार बेपत्ता भएको खबरले उनीहरू विचलित छन्, बेपत्ता हुनुभएका हामी सबै एकै परिवारका हौं, काकाकाकी, दाजुभाउजूहरू पर्नुभएको छ ।’

बस नीलकण्ठ नगरपालिका–१२का छविलाल श्रेष्ठले चलाएका थिए । बस र चालकसहित अहिले सबैको अवस्था अज्ञात छ । तीर्थयात्रामा गएका अधिकांश व्यक्ति नीलकण्ठ नगरपालिका–९ र १२का हुन् । एकै ठाउँका यति धेरै मानिस सम्पर्कविहीन भएपछि गाउँमा सन्ता छाएको छ ।

‘हामी फस्यौं, बाढीले गाडी बगायो, अहिले होटलको छतमा छौं’ भन्ने खबर पाएपछि आफन्तले उनीहरू सुरक्षित रहेको विश्वास गरेका थिए । त्यसपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि परिवारजनको आशा बिस्तारै निराशामा बदलियो । 

उनीहरू कुन घर, होटलको को छतमा छन् ? उद्धार टोली पुगेको छ कि छैन ? यी प्रश्नको जवाफ नपाउँदा परिवारजन विक्षिप्त बनेका छन् । छिमेकी पनि उनीहरूको घरआँगनमै बसेर एक–अर्कालाई ढाडस दिइरहेका छन् । 

शिक्षक मात्रै आठजना 

धादिङबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका आठजना शिक्षक बाढीपछि सम्पर्कविहीन भएका छन् । रसुवामा आएको बाढीका कारण उनीहरूसँग सम्पर्क हुन नसकेको धादिङका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सम्पर्कविहीन हुनेमा हाल कार्यरत तीन शिक्षक र पाँचजना पूर्वशिक्षक रहेका छन् । हाल कार्यरत शिक्षकहरूमा नीलकण्ठ नगरपालिकास्थित पशुपति माध्यमिक विद्यालयका ठाकुरप्रसाद लम्साल, देउराली माध्यमिक विद्यालयकी जानुका खनाल र पाल्पा सामारी भञ्ज्याङ माध्यमिक विद्यालयका शिवहरि लम्साल रहेका छन् । त्यस्तै, पूर्वशिक्षकहरूमा नीलकण्ठ नगरपालिकाका तुलसी तिमिल्सेना र ईश्वरीप्रसाद तिमिल्सेना, सिद्धलेक गाउँपालिकाका हरिप्रसाद सिलवाल र घनश्याम भट्ट तथा ज्वालामुखी गाउँपालिकाका नारायणप्रसाद लम्साल रहेका छन् । उनीहरू बुधबारदेखि सम्पर्कविहीन भएको बताइएको छ ।

३२ देशका ६ सय बढी पर्यटक सम्पर्कविहीन

रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीपछि ३२ देशका ६६७ जना आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । सबैभन्दा धेरै भारतका १७८ जना, नेपालका १२७, अमेरिकाका ६५ र युक्रेनका ५३ जना रहेका छन् ।

पर्यटन बोर्ड, प्रहरी, टुर एजेन्सी र सम्बन्धित निकायले सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धार तीव्र बनाएका छन् । विशेषगरी टिमुरे र त्यसभन्दा माथिल्लो क्षेत्रमा रहेका पर्यटकको खोजीलाई प्राथमिकता दिइएको छ । विपद् प्राधिकरणका अनुसार नेपाल–चीन सीमामा गएको हिमचट्टान पहिरोका कारण गेग्य्रानसहितको बाढी ल्हेन्दे खोलामा आएको र त्यही बाढी टिमुरे हुँदै त्रिशूली नदीमा मिसिएको हो ।

त्यस्तै, भीषण बाढीका कारण प्रभावित क्षेत्रमा फसेका ५० जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ । सडक तथा सञ्चार सञ्जाल अवरुद्ध भई अलपत्र परेका उनीहरूलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो ।

उद्धार गरिएकामा विभिन्न ६ देशका ५० जना विदेशी पर्यटक छन् । बाढीका कारण अझै पनि सयौं स्वदेशी तथा विदेशी पर्यटक सम्पर्कविहीन रहेकाले खोजतलास कार्यलाई तीव्र पारिएको सरकारले जनाएको छ ।

सद्गुरु समूहका ८० जना बेपत्ता 

रसुवाको सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीपछि सद्गुरु जग्गी वासुदेवसँग सम्बन्धित २० देशका ८० जना तीर्थयात्री सम्पर्कविहीन भएका छन् । उनीहरूमध्ये ३४ पुरुष र ४६ महिला छन्, जसमा नेपालका तीनजना पनि रहेका छन् ।

तिब्बतको सागाबाट नेपाल फर्किने क्रममा उनीहरू सीमाक्षेत्र पुगेका थिए । बिहान अध्यागमन कार्यालय पुगेको जानकारी दिएको केही मिनेटमै ठुलो बाढी आएपछि उनीहरूसँग सम्पर्क टुटेको बताइएको छ । बाढीले सडक, सञ्चार सेवा र अध्यागमन कार्यालयमा समेत क्षति पुर्‍याएको छ ।

घटनाबारे सम्बन्धित देशका दूतावासलाई जानकारी गराइएको छ भने खोज तथा उद्धारका लागि प्रयास भइरहेको छ । सम्पर्कविहीनको वास्तविक संख्या अझै यकिन हुन सकेको छैन ।

ताजा खबर

सम्बन्धित खबर