
काठमाडौँ : भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुन:स्थापनाका लागि गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।
प्रदेश सरकारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
बाढीपछि केही नागरिक सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने कार्यमा प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । साथै, फेला परेका शवको पहिचान तथा उचित व्यवस्थापनका लागि पनि आवश्यक समन्वय भइरहेको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।
बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकारले जोड दिएको छ। घाइतेको उपचार, आश्रयविहीनका लागि सुरक्षित आवास तथा प्रभावित परिवारलाई खाद्यान्न र अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई परिचालन हुन आग्रह गरिएको छ ।
मुख्यमन्त्री पाण्डेले विपद्को अवस्थामा खोज, उद्धार, उपचार, आश्रय र राहत व्यवस्थापनका कामलाई समन्वयात्मक रूपमा अघि बढाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।