
ललितपुर : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि गोदावरी नगरपालिका–३ का वडा अध्यक्ष राज घिमिरेले ५२ हजार रुपैयाँ सहयोग गरेका छन् ।
घिमिरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् । रसुवागढी भन्सार क्षेत्र तथा भोटेकोशी नदी आसपासमा बाढीका कारण ठुलो जनधनको क्षति भएपछि उनले व्यक्तिगत रूपमा सहयोग गरेका हुन् ।
नेपाल–चीन सीमाक्षेत्रको रसुवागढी भन्सार क्षेत्रमा तिब्बतको ल्जेन्देखोलाबाट आएको बाढीले भोटेकोशी नदीमा ठूलो बाढी आएको थियो । बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठुलो क्षति पुगेको छ ।
बाढीले घर, सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुर्याएको छ । कतिपय परिवार विस्थापित भएका छन् । प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणको काम जारी छ ।
वडा अध्यक्ष घिमिरेले विपद्को समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए । उनले आफूले सक्ने सहयोगस्वरूप उद्धार तथा राहतका लागि ५२ हजार रुपैयाँ उपलब्ध गराएको बताए ।
उनले भने, ‘तिब्बतबाट आएको बाढीले रसुवा, नुवाकोट हुँदै विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । यस्तो दुःखको समयमा सबै मिलेर उद्धार र राहतको काममा सहयोग गर्नुपर्छ,’ घिमिरेले भने, ‘मैले पनि आफ्नो क्षमताअनुसार नेपाल सरकारको राहत कोषमा सहयोग गरेको हुँ ।’
विपद्मा परेका नागरिकलाई तत्काल राहत र पुनःस्थापनाका लागि सरकार तथा विभिन्न निकायले प्रभावकारी रूपमा काम गर्नुपर्ने उनले बताए । साथै, विपद्को समयमा आम नागरिकले पनि सरकारको राहत तथा उद्धार अभियानमा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
घिमिरेले यसअघि पनि विभिन्न विपद्का समयमा व्यक्तिगत रूपमा सहयोग गर्दै आएका छन् । उनले कोभिड–१९ महामारीका समयमा प्रभावित नागरिकलाई सहयोग गरेका थिए । त्यसैगरी, २०७२ सालको विनाशकारी भूकम्पका बेला पनि प्रभावित परिवारलाई व्यक्तिगत रूपमा सहयोग गरेको बताइएको छ ।
रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि विभिन्न स्थानीय तह, संघसंस्था तथा व्यक्तिहरूले आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् । विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।